काठमाडौं । गत वर्ष कोरोनाको पहिलो कहरमा चार युवाले पूर्वको सुगम शहरबाट खाद्यन्नको ‘होम डेलिभरी’ सुविधा दिन ई–कमर्श कम्पनी सुरु गरे ।
उपत्यका केन्द्रित ‘स्टार्टअप’ संस्कृतिलाई चुनौती दिँदै तीन युवाले पूर्वाधारयुक्त शहरमै स्टार्टअप सुरु गरेका थिए । व्यावसायिक तथा प्राविधिक पृष्ठभूमिबाट आएका उनीहरुले व्यवसाय सुरु गर्न मासिक लाखौं रुपैयाँ तलब छोडेर आफ्नै व्यवसायमा लाग्न थाले ।
व्यवसाय घाटामै थियो । आम्दानीको तुलनामा सञ्चालन खर्च धेरै थियो । तर, सेवाग्राहीहरु पनि बढ्दो संख्यामा रहेको कारण उनीहरुको उत्साह पनि निकै थियो । ‘बजार तयार भएको छैन अझै फाइदामा जान तीन चार वर्ष लाग्छ भनेर अगाडी नै सोच बनाएर हामी व्यवसायमा छिरेका हौं,’ ती स्टार्टअप व्यसायीले भने ।
मोफसलमा (राजधानी बाहिर) मात्र ई–कमर्शले खासै प्रगति गर्ने नदेखेपछि केही समयमा जम्मा पुँजीबाटै उनीहरुले व्यवसायलाई ‘स्केलअप’ गरी उपत्यकामा पनि ई–कमर्श र लजिस्टिक व्यवसाय पनि सुरु गरे । तर, बीचमा प्राविधिक साझेदारले कम्पनी छाडेपछि त्यसको आर्थिक बोझ पनि थपियो ।
‘एक वर्षमा आय र व्यय बराबरको (ब्रेक इभन) अवस्थामा पुग्छौं भन्ने योजना थियो । त्यो पूरा हुन सकिरहेको थिएन,’ ती व्यवसायीले भने, ‘व्यवसायलाई स्केलअप गरेर लैजान लगानी खोज्न थाल्यौं तर सफल भएनौं ।’
कम्पनीको सञ्चालन खर्च दैनिक बढ्दै गइरहेको छ । ‘ब्रेक इभन’को स्थितिमा पनि नपुगेको कम्पनीको खर्च धान्न बेकार जस्तै छ । केही योजना छन् जसले कम्पनीलाई अगाडि बढाउन मद्दत गर्छन् तर स्केलअप गरी योजना कार्यन्वयन गर्न लगानी दिने हातहरु छैनन् । अहिले मोफसलको यस्तै अवस्था छ ।
पछिल्लो समय एकदमै प्रचलनमा आएको स्टार्टअप व्यवसाय धेरै युवाहरुका लागि आकर्षणको केन्द्रविन्दु बन्यो । इन्टरनेटका माध्यमबाट एउटा कोठामा बसेर वेबसाइट र एपको भरमा सजिलै व्यवसाय सञ्चालन गरेर नाफा कमाउन सकिने लोभ धेरैले देखेका छन् ।
यसैको परिणाम कोरोनाको पहिलो लहरमा लकडाउन र दोस्रो लहरको निषेधाज्ञाबीच बग्रेल्ती स्टार्टअप कम्पनीहरु सञ्चालनमा आए । तर, व्यवसायिक मोडालिटी गलत भएर होस् वा निषेधाज्ञाको संकटलाई जित्न नसकेर होस् धेरै स्टार्टअपहरु छोटो समयमै बन्द हुन पुगेका छन् ।
दर्ता भएको छाटो समयमै धेरै साना तथा मझौला स्टार्टअपहरु निस्क्रिय देखिने गरेको कम्पनी रजिस्टार कार्यलयका रजिस्टार प्रदिपराज अधिकारी बताउँछन् । उनका अनुसार विविध कारणबीच स्टार्टअप कम्पनी असफल हुनु पछाडिको मुख्य कारण सधैं लगानी नै हुने गरेको छ ।
