विराटनगर । सरकारले लकडाउनलाई विस्तारै खुकुलो बनाउँदै लगे पनि पूर्वका उद्योगले आफ्नो उत्पादन क्षमता घटाएका छन् । उत्पादित वस्तुको माग ५० प्रतिशतभन्दा तल झरेपछि उद्योगीले क्षमता पनि घटाएका हुन् ।
‘उत्पादन गर्यो बजार छैन, गोदाममा कहिलेसम्म थन्क्याएर राख्नू,’ मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजालले भने, ‘त्यही भएर अधिकांश उद्योगले आफ्ना क्षमता नै घटाएका छन् ।
पहिलो चरणको कोरोना महामारीका बेला उत्पादित सामानको खपत बढी भए पनि दोस्रो लहरमा माग ह्वात्तै घटेको उनको भनाइ छ । दोस्रो कोरोना महामारीमा मानिसको आम्दानी नै खुम्चिएकाले पनि वस्तुको माग कम भएको भनाइ छ । ‘मानिसको आम्दानी छैन, अनि खर्च कटौती गर्नै पर्याे’ उनले भने, ‘आम्दानी नभएपछि आवश्यकतालाई मानिसले कटौती गर्दै लैजाँदा उत्पादित सामान बजारमा बिक्री भएन ।’
अहिले बजार खुलेको अवस्थामा पनि ५० प्रतिशत मात्र उत्पादन भइरहेको उनले बताए । रिजालका अनुसार निषेधाज्ञाको समयमा खाद्यान्न बाहेकका उद्योगहरू बन्द नै गर्नुपर्ने स्थिति थियो भने खाद्यान्न उद्योगले पनि ३० देखि ४० प्रतिशत मात्र उत्पादन गरिरहेका थिए ।
सरकारको विकास बजेट खर्च नभएका कारण पनि निर्माण सामग्रीको उत्पादन घटेको उपाध्यक्ष रिजालले बताए । होटलहरू सञ्चालन नहुँदा एलपी ग्यास उद्योगहरूले पनि ५० प्रतिशत मात्र उत्पादन गरिरहेको उनको भनाइ छ । उद्योगको उत्पादनमा कटौती हुँदा धेरै मजदुरहरूको रोजगारी गएको समेत उनले जानकारी दिए ।
काम गरिरहेका मजदुरलाई ५० प्रतिशत कटौती गरेर आधाले मात्र काम गरिरहेको उनको भनाइ छ । दोस्रो लहरका कारण सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरू बन्द हुने अवस्थामा पुगेका थिए । केही साना तथा मझौला उद्योगहरू त बन्द नै भएको अवस्था रहेको रिजालको भनाइ छ ।
बजार खस्केको अवस्था रहेको र सर्वसाधारणको रोजगारी गुमेका कारण पनि समस्या आएको उनले बताए । ‘सरकारले समयमा खोप ल्याएको भए पनि कोरोना महामारी केही हदसम्म कम हुन्थ्यो’, उनले भने, ‘सपिङ मल, सपिङ सेन्टरहरू खुल्थ्यो, निर्माणका कामहरू हुन्थ्यो र मजदुरले रोजगारी गुमाउनुपर्थेन ।’ यसले गर्दा अर्थतन्त्र खस्किने थिएन, उनले भने । उद्योगहरू लयमा फर्किन अझै समय लाग्ने उनले बताए ।
रिजाल ग्रपले रिजालको पोलीट्याङ्की, रिजालको ग्यास, मास्क, सेनिटाइजर, रिजालको पाइप उत्पादन गरिरहेको छ भने पीसीआर टेष्ट गर्ने पीसीआर ल्याब पनि सञ्चालन गरिरहेको छ ।
