पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले महिला सहभागिताबाट मात्र आर्थिक रूपान्तरण सम्भव हुने बताइन् ।
पोखराका महिला पर्यटन व्यवसायी मञ्च(ओटेफ)का टोलीसँगको भेटघाट कार्यक्रममा उनले पोखरा प्रसिद्ध पर्यटकीय नगरी भएको जनाउँदै यसको दिगो विकास लागि महिला पर्यटन व्यवसायीको सहभागिता पनि अपरिहार्य रहेको जनाइन् ।
उनले गण्डकी प्रदेश पर्यटनका लागि उत्कृष्ट गन्तव्य भएकाले यहाँको प्राकृतिक, सांस्कृतिक र सामाजिक पक्षलाई उचित व्यवस्थापन गर्दै जनसहभागितामूलक र दिगो विकासका लागि नयाँ सोचको आवश्यकता रहेको बताइन् ।
पर्यटन क्षेत्रमा महिला संगठित भएर अगाडि बढ्नु निकै सकारात्मक र उदाहरणीय भएको जनाउँदै महिलाको श्रमको मूल्याकंन नभएसम्म महिला सशक्तीकरण सम्भव नहुने धारणा राखे ।
“महिला बिहानदेखि बेलुकासम्म श्रममा खटिन्छन्, तर श्रमको मूल्यांकन हुनसकेको छैन, श्रमको मूल्यांकन नभएसम्म महिलाको सम्मान पनि हुँदैन,” उनले भनिन् । उनले पछिल्लो समय हरेक क्षेत्रमा महिला सशक्त भएर अघि बढे पनि कार्यकारी र नेतृत्व तहमा महिलाको सहभागिता अझै न्यून रहेको बताइन् ।
एकतामा नै शक्ति हुने भएकाले पर्यटन क्षेत्रका साझा समस्या समाधानका लागि पनि संगठिन र एकीकृत आवाज लिएर अघि बढ्न उनले सुझाव दिए । प्रदेशको राजधानी पोखराको पर्यटन विकासका लागि आफ्नो तर्फबाट पनि पहल गर्ने बताए ।
भेटघाट कार्यक्रममा संस्थाका अध्यक्ष पार्वती पाण्डेले कोभिड¬–१९ ले पर्यटन क्षेत्रममा पारेको प्रभाव, मौद्रिक नीतिको कार्यान्वयनमा देखिएको जटिलता र खोप सुनिश्चिता नभएसम्म व्यवसाय सञ्चालन गर्न सहज नभएको विषयमा जानकारी गराएकी थिइन् ।
संस्थाका संस्थापक अध्यक्ष जमुना पराजुली संस्था स्पापनाको उद्देश्य र संस्थागत रूपमा गरेका कार्यहरुको बारेमा प्रदेश प्रमुखलाई जानकारी गराइन् ।
संस्थाका सल्लाहकार देवका पहारी, दुर्गा ढकाल, नर्मला कँडेल, उपाध्यक्ष उमा भण्डारी, सदस्य शर्मिला न्यौपाने लगायतले पर्यटन क्षेत्रमा महिला सहभागिताको अवस्था, व्यवसाय सञ्चालनमा कठिनाइ, बैंक तथा वित्तीय संस्थाबाट महिलाले कर्जा लिन भोग्नु परेका झञ्झट लगायतका विषयमा जानकारी गराएकी थिइन् ।