काठमाडौं । प्रस्तावित ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजनाको संभाव्यता अध्ययनका लागि भारतीय कम्पनीसँग आज सम्झदारीपत्र (एमओयू) मा हस्ताक्षर हुने भएको छ । आइतबार साँझ ५ बजे तल्लो अरुण आयोजनामा छनौट भएको विकासकर्ता एसजेबीएन लिमिटेडसँग एमओयूमा हस्ताक्षर हुने लगानी बोर्डका सहप्रवत्ता रमेश अधिकारीले बताए ।
प्रधानमन्त्री केपी शर्माको अध्यक्षतामा माघ १६ गते शुक्रबार बसेको लगानी बोर्डको ४६ औं बैठकले प्रस्ताव पेस गर्ने भारतको एसजेबीएन लिमिटेडलाई तल्लो अरुण आयोजनामा छनौट गरेको थियो ।
आयोजना सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणाअन्तर्गत आफैं निर्माण सञ्चालन र हस्तान्तरण (बुट) मोडेलमा विकास हुने भएको छ । एसजेबीएनले २१ प्रतिशत अर्थात हाल कायम रहेको जडित क्षमताअनुसार १४२ मेगावाट बिजुली निःशुल्क दिने प्रस्ताव गरेको छ ।
एसजेबीएनको प्रस्तावलाई बोर्डले स्वीकृत गरेपछि थप अध्ययनका लागि सम्झौता हुन लागेको हो । एमओयू भएपछि आयोजनाको विस्तृत अध्ययन (डीडीआर) तयारी अघि बढ्नेछ ।
संखुवासभा र भोजपुरमा पर्ने आयोजनाको करिब १५ किलोमिटर मुख्य सुरुङ निर्माण गर्नुपर्नेछ । आयोजना बनाउन १ खर्ब ५० अर्ब रुपैयाँ लाग्ने संभाव्यता अध्ययनले देखाएको छ । डीपीआर तयारपछि आयोजनाको लागत र जडित क्षमता यकिन हुनेछ ।
एसजेबीएनले ९०० मेगावाटको अरुण तेस्रो आयोजना निर्माण गरिरहेको छ । आयोजनाको ४० प्रतिशत निर्माण सम्पन्न भएको जानकारी कम्पनीले दिएको छ । २०७५ चैतमा काठमाडौंमा सम्पन्न लगानी सम्मेलनको अवसरमा सरकारले तल्लो अरुण आयोजना लगानीकर्ताहरू समक्ष प्रस्तुत गरेको थियो ।
एसजेबीएन सतलज जलविद्युत निगम लिमिटेडको सहायक कम्पनी हो । सतलज भारत सरकार स्वामित्वको कम्पनी हो । तल्लो अरुणमा पनि निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रोको जस्तै निःशुल्क ऊर्जालाई प्राथमिकतामा राखेर प्रस्ताव आह्वान गरेको थियो । अरुण तेस्रो आयोजनाले २१.९ प्रतिशत अर्थात १९८ मेगावाट निःशुक बिजुली दिने प्रस्ताव गरेपछि पाएको थियो ।
अरुण तेस्रो आयोजना अत्यधिक विद्युतको माग हुने सुक्खा मौसममा पनि दैनिक ६ घण्टा पानी जम्मा गरेर बिजुली उत्पादन गर्न सक्ने अर्धजलाशय (पिकिङ रन अफ रिभर) आयोजना हो । अरुण तेस्रोबाट बिजुली उत्पादन भएको पानी सिधै तल्लो अरुणको सुरुङमा जानेछ ।
अरुण तेस्रो आयोजनाबाट निस्किएको पानीलाई सिधै सुरुङमार्फत प्रवाह गरेर बिजुली उत्पादन हुनेछ । आयोजना बनाउन बाँध नपर्ने भएकाले लागत सस्तो पर्ने संभाव्यता अध्ययनले देखाएको छ ।