काठमाडौं । साउन १ गतेदेखि अवैध रूपमा नेपाल भित्रेर आईएमईआई नम्बर दर्ता नभएका मोबाइल फोनहरू नचल्ने भएका छन् ।
अवैध रूपमा भित्रिएर ग्रे मार्केटमा खरिद गरेका मोबाइल तथा विदेशबाट आफन्तले ल्याएका कुनै पनि मोबाइल सेटहरू आईएमईआई नम्बर दर्ता नगरेसम्म नचल्ने नेपाल दूरसञ्चार प्राधिकरणले बताएको हो ।
त्यसरी भित्रिएर प्राधिकरणमा आईएमईआई नम्बर दर्ता नभएका फोनहरूमा कुनै पनि टेलिकम सेवा प्रदायकको सिम वा नेटवर्क सेवा नचल्ने प्राधिकरणका निर्देशक तथा प्रवक्ता सन्तोष पौडेलले बताए ।
नेपालमा आधिकारिक रूपमा मोबाइल फोन भित्राइरहेका वितरकहरूबाट लिइएका फोनहरूको आईएमईआई नम्बर भने खरिद गर्न अघि नै दर्ता भइसकेका हुन्छन् ।
साउन १ गतेभन्दा अगाडिदेखि आईएमईआई नम्बर दर्ता नभई चलिरहेका जुनसुकै मोबाइल फोनमा भने पछिल्लो प्रावधानले केही असर नगर्ने प्राधिकरणले बताएको छ ।
मोबाइलको अवैध तथा ग्रे मार्केट नियन्त्रण गरी सबैलाई करको दायरमा ल्याउन नेपाल दूरसञ्चार प्राधिकरणले आगामी साउन १ गतेदेखि नेपालमा एमडीएमएस अर्थात् मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गर्न लागेको हो ।
तर, साउन १ गतेपछि उपहार स्वरूपमा विदेशबाट आएका मोबाइल फोनहरू प्रयोग गर्नु परेको खण्डमा प्रत्येक व्यक्तिले आफ्नो फोनको आईएमईआई नम्बर दर्ता आफैंले गराउनुपर्ने प्रवक्ता पौडेले बताए ।
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा पनि अर्थमन्त्री विष्णु पौडेले आईएमईआई नम्बर दर्ता नभएका फोनहरू साउन १ गतेदेखि बन्द हुने घोषणा गरेका थिए ।