काठमाडौं । ‘टोकरी’ भन्ने बित्तिकै धेरैलाई आफ्नो गाउँघरको याद आउँछ । गाउँघरमा प्रयोग हुने टोकरी पछिल्लो समय लोप हुँदै गएको छ । तर, सहरमा गाउँघरमा प्रयोग हुने विभिन्न ‘टिपिकल’ सामग्रीहरूको नामबाट व्यापार व्यवसाय सञ्चालन हुन थालेको छ । जसको कारण लोपोन्मुख हुँदै गएको सामग्रीहरूको प्रचार प्रसारले तीव्रता पाएको हुन्छ ।
त्यस्तै मौलिक नामलाई लिएर व्यवसाय विस्तार गर्ने मध्येका एक हुन् सागर पौडेल । ३० वर्षे सागरले अहिले काठमाडौंको टोखा नगरपालिकामा हाल धापासी हाइटमा ‘टोकरी बेकरी’ सञ्चालनमा ल्याएका छन् । विशेष गरेर जन्मदिनमा काटिदै आएको केक पछिल्लो समय हरेक सेलिब्रेसनमा अनिवार्य जस्तै भएको छ ।
सागरले चार वर्षदेखि टोकरी बेकरी सञ्चालन गर्दै आएका छन् । बेकरी पारखीहरूलाई लक्षित गरी उनीसहित चार जना युवाहरू मिलेर सुरु गरेको व्यवसायले अहिले रफ्तार लिइरहेको छ ।
व्यवस्थापन संकायमा स्नातकोत्तर तह उर्तिण गरेका उनी बिहान कलेज पढाउने र दिउँसो व्यवसायलाई समय दिने गर्छन् । ३० लाख रुपैयाँ लगानीमा २०७४ सालबाट सुरु गरेको टोकरी बेकरीको बुटवलमा समेत शाखा सञ्चालनमा रहेको छ ।
बुटवलको होराइजन चोकमा रेष्टुराँसहित ८० लाखको लागतमा शाखा विस्तार गरेका हुन् । बुटवलको बेकरी भने सागरका भिनाजु लक्ष्मण ज्ञवालीको जिम्मेवारीमा रहेको छ ।
सागरका अनुसार पैसा भएर बेकरी सञ्चालन गरेका होइनन् । व्यवसायी बन्ने सपना बुनेका उनीहरूलाई पैसाको अभावले आफ्नो योजना मर्न दिएन र ऋण लिएर बेकरी सञ्चालन गरे ।
उनले बैंकबाट १५ लाख रुपैयाँ कम्पनीको नाममा ऋण लिएका छन् । अन्य रकम आ–आफूले व्यक्तिगत ऋणबाट लगानी गरेर व्यवसाय सुरु भएको हो । हाल बेकरीबाट आएको पैसाले मासिक रूपमा बैंक तथा व्यक्तिगत ऋण तिर्दै आएका छन् ।
उनीहरूको वर्षमा एउटा–एउटा शाखा विस्तार गर्दै देशभरी पुग्ने योजना रहे पनि कोरोनाको कारण शाखा विस्तारको कार्य भने अगाडि बढाउन नसकेको पौडेल बताउँछन् । स्थिति सहज भएपछि सो कार्यलाई निरन्तरता दिने र अबको शाखा विस्तार पहिला काठमाडौंमा गर्ने उनको भनाइ छ ।
कोरोना भाइरसको संक्रमण पहिला काठमाडौंमा ७ र बुटवलमा ११ जना गरी जम्मा १८ जनालाई रोजगारी दिँदै आएको टोकरी बेकरीले अहिले भने सीमित व्यक्तिलाई मात्रै रोजगारी दिन सकेको छ ।
