काठमाडौं । इजी ट्याक्सी नेपालले गाईजात्राको अवसर पारेर आफ्ना यात्रुहरुलाई क्यास ब्याक अफर ल्याएको छ ।
एप्समार्फत घरमा नै ट्याक्सी बोलाउन सकिने सेवा दिँदै आएको इजी ट्याक्सी नेपालले गाईजात्राको अवसरमा जति रकम ट्याक्सीमा उठ्छ, त्यति नै रकम यात्रुहरुको वालेटमा फिर्ता गर्ने ‘गाईजात्रे क्यासब्याक अफर’ सार्वजनिक गरेको छ । कम्पनीले जनैपूर्णिमा, रक्षाबन्धन तथा गाईजात्राको अवसर पारेर साउन ३० र ३१ गते दुई दिन दिउँसो १२ बजेदेखि ३ बजेभित्र इजी ट्याक्सी नेपाल एपमार्फत ट्याक्सीमा यात्रा गर्ने यात्रुहरुलाई सो रकम फिर्ता योजना ल्याएको हो ।
पछिल्लो दिनमा एप्समार्फत इजी ट्याक्सी नेपाल प्रयोग गर्ने ग्राहकहरुको सङ्ख्यामा भएको वृद्धिसँगै कम्पनीले आफ्ना यात्रुहरुका लागि नयाँ अफर सार्वजनिक गरेको हो । फिर्ता भएको क्यासब्याक रकम यात्रुहरुले अर्को ट्याक्सी राइडमा प्रयोग गर्न सक्नेछन् ।
इजी ट्याक्सीले आफ्नो मोबाइल एपमा नयाँ अपडेट ल्याएसँगै यो अफर पनि सार्वजनिक गरेको छ ।
गाईजात्रे अफरअन्तर्गत इजी ट्याक्सी नेपालका एप्समार्फत ट्याक्सीमा यात्रा गर्ने यात्रुहरुका साथै चालकका लागि समेत अफर घोषणा गरेको छ । जसअन्तर्गत चालकहरुले सो एपमार्फत यात्रुहरुलाई जति किलोमिटर यात्रा गराउँछ, त्यति धेरै रकम आम्दानी गर्न सक्ने सुविधा दिएको छ । चालकहरुका लागि प्रतिकिलोमिटर २ को दरले चालकहरुको वालेटमा रकम फिर्ता हुनेछ ।
इजी ट्याक्सी नेपालका अपरेसन हेड दामोदर श्रेष्ठले इजी ट्याक्सी नेपालका प्रयोगकर्ता यात्रुहरुलाई थप सुविधा दिने उद्देश्यले यो योजना ल्याएको बताए । ‘इजी ट्याक्सी नेपालमा २७०० भन्दा बढी ट्याक्सी चालक तथा व्यवसायी आबद्ध भइसक्नुभएको छ, यो नेपालको सबैभन्दा ठूलो ट्याक्सी एप सञ्जाल पनि हो, हामी ट्याक्सी यात्रुहरुका लागि विभिन्न सुविधा नियमित रुपमा ल्याउने क्रममा छौं, यो अफरमा सीधै क्यासब्याक प्राप्त हुनेछ,’ इजी ट्याक्सी नेपालका अपरेसन हेड श्रेष्ठले भने ।
इजी ट्याक्सी नेपालमा आबद्ध सम्पूर्ण ट्याक्सी चालकहरुका लागि ५ लाख रुपैयाँको दुर्घटना बीमा छ । चालकका परिवारको सुरक्षाको लागि पनि बिमा योजना ल्याउने तयारी छ ।