‘नेपालमा बाहिर जसरी नयाँ सोचमा लगानी गरेर संभाव्य उत्पादन तयार पार्न मद्दत गर्ने ‘सिड र एन्जल इन्भेस्टर’ नै छैनन्,’ अर्का नवउद्यमी भन्छन्,‘ठूला भेन्चर क्यापिटल तथा प्राइभेट इक्विटीहरु ‘ग्रो’ गरिरहेका कम्पनीमा मात्र स्केलअप गर्न लगानी गर्छन् । हामी जस्ता कलिला कम्पनीको हकमा हाम्रो मेहेनत र पसिनाको मूल्यलाई लत्याएर सानो लगानीमा ठूलो स्वपुँजी (इक्विटी) खोज्छन् ।’
नेपालमा धेरै जसो स्टार्टअपहरु जम्मा पूँजीलाई खर्चेर ‘ब्रेक इभन’मा पुग्न खोज्छन् । कतैबाट लगानी नपाएको अवस्थामा स्केलअप गर्ने क्षमता पनि हुँदैन र सञ्चालन खर्च पनि नभइसकेपछि लगानी डुबाएर कम्पनी निस्क्रिय वा बन्द गर्ने बाहेक अन्य विकल्प नै हुँदैन ।
नेपालमा स्टार्टअपको परिभाषा र शिर्षक छुट्टाएर दर्ता गरिने प्रावधान नभएको कारण हाल कतिओटा स्टार्टअप सञ्चालन वा बन्दको अवस्थामा छन् भन्ने यकिन तथ्यांक पाउन गाह्रो रहेको ई–बिजनेस एसोसियसन अफ नेपालका (ईबीएएन) अध्यक्ष तथा ई–कमर्श कम्पनी किरानाका संस्थापक अध्यक्ष सागरदेव भट्ट बताउँछन् ।
तर, लगानीको कमिका कारण धेरै स्टार्टअप कम्पनीलाई सञ्चालनमा कठिनाई आई बन्द भइरहेको उनी बताउँछन् । ‘साना मात्र होइन ठूला स्टार्टअप कम्पनीलाई पनि स्केलअप गर्न फण्डिङको अहिले पनि कमि छ,’ सागर भन्छन् ।
नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा (एफडीआई) न्युनतम ५ करोड रुपैयाँ पूँजीको क्याप घटाए नवउद्यमीहरुले भोग्दै आइरहेको फण्डिङको अभाव धेरै हदसम्म समाधान हुने स्टार्टअप व्यवसायी बताउँछन् ।
‘नेपालमा ‘एन्जल र सिड’ लगानीको प्रचलन नै छैन, जस्तो विदेशमा गरिन्छ । विदेशीका लागि २०/२५ लाख रुपैयाँ ठूलो कुरा होइन । हाम्रो जस्तो स्टार्टअपलाई २०/२५ लाख रुपैयाँको लगानी भनेको निकै ठूलो कुरा हो । यसले स्केलअपका लागि ठूलो इन्धन प्रदान गर्छ ।
तर, एफडीआईमा ५ करोड रुपैयाँ न्युनतम वैदेशिक लगानीको क्यापले गर्दा पैसा आउन नै पाउँदैन । न त हामी जस्ता साना कम्पनीलाई ५ करोड रुपैयाँको आवश्यक पर्छ न त विदेशीले हाम्रो सानो कम्पनीमा यत्रो रकम लगानी गर्न विश्वास गर्न नै सक्छन् ।’
मोफसलका लागि पनि विदेशी कम्पनीले लगानी प्रस्ताव नगरेका हैनन् । तर, एफडीआईकै नीतिगत व्यवधानका कारण सबै प्रस्ताव र सम्झौता रद्द भएको मोफसलका सहसंस्थापक बताउँछन् । ‘नेपालमा स्थानीय लगानीकर्ता पाउन कठिन छ, विदेशी लगानी ल्याउन नीतिले रोक्छ ।’ उनले भने ।
आगामी आर्थिक वर्ष ०७८/०७९ को बजेट मा युवा उद्यमीहरुलाई ‘स्टार्टअप’ व्यवसायमा संलग्न हुन उत्प्रेरित गर्न परियोजना धितोमा राखी एक प्रतिशत ब्याजमा २५ लाख रुपैयाँसम्मको बीउ पूँजी कर्जा दिने घोषणामा पनि व्यवहारिक कठिनाई हुने सरोकारवालाहरु बताउँछन् ।
