काठमाडौं । पछिल्लो समय व्यावसायिक कृषिमा लाग्ने युवाहरूको संख्या बढ्दो छ । वैदेशिक रोजगारीबाट फर्किएकाहरू होस या नेपालमै केही गर्छु भनेर लाग्ने युवाहरूको पहिलो रोजाइ कृषितर्फ देखिन थालेको छ ।
सरकारले पनि कृषिलाई विशेष प्राथमिकता दिइरहेको बेला जनप्रतिनिधिहरू पनि त्यसतर्फ आकर्षित भएको देखिन्छ । अहिले धेरै जनप्रतिनिधिहरू कुनै न कुनै पेशामा आबद्ध भएको पाइन्छ । यसले गर्दा नेपाली राजनीतिक दल प्रति जनताले हेर्ने नजरमा केही फरक हुँदै जाने अपेक्षा गर्न सकिन्छ ।
राजनीतिसँगै कृषि पेशालाई अँगाल्ने मध्येका एक हुन् गुल्मीको मालिका गाउँपालिका–४ का सदस्य वसन्त अर्याल । उनले ७ महिनादेखि २३ लाख रुपैयाँ लागतमा आफ्नै गाउँको अर्खबाङ्मा ‘मालिका कालिज तथा पशुपन्छी फार्म’ सञ्चालन गरेका छन् ।
त्यसो त यसअघि पनि इलेक्ट्रोनिक पसल सञ्चालन गर्दै आएका उनी विस्तारै कृषि कर्ममा होमिएका हुन् । व्यवस्थापन संकाय पढेका अर्याल २०७४ सालको चुनावमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
उनले भने, ‘राजनीति गरेर मात्रै जीविका चलाउन सम्भव नहुने भएपछि केही व्यवसाय गर्नुपर्छ भन्ने लाग्थ्यो, अरू युवा जसरी बिदेसिने रहर र आवश्यकता पनि थिएन ।’ उनले आफ्नै करिब ६ रोपनी जग्गामा कालिज पालन गर्दै आएका छन् ।
उनको फार्ममा हाल करिब ५ सय कालिज, २ सय लोकल कुखुरा, १–१ सयवटा बट्टाई र कडकनाथ तथा लौकाठ छन् । कालिजसँगै अन्य पन्छी पाल्नुको कारणबारे बताउँदै अर्याल भन्छन्, ‘कालिजको उत्पादन तत्काल लिन सकिँदैन त्यसैले अरू पनि पाल्दै गरौं भनेर हो । व्यवसाय भने कालिज पालनमा नै केन्द्रित हुनेछु ।’
हालसम्म उनले फार्ममा काम गर्नका लागि मान्छे रोखेका छैनन् । यद्यपि निकट भविष्यमा नै व्यवसाय विस्तार गरेर स्थानीयवासीलाई रोजगारीको अवसर सिर्जना गर्ने उनको योजना छ ।
कालिज विशेष गरी जंगलमा बस्ने पन्छी हो । नयाँ प्रजाती तथा दानापानी दिन पनि सहज हुने भएर उनले कालिज पालनलाई रोजेका हुन् । वसन्तका अनुसार, एउटा कुखुराले खाने चारो तीनवटा कालिजलाई पुग्छ । कालिज बाहिरी वातावरणमा रमाउने भएकाले चर्ने, उड्ने तथा हरियो घाँस र कीरा÷फट्याङ्ग्रा खान रुचाउँछ । साथै खोर सफाइ पनि धेरै गर्नु नपर्ने भएकाले कालिज पालनमा उनको आकर्षण बढेको हो ।
धेरै ठूलो नभई कालिजको तौल डेढदेखि दुई किलोसम्म हुन्छ । तर, बेच्नका लागि भने किलोमा जोखेरभन्दा पनि संख्यालाई आधार मानिने भएकाले उनले यो वर्ष प्रतिगोटा कालिजको मूल्य ३५ सयदेखि ४ हजार रुपैयाँसम्म लिने सोच बनाएका छन् ।
यसरी हेर्दा कुखुरा, बट्टाईको तुलनामा कालिज पाल्न सजिलो र आम्दानी बढी लिन सकिन्छ । बढी खुला ठाउँ भएको क्षेत्रमा कालिज पालन व्यवसाय गर्न उपयुक्त हुने अर्याल बताउँछन् ।
उनले कालिज पालनबारे कुनै तालिम लिएका थिएनन् तर आर्थिक अवस्था सुधार गर्नका लागि व्यवसाय सञ्चालन गर्ने रहर उनले पूरा गरेरै छाड्ने निधो गरे ।
इन्टरनेटमा खोजेर कालिज पालनबारे बुझ्न थाले । साथै फार्म सञ्चालन भएका ठाउँमा पुगेर तथा कालिज पालन गरेका र त्यसबारे जानकारी भएका व्यक्तिसँग परामर्श गरेर व्यवसाय सञ्चालन सुरु गरेका हुन् ।
‘कालिजका बारेमा जानेर मैले व्यवसाय सुरु गरेको होइन, आफ्नो जीविका चलाउन तथा जनप्रतिनिधि भएपछि नेपालमा बसेर व्यवसाय गर्न अरूलाई पनि प्रेरणा मिलोस भनेर कृषि कर्मममा लागेको हुँ,’ उनले क्यापिटल नेपालसँग भने, ‘आफैं जनप्रतिनिधि भएपछि व्यक्तिगत लगानी वा ऋण खोजेर व्यवसाय सञ्चालन गरे पनि कुनै योजना पारेर काम गरेको होला भन्ने भ्रम जनमानसमा हुने रहेछ तर मैले कहीँबाट अनुदान तथा पैसा नलिइ कालिज पालन गरेको छु ।’
सुरुमा उनलाई वनका चरा पालेर कहिले प्रगति हुन्छ र ? भन्नेहरू अहिले भने राम्रो काम गरेको रहेछ भन्न थालेका छन् । उनलाई इलेक्ट्रिक पसल, कालिज फार्म तथा जनताको काममा अर्थात् राजनीतिलाई व्यवस्थापन गर्न भने समयको अभाव भएको छ ।
तर, सबै क्षेत्र रहरसँगै आवश्यकताले अङ्गालेको भएर दुःख, अप्ठ्यारो मान्न नहुने उनको तर्क छ । अर्याल भन्छन्, ‘बिहान बेलुका पसल तथा दिउँसो जनताको सेवामा हिँड्छु, फार्ममा भने श्रीमती र बुबाले बढी समय दिनु भएकाले म बाहिर नै हुन्छु ।’
अहिलेसम्म अर्यालले कालिजबाट कुनै पनि फाइदा लिन सकेका छैनन् । दसैंको समयमा भने कालिज बेच्ने उनको योजना छ । उनका अनुसार, गुल्मी, बागलुङ, पाल्पा, अर्घाखाँची, बुटवललगायतका बजारमा कालिजको बिक्री गर्न सकिने उनले बताए ।
उनले व्यवसाय सञ्चालन गरेदेखि कुखुरा करिब ३ हजारवटा बिक्री गरिसकेका छन् भने बट्टाईको अण्डा दैनिक तीन क्रेट बेच्दै आएका छन् । उनले फार्म सञ्चालन गर्नका लागि काठमाडौं, रुपन्देहीबाट चल्ला लगेका हुन् ।
साथै ४ हजारसम्म चल्ला उत्पादन गरेर चल्ला पनि बेच्ने सोच रहेको उनले बताए । अर्यालले चल्ला उत्पादन गर्नका लागि ह्याचरी मेसिनसमेत खरिद गरेका छन् ।