काठमाडौं । नेपाल वायुसेवा निगमलाई पब्लिक कम्पनीमा लैजान खोजेको विरोधमा आन्दोलनमा उत्रिएका कर्मचारीहरु र व्यवस्थापनबीच अझै वार्ता हुन सकेको छैन ।
निगम सञ्चालक समितिले पब्लिक कम्पनीमा लैजाने निर्णय गरेसँगै त्यहाँका कर्मचारी संघ सगठनका प्रतिनिधिहरुले आन्दोलन र धर्ना दिँदै आएका छन् ।
बुधबार निगमले व्यवस्थापनले वार्ता समिति बनाएर आन्दोलनरत कर्मचारीहरुलाई वार्ताका लागि बोलाएको थियो । तर,कर्मचारी संघसंगठनहरुले भने वार्तामा बस्न अस्वीकार गर्दै आएका छन् ।
वार्ता बहिस्कार गरेका कर्मचारीहरुले बिहिबार कार्यालयमा पुगेका महाप्रवन्धक डिमप्रकाश पौडेल विरुद्ध नाराबाजी गरेका छन् ।
महाप्रवन्धक पौडेलको कार्यकक्ष बाहिर कर्मचारीहरुले नाराबाजी समेत गरेका थिए । उनि कार्यालय बाहिर निस्कने क्रममा कर्मचारीहरुले
होहल्ला गरेका थिए भने प्रहरीले भिडलाई नियन्त्रण गरेका थिए । प्रहरीको सहायतामा कार्यालयबाट महाप्रवन्धक पौडेल बाहिर निस्किएका थिए ।
महाप्रवन्धक पौडेलले अहिलेकै अवस्थामा निगमलाई पब्लिक कम्पनीमा लैजाने विषय नै नभएको बताउदै आएका छन् ।
पुँजी बृद्धि नभएसम्म पब्लिकमा लैजाने विषय नै नभएको र प्रारम्भिक छलफललाई नै ठूलो विषय बनाएर कर्मचारीहरुले आन्दोलन गरेको उनको भनाई छ ।
आन्दोलनमा उत्रिएका कर्मचारीहरुसँग वार्ताको प्रयास भइरहेको बताउँदै केहि दिन भित्रै सबै समस्या समधान हुने बताए । आफु पनि कर्मचारीहरुकै पक्षमा रहेकोले कर्मचारीको हितविपरित कुनै निर्णय नहुने उनले बताए ।