काठमाडौं । कोरोना महामारीको दोस्रो लहर चलिरहेका बेला चालु आर्थिक वर्षमा निजी क्षेत्रबाट ११९ मेगावाट बिजुली प्रणालीमा थप भएको छ । निजी क्षेत्रको लगानीमा साना तथा ठूला आयोजनाहरु सम्पन्न भइ यो परिमाणमा बिजुली उत्पादन थप भएको हो । यो समेत गरी चालु आर्थिक वर्षमा जडित क्षमता बढेर १४६१ मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
यसमा निजी क्षेत्रको मात्र ८१४ मेगावाट योगदान छ । चालु आर्थिक वर्षमा प्रणालीमा जोडिने मध्ये ४२ मेगावाटको मिस्ट्रीखोला सबैभन्दा ठूलो आयोजना हो । यस्तै ९९७ किलोवाटको हाँडिखोला सुनकोसी ए सबैभन्दा सानो आयोजना भएको प्राधिकरणले जनाएको छ । माथिल्लो तामाकोसीको २ वटा युनिटबाट १५२ मेगावाट बिजुली उत्पादन सुरु भए पनि प्राधिकरण यो वर्षको सूचिमा राखेको छैन ।
आयोजनाबाट अहिले परीक्षणको रुपमा बिजुली उत्पादन भइरहेको छ । व्यवसायिक रुपमा बिजुली उत्पादन सुरु गरेपछि मात्र प्राधिकरणले प्रणालीमा थप भएको मान्ने गरेको छ । त्यसलै चालु आर्थिक वर्षमा माथिल्लो तामाकोसीबाट उत्पादन हुने बिजुली थपिने सूचिमा राखिएको छैन । यो वर्ष सोलार र उखुको बगासबाट पनि बिजुली उत्पादन भएको छ ।
चालु आर्थिक वर्षको अन्तिम दिन अर्थात असार ३१ गतेसम्म ४२ मेगावाटको मिस्ट्रीखोला र हाँडिखोला सुनकोसी ए बाहेक ३ मेगावाटको अपर रावाखोला, ११.८ मेगावाटको नामार्जुनमादी, ८.५ मेगावाटको बुटवल सोलार परियोजना, ५ मेगावाटको घट्टेखोला, एभरेष्ट सुगर एन्ड केमिकलबाट ३ मेगावाट बिजुली उत्पादन भएको प्राधिकरणले जनाएको छ ।
यस्तै ४.५ मेगावाटको विजयपुर २, १० मेगावाटको मिथिला सोलार, ८ मेगावाटको टक्सार पिखुवा र २२.२ मेगावाटको अपरचाकु ए आयोजनाको बिजुली प्रणालीमा थप भएको विद्युत प्राधिकरणले जनाएको छ ।
कोरोना महामारी जारी रहेकाले चालू आर्थिक वर्षमा बिजुली उत्पादनमा सरकारले लिएको लक्ष्य पूरा भएन । चालू आर्थिक वर्षमा सरकारले बिजुली उत्पादन १ हजार ५०० मेगावाट थपेर जडित क्षमता ३ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको थियो । तर, विद्युत प्राधिकरणले १ हजार मेगावाट बिजुली थपिने अनुमान गरेको थियो ।
सरकारले लक्ष्यमा राखेका माथिल्लो तामाकोसी, रसुवागढी र सान्जेनलगायत निजी क्षेत्रका आयोजनाको काम कोरोना महामारीको दोस्रो लहरले अवरुद्ध गरेपछि यो वर्ष पनि लिएको लक्ष्य पूरा नभएको हो ।
यो वर्ष सम्पन्न हुने अनुमान गरिएका अधिकांश आयोजनाहरु आगामी आर्थिक वर्षका लागि धकेलिएका छन । गत आर्थिक वर्षमा सरकारले १ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य लिएकोमा १४० मेगावाट मात्र बिजुली उत्पादन भएको थियो । चालू आर्थिक वर्षमा पनि एक दर्जनभन्दा बढी आयोजना सम्पन्न भई प्रणालीमा २२९ मेगावाट बिजुली थप हुने विद्युत प्राधिकरणको पछिल्लो अनुमान पनि पुरा हुन सकेन ।
यो परिमाण माथिल्लो तामाकोसीको पहिलो युनिटबाट ७६ मेगावाटसमेत गरी थियो । माथिल्लो तामाकोसीको पहिलो युनिटको परीक्षण उत्पादन भइरहेको छ । असार २१ गतेदेखि तामाकोसीको एउटा युनिटबाट बिजुली उत्पादन भइरहेको छ । मंगलबार दोस्रो युनिटबाट बिजुली उत्पादन सुरु भइसकेको आयोजनाले जनाएको छ ।
विद्युत प्राधिकरणले यो वर्ष १ हजार ७५ मेगावाट बिजुली उत्पादनको लक्ष्य लिएको थियो । कोरोना महामारी पुनः फैलिएपछि माथिल्लो तामाकोसीसहित ७२५ मेगावाट बिजुली थप हुने अनुमान प्राधिकरणले गरेको थियो । तर, यो लक्ष्य पनि पूरा भएन ।
यो वर्षमा पनि माथिल्लो तामाकोसीबाट ४५६, रसुवागढीबाट १११, सान्जेनबाट ५७, न्यादीबाट ३०, लिवर्टीको अपर दोर्दीबाट २५ र हिमालयन पावर पार्टनरले बनाएको दोर्दीखोलाबाट २७ मेगावाट बिजुली प्रसारणलाइन नबन्दा रोकिएका छन् । यस्तै हिमालयन ऊर्जा विकास कम्पनीले बनाएको १९ मेगावाटको उल्लो खिम्ती १ र २ आयोजना पनि खिम्तीदेखि गज्र्याङसम्म १३२ केभी क्षमताको प्रसारणलाइन नबन्दा प्रणालीमा जोडिएको छैन ।
यो आयोजना तयार भइसकेको छ । त्यसैले सरकारले यो वर्ष बिजुली उत्पादनमा लिएको लक्ष्य कोरोना महामारीले नपुग्ने भएको छ । यो आर्थिक वर्षभित्र प्रणालीमा जोडिने आयोजनाहरू पछि धकेलिएर आगामी आर्थिक वर्षमा पुगेका छन ।
आगामी आर्थिक वर्षमा माथिल्लो तामाकोसी, रसुवागढी, सान्जेनलगायत पछि धकेलिएका आयोजनाबाट बिजुली उत्पादन हुनेछन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार हाल १७ हजार मेगावाट क्षमताका विभिन्न आयोजना निर्माणका चरणमा रहेको जनाएको छ । आउँदो असोजसम्म माथिल्लो तामाकोसीका ६ वटै युनिटबाट बिजुली उत्पादन हुने भएको छ ।
आगामी वर्ष १६२९ मेगावाटको लक्ष्य
सरकारले आगामी आर्थिक वर्षमा सबैभन्दा बढी बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ । सार्वजनिक निजी लगानीबाट सो बिजुली उत्पादन गर्ने लक्ष्य सरकारले लिएको हो ।
जसअनुसार माथिल्लो तामाकोसीबाट २२८, रसुवागढीबाट १११, तल्लो र माथिल्लो सान्जेनबाट ५७, १०२ मेगावाटको मध्यभोटेकासी र निजी क्षेत्रबाट १५५ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य छ । कोराना महामारी कायमै रहे यो लक्ष्य पनि पुरा नहुने देखिएको छ ।