काठमाडौं । सरकारले लामो दूरीका सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गरी सार्वजनिक यातायातको भाडा बढेको जानकारी गराएको हो।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लामो दूरीको सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा बढाएपछि विभागले कार्यान्वयनमा ल्याएको हो ।
लामो दूरीका यात्रीवाहक सवारीसाधनमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक साधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा २६ प्रतिशतले भाडा बढाइएको विभागका प्रवत्ता डा. लोकनाथ भुसालले बताए ।
२०७८ असार २७ गतेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको स्वीकृतिमा सार्वजनिक यातायातको भाडा बढाएको उनले जानकारी दिए । पेट्रोलियम पदार्थको भाउ बढेपछि सरकारले सार्वजनिक यातायातको भाडा बढाएको हो ।
सार्वजनिक सवारी साधनको भाडा दर निर्धारण गर्दा इन्धनको मूल्य वृद्धि ३५ प्रतिशत अन्य सूचकहरुको ६५ मानेर बढाइएको विभागले स्पष्टपारेको छ ।
यस्तै २०७५ असोज ७ गते भाडा निर्धारणको अन्य सूचकलाई यथावत राखी इन्धनलाई आधार मानेर भाडा समायोजन गरिएको भुसालले बताए । उनका अनुसार त्यसबेला १० प्रतिशत भाडा बढाइएको थियो ।
सार्वजनिक यातायात सञ्चालन सम्बन्धित लगानी तथा खर्च सम्बन्धित विभागले गरेको बजार अध्ययन तथा विश्लेषण, सरोकारवालाहरुसँगको छलफल, यातायातका कर्मचारीको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र नाफालगायत मूल्य सूचकमा देखिएको वृद्धिका आधारमा भाडा बढाइएको विभागले स्पष्टपारेको छ ।