‘केही गरौं भन्ने सोच्दा सोच्दै घरमा प्रयोग भइरहने केकलाई आफूले नै बनाउने सोचेर व्यवसाय सञ्चालन गरेका हौं । मलाई केही पनि ज्ञान थिएन, दिदीलाई भने अलिअलि आइडिया थियो ।’ उनले भने, ‘हामीलाई व्यवसायको नाममा मौलिकता र आकर्षक होस् भन्ने लागेर छलफल गर्दा गर्दै ‘टोकरी बेकरी’ नाम राख्ने निष्कर्षमा पुगेका हौं ।’
हाल बजारमा केकका लागि मुख्य चुनौती मूल्यमा रहेको उनको भनाइ छ । नेपाली बजारका केकको गुणस्तरभन्दा बढी मूल्यमा प्रतिस्पर्धा हुने सागरले बताए ।
सागर भन्छन्, ‘स्थापित भएका सीमित बेकरीले गुणस्तरसँगै मूल्य बढी राखे पनि नयाँ बेकरीले गुणस्तर बढाएर मूल्य बढी लिन्छु भन्न सक्ने अवस्था छैन ।’ साथै लकडाउन पछि बेकरी खोल्नेको संख्या बढेको र फेरि निषेधाज्ञाको कारण बन्द भएको उनले बताए ।
टोकरी बेकरीमा अनलाइन अर्डर बढी मात्रामा आउने गर्छ । व्यवसायको सुरुवाती चरणभन्दा कोरोनाको संक्रमण नेपाल भित्रिएसँगै अनलाइन अर्डर गर्नेको संख्या उल्लेख्य मात्रामा बढेको सागर बताउँछन् ।
पौडेलले भने, ‘अहिले हाम्रोमा नजिकबाट पनि फोन गरेर अर्डर गर्ने गर्छन्, अलि टाढाबाट अनलाइनमार्फत नै अर्डर आउँछ । हामीले सकेसम्म केकको फोटो तथा डिजाइन ह्वाट्स एप, भाइबर तथा फेसबुकबाट पठाउछौं त्यसले गर्दा ग्राहकलाई सजिलो हुुन्छ ।’ दैनिकजसो ३० पाउण्डभन्दा बढीको अर्डर आउने उनले बताए ।
पहिला धेरैजसो केक बर्थडे (जन्मदिन)का लागि अर्डर आउने भए पनि पछिल्लो समय हरेक कार्यमा केकको माग बढेको सागरको अनुभव छ । अहिले विवाह, व्रतबन्ध, जन्मदिन, पास्नी, साथी तथा घरपरिवार भेटघाटलगायत कुनै पनि खुसीका कार्यक्रममा केकको प्रयोग अनिवार्य जस्तै भएको छ । केकको प्रयोग बढ्दा व्यवसायीलाई भने सकारात्मक प्रभाव परेको उनको भनाइ छ ।
ग्राहकले टोकरी बेकरीको फेसबुक पेजबाट अर्डर गर्न सक्छन् । साथै बेकरीको वेवसाइड पनि बनाउने तयारी रहेको सागरले जानकारी दिए । हाल टोकरी बेकरी काठमाडौंबाट मात्रै मासिक ४ लाख रुपैयाँ बढीको कारोबार हुने उनले बताए ।
बेकरीबाट मुख्यतयाः केक बनाउने भए पनि ब्रेड (विभिन्न भेराइटीमा) कुकिज, पपलगयत ४५ प्रकारका वस्तु निर्माण हुन्छ । केक बनाउनका लागि मैदा र चिनी, क्रिमका प्रकार तथा अन्य केमिकलको प्रयोग हुने र सो वस्तु स्थानीय बजारबाट खरिद गर्ने उनले बताए ।
नयाँ व्यवसाय सञ्चालन गर्ने योजनामा रहेका वा उद्यमी बन्न चाहनेले ८/१० लाखदेखि सुरु गर्न सक्ने उनले बताए । सागर भन्छन्, ‘के कुरामा लगानी गर्ने भन्ने कुरा मुख्य हो, क्षेत्रदेखि डिजाइन लगायतको कुराले लागत मूल्य घटीबढी हुन सक्छ, हामीले जस्तो धेरै गर्नुपर्छ भन्ने हुँदैन ।’