काठमाडौं । हुलाकी राजमार्गअन्र्तगत योजना कार्यालय धनुषाअन्तर्गतको कमला पुल विगत ८ वर्षभित्र अलपत्र परेको छ । पुलको मुख्य निर्माण व्यवसायी पप्पु र लुम्बिनी कन्ट्रक्सन जेभी रहेपनि अहिलेसम्म पुल निर्माणमा प्रगति हुन सकेको छैन ।
२०६८ जेठ ३१ गते ठेक्का सम्झौता भई अघि बढेको पुल पटकपटक म्याद थपेर पनि पप्पु कन्ट्रक्सन कम्पनीले अलपत्र छाडेको हो । पछिल्लो पटक थपिएको म्याद २०७५ पुसमा सम्पन्न गर्नुपर्ने सम्झौता थियो । तर, निर्माण कार्य अलपत्र पारी निर्माण व्यवसायी सम्पर्कमा नआएको सडक विभागले जनाएको छ ।
कमला पुलको हालसम्म ५५ प्रतिशत मात्रै भौतिक प्रगति छ । बाँकी निर्माण कार्य सम्पन्न गर्न प्रभावकारी कदम नचाली अतिरिक्त मोबिलाइजेशन पेश्कीबापत बाँकी रहेको रकमको पेश्की जमानतको म्याद थप गरी पेश गर्न पत्राचार गरिएपनि अटेर गरेको हुलाकी राजमार्ग योजना कार्यालय धनुषाले जनाएको छ ।
पेश्की रकम फछ्र्योट गर्न भनी पटकपटक पत्राचार गर्दा समेत अटेर गरेको र कागजात पेश गर्दा अग्रीम भुक्तानी ग्यारेन्टी पेश नगरेको आयोजनाले जनाएको छ ।
आयोजनालाई लामो समयदेखि अलपत्र पार्ने र प्रक्रिया पूरा नगरेको भन्दै आयोजनाले पप्पुसँगको ठेक्का सम्झौता तोड्ने जनाएको छ । एक हप्ताभित्र ठेक्का अन्त्य गर्नु नपर्ने गरी कुनै कारण निर्माण कम्पनीले पेश नगरेमा ठेक्का सम्झौता अन्त्य गरिने हुलाकी राजमार्ग आयोजना प्रमुख अशोक तिवारीले बताए ।
कमला पुल मात्र नभई हुलाकी राजमार्गअन्तर्गत अन्य विभिन्न क्षेत्रमा ६ ओटा पुल पप्पुकै कारण अलपत्र छन् । लामो समयदेखि पेश्की लिने र आयोजना सम्पन्न नगर्ने पप्पुलाई सरकारले कालोसूचीमा समेत राखेको छ ।
सरकारले बहुवर्षे ठेक्का र रुग्ण आयोजना सम्पन्न गर्न १ वर्षको थप म्याद दिएको छ । तर, प्राविधिक रुपले अघि बढ्न नसक्ने भएपछि कमला पुलबाट पप्पुसँगको ठेक्का तोड्न लागिएको तिवारीले बताए ।
पप्पुले हुलाकी राजमार्गअन्र्तगत, बलान पुल, कन्काई पुल, दानवखोला पुल, तिनाउखोला पुल र तिलावे पुलमा समेत ठेक्का लिएर अलपत्र पारेको छ । ती पुलबाट पनि पप्पुको ठेक्का सम्झौता तोड्ने चरणमा रहेको तिवारीले जानकारी दिए ।