विराटनगर । मोरङ्गको उर्लावारी–रमिते–रवी सडकखण्ड निर्माण सम्पन्न नहुदै कालोपत्रे भत्किएको छ । उर्लाबारी ४ स्थित किसान चौकमा गरिएको कालोपत्रे एक महिना नबित्दै भत्किएको हो ।
यो सडक पूर्व पश्चिम राजमार्गसँग जोडिएको छ । संघिय सरकारको सडक विभागमार्फत निर्माण गरिएको उक्त सडक खण्ड काम भईनसक्दै बिग्रन थालेको हो ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत पहाडलाई तराईसँग जोड्नको लागि सरकारले गौरवको आयोजना अन्तर्गत उर्लावारी–रमिते–रवी सडकखण्डको किसान चोकदेखि आईतबारेसम्मको कालोपत्रेको जिम्मा रतुवामाई नगरपालिकाको ढुङ्डी कन्ट्रक्सनलाई दिईएको थियो । ७०० मिटर कालोपत्रेका लागि १ करोड १७ लाख रुपैयाँ छुट्याईएको थियो ।
दुई बर्ष अगाडि निर्माण सुरु भएको पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने टाँडी हुँदै उर्लावारी–रमिते–रवी सडकखण्डको अर्थमन्त्री इन्द्र्रबहादुर आङबोले उक्त सडक कालोपत्रेको शिलन्यास गरेका थिए । सडकको कालोपत्रे गर्ने ठेक्का घटाघटन शर्मा भिमेश्वर जेभीले पाएकोे थियो । ५९ करोड ५६ लाख ६८ रुपैयाँमा ठेक्का पाएको भिमेश्वर जेभीले २०७६ साल असोजमा काम शुरु गर्ने र दुई बर्ष भित्र सक्नुपर्ने थियो ।
मापदण्ड विपरित सडक बनाएकाले छिटो भत्किएको स्थानीयको भनाई छ । माटो सफा नै नगरी त्यतीकै माथि माथि गिटीबालुवा राखेर कालोपत्रे गरेको उनीहरुको भनाई छ । सडकको माटो पनि राम्रोसँग नपुरिएकाले कालोपत्रे उकिएको स्थानीयले बताएका छन् ।
उर्लाबारी ४ का वडा अध्यक्ष लक्ष्मिनारायण धिमाल पनि सडकको कालोपत्रे भत्किएको देख्दा अचम्म परेका बताएका छन् । उनलाई कसले बाटोमा ढुङ्गा झारेको जस्तो लागेको थियो । तर कालोपत्रे उकिएको भन्ने थाहा पाएसी अचम्मा परे ।
ठेकेदारको काम गर्ने प्रवृति गलत रहेको उनले बताए । ठेकेदार र प्राविधिकको मिलोमहतोमा झारो टार्ने काम मात्र भएको उनले बताए ।आर्थिक बर्षको अन्तिममा आएर बजेट सक्नकै लागि गरिने यस्ता कामले विकासको नाममा विनास भएको देखिन्छ ।