बैंकहरुले कुनै अमूर्त परियोजना नभई जग्गा जमिनहरु मात्र धितोमा राख्ने हुँदा यसको कार्यन्वयनमा व्यवहारिक कठिनाई आउन सक्ने उनीहरुको ठम्याई छ ।
यद्यपी हाल अर्थ मन्त्रालय तथा अन्य निजी सरोकारवालाहरुको प्रतिनिधित्वमा अहिले सरकार स्टार्टअपको कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि बनाउन तम्सिएको छ । कार्यविधिको पहिलो मस्र्यौदा पनि सार्वजनिक गरिएको छ । जसलाई धेरैले आशाको दृष्टिले पनि हेरेका छन् ।
इमब्रोकरमा प्रकाशित ‘स्टार्टअप स्टाटिक्स’ २०२१ को अनुसार ९० प्रतिशत स्टार्टअपहरु सधै असफल हुन्छन् । जसमध्ये १० प्रतिशत स्टार्टअप त पहिलो वर्षभित्रै असफल हुन्छन् ।
स्टार्टअप सुरु गर्नेहरुका लागि पूँजी नभई थोरै पैसाको भरमा व्यवसाय सञ्चालन गर्न नतम्सिन जानकारहरु सुझाव दिन्छन् ।
एन्जल इन्भेस्टमेन्ट नेपालमा नयाँ भएको र उद्यमीहरुको अपरिपक्वताका कारणले स्टार्टअपमा पूँजी प्रदान गर्न असहज भएको सफल पार्टनरका संस्थापक आशुतोष तिवारी बताउँछन् ।
‘स्टार्टअपमा लगानी गरेर पछि पैसा आउनेमा दुविधा भएकोले खासै लगानी गर्न खोज्दैनन् ।’ तिवारी भन्छन्, ‘स्टार्टअपमा लगानी मात्र होइन, सुझाव ‘मेन्टरिङ र नेटवर्क’ दिनुपर्छ । लगानी गरेर ढुक्क बस्ने अवस्था हुँदैन । हामीसँग त्यस्ता लगानीकर्ता प्रशस्त छैनन् ।
त्यसमाथि एन्जल इन्भेष्टर नै भनेर नेपालमा संस्थागत भएका छैन् । सरकारले पनि एन्जललाई पहिचान गरेको छैन । भारत र बंगलादेशमामा संस्थागत भएर एन्जलले नै २२३ करोड रुपैयाँसम्म लगानी गरिरहेका हुन्छन् । त्यो त्यो स्तरमा हाम्रो नेपाल आइसकेको छैनौं ।’
उद्यमीहरुमा पनि परिपक्वता खाँचो हुने उनको भनाइ छ । पैसा चाहिने तर सेयर दिन किचकिच गर्ने, आफूलाई सर्वेसर्वा ठानेर बोर्डको कुरा नसुन्ने प्रवृति उद्यमी हावी हुने उनी बताउँछन् ।
‘उद्यमीहरुले पनि आफूलाई विकास गर्न धेरै बाँकी छ । जेफ बेजोसले अमेजन सुरु गरेर आफ्नो सेयर हुँदा हुँदै पनि छोडेर अर्को ठाउँ सुरु गरेँ । उनी अहिले २११ अर्ब अमेरिकी डलरसहित विश्वको सर्वाधिक धनी बनेका छन । त्यो लचिलो प्रवृति हामीमा पनि हुनुपर्छ । तर, यहाँ मेरो कम्पनी हो मैले हुर्काएको हो भनेर केही पनि नछोड्ने प्रवृति छ ।’ तिवारीले भने ।
लगानीकर्तालाई गृहकार्यको टन्नै खाँचो हुन्छ । यस्ता कुरामा उद्यमी अल्छी भइदिने उनी बताउँछन् । स्टार्टअप भन्ने बित्तिकै अन्जान र जोखिमले भएको हुनाले सेयर, जग्गा र व्यापार जस्ता क्षेत्रमा लगानी हुने नेपालको बजार विकास हुन समय लाग्ने उनी बताउँछन् ।