काठमाडौं । कर्मचारी सञ्चय कोषले प्रस्तावित तामाकोसी पाँचौ जलविद्युत आयोजनामा १२ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएको छ । दोलखामा रहेको आयोजनाको जडित क्षमता ९९.८ मेगावाट रहेको छ ।
तामाकोसी पाँचमा सञ्चय कोषले लगानी गर्ने निर्णय भइसकेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । उनले ऋण लगानी सम्झौतामा छिट्टै हुने जानकारी दिए । सञ्चय कोष र विद्युत प्राधिकरणबीच ऋण लगानीसम्बन्धी आशयपत्रमा हस्ताक्षर भइसकेको छ ।
अब अन्तिम ऋण लगानीको सम्झौता हुने सञ्चय कोषका प्रशासक तुलसी गौतमले बताए । आयोजना वित्तीय रुपमा आकर्षक भएकाले लगानी गर्न लागेको गौतमले स्पष्टपारे । आयोजना बनाउन १५ अर्ब रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ ।
विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) जर्मनीको ल्याह्यमेयर इन्टरनेसनलले तयार पारेको हो । बाँकी ३ देखि ४ अर्ब रुपैयाँ स्वपुँजी (इक्विट) बाट जुटाइने भएको छ ।
आयोजना विद्युत प्राधिकरणले सहायक कम्पनी तामाकोसी हाइड्रोपावर लिमिटेडबाट निर्माण गर्न लागेको हो । यसअघि चीनको एसियन इन्फ्रास्ट्रक्चर बैंक (एआईबी) ले आयोजनामा १५ अर्ब रुपैयाँ ऋण लगानी गर्ने सहमति जनाएको थियो । पछि सञ्चय कोषले चासो देखाएपछि नेपालबाटै आयोजनालाई लगानी जुटाउने भएको हो ।
सञ्चय कोष ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको मुख्य लगानीकर्ता हो । उसले तामाकोसी पाँचौं आयोजनामा लगानी गर्न दिनुपर्ने शर्त राख्दै आएको थियो ।
माथिल्लो तामाकोसीबाट बिजुली उत्पादनपछि निस्कने पानी सिधै टेलरेस सुरुङबाट तामाकोसी पाँचौंमा जाने भएकाले आयोजनाको बाँध बनाउन पर्दैन । ८ किलोमिटर लामो सुरुङका कारण लागत केही बढी भए पनि आयोजना आर्थिक रुपमा आकर्षक देखिएको छ ।
आयोजना २ प्याकेजमा निर्माण हुने भएको छ । पहिलो प्याकेजमा सिभिल र हाइड्रोमेकानिकल र दोस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल र प्रसारणलाइन निर्माणको काम राखिएको छ । तामाकोसी पाँचाैं जनताको जलविद्युत आयोजना हो । जनतालाई सेयर निष्कासन गर्नुपर्ने हुन्छ । जनताको जलविद्युत अन्र्तगत निर्माणको चरणमा जान लागेको आयोजना हो ।
चीनको एआईआईबीले आयोजनाको थप अध्ययन गर्न १० करोड रुपैयाँ अर्थात ९ लाख डलर अनुदान दिएको थियो । आयोजना सन् २०२३ मा सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि कोरोना भाइरस महामारीले लम्बिने भएको छ । आयोजना इन्जिनियरिङ प्रक्युरमेन्ट कन्ट्रयाक्ट (ईपीसी) खाकामा बनाउने तय भएको छ ।
आयोजनाको ६८ प्रतिशत स्वामित्व विद्युत प्राधिकरण र ३२ प्रतिशत सर्वसाधारणको हुने गरी लगानी संरचना तयार पारिएको छ । यसमध्ये १० प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दा र बाँकी सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने योजना कम्पनीको छ ।
आयोजना दोलखाको उत्तरीभेग सुरीमा पर्छ । आयोजनालाई एआईआईबीबाट भन्दा सञ्चय कोषबाट ऋण लिन सस्तो पर्ने बताइएको छ । सञ्चय कोषले साढे ९ प्रतिशत हाराहारीमा ऋण लगानी गर्दै आएको छ । कोषले आयोजनामा हुने कर्जाको ब्याजदर घटाउने तयारी गरेको छ ।
सञ्चय कोषले माथिल्लो तामाकोसीका अतिरित्त, १११ मेगावाटको रसुवागढी, ५७ मेगावाटको माथिल्लो र तल्लो सान्जेन र १०२ मेगावाटको मध्य भोटेकोसी आयोजनामा २८ अर्ब रुपैयाँ बढी ऋण लगानी गरिसकेको छ ।