कोरोना महामारीको विषम् परिस्थितिमा खाद्यान्न उद्योग पनि २० देखि २५ प्रतिशतसम्म मात्र सञ्चालन भएको उद्योगी अविनास बोहोराले जानकारी दिए । ‘पूर्वको व्यापार क्षेत्र भनेको धरान, धनकुटा, पाँचथर, उदयपुर लगायतका सबै जिल्लामा सुनसरी मोरङ औद्योगिक करिडोरबाट सामान जाने भएकाले पूर्ण निषेधाज्ञाको समयमा त्यता सामान लैजान समस्या भएकाले पनि उत्पादन घटेको बोहोराले बताए । ट्रान्सपोटेसन खर्च बढी हुने भएकाले पनि मानिसले सामान खरिद गर्न सकेनन् ।
पसलहरू बन्द सामान मात्रै थुपारेर र आर्थिक भार धेरै हुने भएकाले व्यापारिले सामान कटौति गर्ने वित्तिकै उद्योगले उत्पादनमा कटौति गर्नुपर्ने अवस्था आएको बोहोराको भनाइ छ । ‘आर्थिक वर्षको अन्तिममा आएर बजार खुलेका छन्’, उनले भने, ‘मानिसलाई आर्थिक भार अहिले नै पर्छ, बैंकको ब्याजदेखि करसम्म चुक्ता गर्नुपर्ने हुन्छ, यो अवस्थामा उत्पादित सामान कमै बजारमा जाने भएकाले साउनदेखि उद्योगले लय लिने अवस्था सिर्जना हुनेछ ।’
साउनदेखि उद्योगले उत्पादन क्षमता बढाउँदै जाने छन् र अहिलेको अवस्थामा पिकअप हुँदै जाने विश्वास बोहोराको छ । देशलाई आवश्यक पर्ने दाल, चामल र तेललगायत खाद्यान्न उत्पादन गर्ने अधिकांश उद्योगहरू सुनसरी मोरङ औद्योगिक करिडोर भित्र नै सञ्चालनमा छन् ।
कोरोनाका कारण करिब ७५ प्रतिशत खाद्यान्न उद्योग बन्द भएका थिए भने बाँकी उद्योगहरू पनि २० प्रतिशत मात्र उत्पादन गरिरहेका थिए ।
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा सुनसरी मोरङ औद्योगिक करिडोरमा लामो समयदेखि खाद्यान्न उत्पादन गर्दै आएको बोहोरा ग्रुसमेत रहेका बोहोराका अनुसार सामान्य अवस्थामा सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालित खाद्यान्न उद्योगहरूले मागको करिब ६० प्रतिशत चामल, ६२ प्रतिशत दाल र ३५ प्रतिशत तेलको उत्पादन गर्ने गरेको थियो ।
औद्योगिक करिडोरभित्रका सबैभन्दा बढी मजदुर कार्यरत अरिहन्त मल्टिफाइवर्स र रघुपति जुट मिलले पनि ३० प्रतिशत मात्र मालवस्तु उत्पादन गर्दै आएको थियो । अहिले थोरै मात्र बढाएको उद्योगहरूले जानकारी दिएका छन् । तर, उद्योगहरू अझै लयमा फर्किसकेका छैनन् ।
सामान्य अवस्थामा करिडोरका उद्योगले दैनिक ५० करोडको सामग्री उत्पादन गर्दै आएका थिए । यसबाट दैनिक १५ करोड भन्सार र मासिक ३५ करोड अन्तःशुल्क, ११ करोड मूल्य अभिवृद्धि कर र २७ करोड आयकर पनि प्रभावित भएको छ । यस क्षेत्रका उद्योगमा सामान्य अवस्थामा ४५ हजारभन्दा बढी मजदुर कर्मचारीले रोजगारी पाएका थिए ।
हाल मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगले जुट, चाउचाउ, बिस्कुट, तेल, मैदा, रिफाइनरी तेल, छाला, जुत्ता, चप्पल, धागो, साबुन, वायर, रड, स्टिल, कर्कट पाता, प्लास्टिकका सामान, सिमेन्ट, दाना, बिजुलीको तार, जीआई पाइप, चामललगायत वस्तु उत्पादन गर्दै आएका छन् ।