विराटनगर । विराटनगरको ठूलो लगानीमा सञ्चालित होटल जेनियल गत वर्ष कोरोनाका कारण बन्द भयो । २०५५ सालदेखि सञ्चालनमा रहेको जेनियल कोरोना महामारीका कारण देखाउँदै सञ्चालकहरुले बन्द गराए ।
चीनको वुहानमा कोरोनाको संक्रमण फैलिएपछि होटलमा मन्दी छाएको छ । चैत ११ गतेदेखि सुरु भएको लकडाउनका कारण खर्च धान्न नसकेपछि होटल बन्द गर्नुपर्ने अवस्था आएको सञ्चालक समितिले जानकारी दिएको थियो ।
अझै कोरोना महामारी भएकाले होटल सञ्चालनमा आउने अवस्था छैन । कोरोना महामारीपछि पनि पर्यटन क्षेत्रमा सुधार आउन समय लाग्ने भएकाले तत्काल होटल चलाउन सक्ने अवस्था नरहेको अध्यक्ष दिनेश सिटौलाले जानकारी दिए ।
होटल बुकिङ आउन थाल्यो भने खोल्न सकिने सिटौलाले जानकारी दिए । ‘एक वर्षसम्म खोल्न सकिन्न’, उनले भने ‘समय र परिस्थितिअनुसार खोल्न सकिने र नसकिने भन्ने कुरा पछि थाहा हुनेछ ।’
२०५५ साल पुस ५ गतेदेखि होटल जेनियल सञ्चालनमा आएको थियो । विराटनगरमा ठूलो लगानीमा सञ्चालित पहिलो होटल जेनियलमा ४८ वटा कोठा, ३ वटा कार्यक्रम हल, २ वटा मिटिङ हल, एउटा स्वीमिङ पुल र दुइवटा रेस्टुरेन्ट छन् ।
यस्तै कोरोना महामारीका कारण गत वर्ष नै होटल नमस्कार बन्द भएको थियो । विराटनगरको ट्राफिक चौकमा स्थापित होटल नमस्कार व्यावसायिक रुपमा विराटनगरमा खुलेको पहिलो स्तरीय होटल थियो ।
२०३७ सालमा स्थापना भएको होटल नमस्कारले गतवर्षको असार अन्तिममा आफ्नो सेवा बन्दको घोषणा गरेको थियो । होटल नमस्कार वि.सं २०३७ सालमा युवराज श्रेष्ठले स्थापना गरेका थिए । श्रेष्ठको निधनपछि उनको छोरा युनेशराज श्रेष्ठले हेर्दै आएका छन् ।
कोरोना महामारीका कारण सञ्चालन खर्च धान्न मुस्किल भएपछि बन्द गर्न बाध्य भएको सञ्चालक समितिले जनाएको थियो । यस्तै होटल नमस्कार पनि अहिले सञ्चालनमा आउने अवस्था नरहेको बताईएको छ ।
भाडामा रहेका होटल बन्द हुने अवस्थामा
घर भाडामा लिएर सञ्चालनमा रहेका होटलहरु बन्द हुने अवस्थामा रहेको होटल व्यवसायीहरुले बताएका छन् । गत वर्ष लामो समय लकडाउन भएपछि थलिएका होटल बजार खुलेपछि केही तङ्रिन थालेकोमा कोरोना महामारीको दोस्रो लहरले झन थलिएका छन् ।
विराटनगर महानगरपालिकाले मंगलबारदेखि साना ठूला सबै होटल खोल्न अनुमति दिएको छ ।
मंगलबारदेखि होटल सञ्चालनमा आएका छन् । तर, ठूलो भीड गर्न पाईने छैन । सानातिना कार्यक्रमहरु होटलमा सञ्चालन हुन पाउने व्यवस्था गरिएको छ । होटल खोले पनि ग्राहक नहुँदा अवस्था उस्तै छ । घर भाडा तिर्न सकिने अवस्था नरहेको व्यवसायीको गुनासो छ । होटल सञ्चालन गर्ने की बन्द गर्ने व्यवसायी दोधारमा देखिन्छन् ।
