काठमाडौं । भ्रमण वर्ष २०२० नजिकिँदै जाँदा प्रचारप्रसार सुस्त भएको आरोप लागिरहेका बेला इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुपले चार महिना अघिबाट चीनमा नेपालको प्रचार गरिरहेको छ ।
चीनको राजधानी बेइजिङमा चलिरहेको एक्स्पो २०१९ मार्फत ग्रुपले नेपालमा पाइने विभिन्न वनस्पतिहरुको अवस्था, लगानीको वातावरणसँगै पर्यटकीय क्षेत्रहरुको प्रचार गरिरहेको छ । एक्स्पोमा आउनेहरुलाई भ्रमण वर्षको जानकारी दिने उद्देश्यले छुट्टै डेक्ससमेत राखिएको छ ।
नेपालका तर्फबाट ‘इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुप’ले नेपाली मण्डप मार्फत परिचय दिइरहेको छ । ‘हरित जीवन ः उत्तम जीवन’ भन्ने मूल विषयवस्तुमा केन्द्रित रहेर आयोजित सो विश्व प्रदर्शनीमा ‘लुम्बिनी शान्ति बगैंचा’ निर्माण गरी बुद्ध जन्मिएको देश नेपालमा प्रकृति र जीवनबीच रहेको अनन्योन्याश्रित सम्बन्धलाई प्रचार गरिरहेको एक्स्पर्ट ग्रुपका राष्ट्रिय संयोजक विनायक शाहले जानकारी दिए ।
संसारभर नियमितरुपमा एक्स्पो भइरहे पनि चीनमा भइरहेको एक्स्पोको विषेश महत्त्व रहने गरेको छ । एक्स्पोका विभिन्न तह रहने भएकाले चीनमा भइरहेको ‘बी’ लेभलको हो भने दुबईमा हुन लागेको एक्स्पो ‘ए’ लेभलको रहेको संयोक शाहको भनाइ छ । ‘यो कुनै व्यापार मेला नभई एउटा देशमा रहेको विषयवस्तुको जानकारी दिने, लगानीकर्ताहरुलाई आकर्षण गर्ने थलो हो,’ संयोजक शाहले भने ।
चीनमा चलिरहेको एक्स्पोमा नेपालमा रहेका वनस्पतिहरुको परिचय गराउने, विषेशताहरुको जानकारी गराउने र लगानीको वातावरणमा जानकारी दिने काम भइरहेको छ । चीनमा हुने अधिकांश औषधी जडिबुटीमार्फत बनाइने गरिएकाले नेपालमा उनीहरुको विषेश चासो हुने आशा ग्रुपको छ ।
आगामी कात्तिकसम्म चल्ने सो एक्स्पोकोे १६ करोड व्यक्तिले प्रत्यक्ष तथा विश्वव्यापीरुपमा एक अर्बभन्दा बढीले विभिन्न सञ्चार तथा प्रविधिका माध्यमबाट अप्रत्यक्षरुपमा अवलोकन गर्ने बताइएको छ । हालसम्म नेपाल मण्डलमा १५ लाखभन्दा बढी दर्शकले अवलोकन गरिसकेका छन् ।
एक्स्पोमा १५ फिट अग्लो ध्यानमग्न बुद्धको विशाल मूर्ति बीचमा राखेर नेपालको कृषि, वन, वनस्पति सम्पत्तिको शोधखोज एवम् आर्थिक तथा व्यापारिक विकासका ठूला योजनाहरु भित्र्याउन चिनियाँ तथा अन्तर्राष्ट्रिय प्रविधि र लगानी आकर्षण गर्न प्रयास भइरहेको राष्ट्रिय संयोजक शाह बताउँछन् ।
असोज २ गते एक्स्पोमा आयोजना हुने नेपाल दिवसमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल र समकक्षी चिनियाँ टोलीबीच औपचारिक कार्यक्रमहरु आयोजना हुने र सोही अवसरमा नेपाली कला, कौशल तथा संस्कृति झल्कने नाचगान, संगीतका कार्यक्रम, नेपाली रैथाने परिकारसहितको खाद्य महोत्सव आयोजना हुने पनि बताइएको छ । नेपाल दिवसको चिनियाँ सञ्चारमाध्यमहरुले प्रत्यक्ष प्रशारण समेत गर्ने छन् । भ्रमण वर्षका बारेमा जानकारी दिन त्यहाँ छुट्टै सूचना केन्द्र राखिएको छ । स्थानीय आगन्तुकले चिनियाँ भाषामै नेपालका बारेमा जानकारी लिन पाउँछन् ।
यसैबीच २०२० को अक्टोबरबाट दुबईमा आयोजना हुने एक्स्पोमा पनि नेपालले प्रतिनिधित्व गर्ने भएको छ । हरेक पाँच÷पाँच वर्षमा हुने सो एक्स्पोमा नेपालबाट इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुपले प्रतिनिधित्व गर्ने छ । एक्स्पोमा सहभागी हुन ग्लोबल टेन्डर गरिएको थियो ।
आपसी हितमा लगानी कसरी भित्र्याउन सकिन्छ भन्ने उद्देश्यका साथ आयोजना हुन लागेको सो एक्स्पो छ महिनासम्म चल्ने छ । इम्प्लिमेन्टिङ ग्रुपको दुबई एक्स्पो १२ औं संस्करण हो । अहिले दुबईमा स्टल निर्माण, प्रदर्शनीका लागि सामग्री आयात तथा तयारी गरिँदै छ ।