काठमाडौं । सरकारको बहुमत स्वामित्व रहेको हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले आउँदो ३ वर्षमा विभिन्न जलविद्युत आयोजनाहरुमा १ खर्ब १७ अर्ब ४२ करोड रुपैयाँ ऋण तथा सेयर लगानी गर्ने भएको छ ।
आर्थिक वर्ष ०८०/०८१ को अन्त्यसम्ममा निजी क्षेत्र तथा सरकारी निकायहरुबाट प्रवद्र्धन हुने ६ हजार २५२ मेगावाट क्षमताका ४८ वटा ठूला जलविद्युत आयोजनाहरुमा सो रकम सेयर तथा ऋण लगानीको सम्झौता गर्ने लक्ष्य लिएको छ ।
कम्पनीको व्यवसाय विस्तारका लागि हालसम्म लगानीका लागि प्रतिबद्धता भइसकेका जलविद्युत आयोजनाहरु सहितको हो । यस अवधिमा कम्पनीले ४७ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरिसक्ने लक्ष्य लिइएको छ ।
हालसम्म निजी क्षेत्र तथा सरकारबाट प्रवद्र्धित १ हजार ९७ मेगावाटका १७ वटा जलविद्युत आयोजनाहरुमा १२ अर्ब ९१ करोड रुपैयाँ ऋण तथा स्वपूँजी लगानीको प्रतिवद्धता गरेको कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ । यसका साथै जलविद्युत क्षेत्रसँग सम्वन्धित विभिन्न ४ वटा कम्पनीहरुमा ९२ करोड रुपैयाँ सेयर लगानी गर्ने प्रतिवद्धता गरेको छ ।
एचआईडीसीएलले रेमिट्यान्सबाट प्राप्त हुने रकमको केही अंश जलविद्युत आयोजनाको निर्माणमा परिचालन गर्ने भएको छ । कम्पनीले रेमिट हाइड्रो लिमिटेड सहायक कम्पनी खडा गरेको छ । कम्पनीले ७७.५ मेगवाटको घुन्सा खोला तथा ७०.३ मेगावाटको सिम्बुवा खोला आयोजनाहरुको विस्तृत अध्ययनको काम अन्तिम चरणमा पुर्याएको छ ।
घुन्सा खोला आयोजनाको नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता (पीपीए) को प्रकृयामा रहेको छ । आयोजनाको पहुँच मार्ग निर्माणको कार्य जारी रहेको छ । दुई आयोजनाहरुलाई छुट्टाछुट्टै कम्पनीहरु मार्फत अगाडि बढाउन कम्पनीको स्वामित्वमा सिम्बुवा रेमिट हाइड्रो नयाँ सहायक कम्पनी स्थापना गरी सिम्बुवा खोला जलविद्युत आयोजनालाई सो कम्पनी अन्तर्गत विकास गर्ने योजना अनुसार सर्वेक्षण अनुमतिपत्र हस्तान्तरण भएको छ ।
एचआईडीसीएलले चिनियाँ कम्पनीसँगको साझेदारमा ९१२ मेगावाटका दुई राष्ट्रिय महत्वका जलाशययुक्त आयोजनाहरु निर्माणको तयारीमा छ । जसमध्ये विद्युत विकास विभागबाट १५६ मेगावाट क्षमताको माडी जलाशययुक्त आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरिसकेको छ । यो आयोजनाको विकास गर्न पावर कन्स्ट्रक्सन कर्पोरेशन अफ चाइना लिमिटेडसँग (पावर चाइना) समझादारी पत्रमा (एमओयू) हस्ताक्षर गरी संयुक्त कम्पनी स्थापना गर्ने र आयोजना अध्ययनको प्रकृया अगाडि बढाएको छ ।
यसै गरी लगानी बोर्डबाट सर्भे तथा अध्ययनका लागि अनुमति प्राप्त भएको ७५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत आयोजनाको विकासको लागि पावर चाइनासँग समझदारी पत्रमा हस्ताक्षर भई संयुक्त उपक्रम मार्फत सो आयोजना विकास गर्ने गरी अध्ययन कार्य अगाडि बढेको एचआईडीसीएलले जनाएको छ ।
कम्पनीको पूँजीगत योजना बमोजिमको चुक्ता पूँजी न्यूनतम २२ अर्ब रुपैयाँ साउन ४ गतेदेखि हकप्रद सेयर निष्कासन गर्दैछ । २०७५ पुस ३० गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट १०० प्रतिशत अनुपातमा हकप्रद सेयर जारी गरी पूँजी बृद्धि गर्ने निर्णय गरेको थियो ।
प्रक्षेपित ३ वर्षको अन्तसम्म कम्पनीले २९ अर्ब १६ करोड रुपैयाँ विभिन्न आयोजनाको सेयरमा लगानी गर्ने भएको छ । १८ अर्ब २६ करोड रुपैयाँ विभिन्न आयोजनाहरुमा ऋण लगानी गर्ने भएको छ । आयोजनाहरुमा लगानी विस्तार गरे पनि कम्पनीको नाफामा कमी आउने सार्वजनिक गरेको वित्तीय विवरणमा देखाइएको छ ।
एचआईडीसीएलले चालु आर्थिक वर्षमा ८६ करोड ४८ लाख, आगामी वर्ष ०७८/०७९ मा ८२ करोड ५४ लाख, ०७९/०८० मा ८२ करोड र ०८०/०८१ मा घटेर ६८ करोड ९२ लाख रुपैयाँमा सीमित हुने अनुमान गरिएको छ । नाफा घटेपछि कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३ रुपैयाँ १३ पैसामा झर्ने छ ।