नेपालमा पुँजी बजारको विस्तार हुँदैछ । यस्तो बेला यसलाई अझ बढी प्रोत्साहित गर्न आवश्यक छ । त्यसैले आगामी आर्थिक वर्षका लागि आउन लागेको मौद्रिक नीतिले पुँजी बजारले हाल पाइआएको सुविधाहरूलाई निरन्तरता दिनुपर्ने हुन्छ । मौद्रिक नीतिले दिएको सुविधा कटौती गरेर विस्तार हुँदै गएको सेयर बजारलाई निरुत्साहित गर्नुहुँदन ।
सेयर लगानीकर्ताका ३७ लाखवटा डिम्याट खाता खुलिसकेका छन् । ७ लाख लगानीकर्ताले अनलाइनबाट सेयर कारोबार गरिरहेका छन् । झण्डै ९० प्रतिशत लगानीकर्ताले अनलाइनबाट सेयर कारोबार गरिरहेका छन् ।
पुँजी बजारको आकार बढेर बजेटको अढाइ गुणा ठूलो भइसकेको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ८५ प्रतिशत हिस्सा पुगेको छ । ३७ लाख डिम्याट र ७ लाख अनलाइनसमेत गरी देशको कुल जनसंख्याको १५ प्रतिशत सेयर बजारमा प्रवेश गरिसकेका छन् । केही अर्बमा हुने कारोबार रकम बढेर अहिले दैनिक २० अर्ब रुपैयाँसम्म पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस क्लियरिङ लिमिटेड बाहेक सेयर बजारले सरकारलाई मासिक १ अर्ब रुपैयाँभन्दा बढी पुँजीगत लाभकर बुझाइरहेको छ । पुँजी बजारमा अर्थमन्त्री विष्णु पौडेल पनि सकारात्मक हुनुहुन्छ । माथि उल्लेख गरिएका सबै कुराले पुँजी बजार अर्थतन्त्रको ऐना भएको पुष्टि हुन्छ ।
त्यस कारण समग्र कुरालाई ध्यान दिएर मौद्रिक नीति बनाउन हामीले नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेका छौं । मौद्रिक नीतिबाट हामीले खाइपाइ आएको कुराहरू कटौती नहोस । सकिन्छ भने अझ टेवा दिनुपर्छ । पुँजी बजारलाई न्यानो माया दिनुहोस् भनेका छौं । पुँजी बजारमा अझै पनि ७० प्रतिशत हिस्सा वित्तीय क्षेत्रको छ ।
पुँजी बजारलाई गाउँ–गाउँसम्म पुर्याउन नेपाल धितोपत्र बोर्डले वाणिज्य बैंकहरूलाई सेयर ब्रोकरको अनुमतिपत्र (लाइसेन्स) दिनुपर्छ । यस्तै कारोबार रकम बढिरहेकाले ब्रोकर कमिसन घटाउन अनुरोध गरेका छौं । ब्रोकर लाइसेन्सका लागि राष्ट्र बैंकको ध्याकर्षण गराएका छौं ।
५१ वटा कम्पनीको लिष्ट निकाल्ने कुरा गलत भएको जानकारी धितोपत्र बोर्डलाई गराएका छौं । हामीले पेश गरेका ५८ वटा बुँदाहरूमध्ये राष्ट्र बैंकबाट बाँकी कार्यान्वयन होस भनेको छौं ।
अब आउने मौद्रिक नीति अर्थतन्त्र र पुँजी बजारको सबै पक्षलाई हेरेर आउनेछ भन्नेमा आशा छौं । यस्तै सेयरधितो कर्जा (मार्जिन लेन्डिङ) ७० प्रतिशत निरन्तरता होस् । १८० दिनको सीमालाई १२० दिन कायम गर्न माग गरेका छौं ।
(रौनियार, नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष हुन्)