बैंकबाट ऋण लिएर सञ्चालन भएका होटलहरु चलाउनुपर्ने अवस्था रहेको होटल व्यवसायी राजन श्रेष्ठले बताए । होटल चले पनि नचले पनि सञ्चालन गर्नुपर्ने उनको भनाई छ । होटल बन्द भएपछि फेरी ऋण लिएको पैसाका लागि बैंकले ताकेता गर्ने उनले बताए ।
अर्थतन्त्रमा असर
प्रदेश १ मा होटल क्षेत्रमा धेरै लगानी रहेको छ । व्यवसाय सञ्चालन नहुँदा अर्थतन्त्रमा ठूलो असर पारेको होटल यसोसियसन नेपालका केन्द्रीय सदस्य समेत रहेका राजन श्रेष्ठले बताए । प्रदेश १ मा मात्र दैनिक ३० करोड रुपैया घाटा भएको उनले जानकारी दिए ।
आजभन्दा २० बर्ष अगाडि १४ अर्ब रुपैयाँ अगानीमा सञ्चालन भएको प्रदेश १ कै सुविधासम्पन्न होटल बन्द भएको छ । यसलाई हेर्दा नै होटल क्षेत्रलाई कत्ति असर गरेको छ भने अनुमान गर्न सकिने श्रेष्ठले बताए ।
पछिल्लो समयमा होटलमा लगानी गर्न सक्ने अवस्था पनि नरहेको उनको भनाई छ । एक दुई वर्षअघि सञ्चालनमा आउन लागेका केही नयाँ होटल सञ्चालनमा आए पनि अब नयाँ होटलमा लगानी गर्ने व्यक्तिले धेरै कुरा सोचेर मात्र लगानी गर्नुपर्ने अवस्था रहेको श्रेष्ठको भनाइ छ ।
व्यापार छैन
कोरोना महामारीका कारण बन्द भएका होटल विस्तारै सञ्चालनमा आउन थालेका छन् । होटललाई पनि खर्च धान्न गाह्रो भएको होटल सञ्चालकहरु बताउँछन् । होटलमा अहिलेको अवस्थामा ५ प्रतिशत पनि चहलपहल नरहेको श्रेष्ठले बताए । खर्च धान्न सक्ने अवस्था नरहेकाले धेरै होटलहरु बन्द हुने अवस्थामा रहेको उनको भनाई छ ।
मोरङ व्यापार संघ कार्यसमिति सदस्य समेत रहेका श्रेष्ठ निषेधाज्ञा खुकुलो भए पनि बजारमा चहलपहल नभएका कारण होटल व्यावसाय राम्रोसँग सञ्चालनमा आउन नसकेको बताउँछन् ।
तराईको व्यापार र पर्यटन क्षेत्र बोर्डर खुलेपछि चल्ने गर्छन । पूर्वका होटल व्यवसायको मेरुदण्ड भनेको भारतीय पर्यटन रहेको श्रेष्ठले जानकारी दिए । बजार तथा गाडिहरु र हवाइ सेवा खुले पनि सीमा नाका नखुल्दासम्म होटल व्यवसायिलाई गाह्रो हुने उनको तर्क छ ।
विराटनगरमा मात्र साना ठूला गरी ५ सयको हाराहारीमो होटलहरु सञ्चालनमा रहेका छन् । त्यसै गरी होमस्टे बाहेक प्रदेश १ मा साना ठूला गरी २ हजारभन्दा बढी होटलहरु सञ्चालनमा छन् ।
प्रदेश १ मा पर्यटक स्तरीय होटल मात्र ५ सय भन्दा बढी छन् भने ३ सयभन्दा बढी होमस्टे सञ्चालनमा छन् । पर्यटक स्तरीय होटल र होमस्टेमा मात्र ४ हजारभन्दा बढीले रोजगारी पाएका छन् । समग्र होटल क्षेत्रमा लाखौले रोजगारी पाएका छन् । तर, कोरोना महामारीका कारण धेरैले रोजगारी गुमाएका छन् ।