काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट सोमबार ७६ मेगावाट बिजुली उत्पादन भएको छ । पटक–पटक विद्युत् उत्पादनको भाखा सार्दै आइरहे पनि सोमबार भने त्यसले अन्तिम रुप पाउँदै पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् प्रसारण लाइनमा जोडिएको छ ।
यद्यपी अझै ५ वटा युनिट सञ्चालमा आउन बाँकी छ । दोस्रो युनिट पनि असारभित्रै सञ्चालनमा आउने जानकारी आयोजनाले दिएको छ । बाँकी युनिटहरु क्रमशः सञ्चालनमा आउने र असोजदेखि आयोजन पूर्ण क्षमतामा चल्ने कार्यतालिका तय भएको छ ।
पटक पटक मिति तोक्ने र त्यसलाई पछि सार्ने खेल सोमबारबाट अन्त्य बनाउन प्राधिकरणको हालको नेतृत्वले के के प्रयास गर्यो ? कसरी असारमा आएर बिजुली उत्पादन गर्न सम्भव बन्यो ? यो बीचमा के–के अवरोधलाई हटाइयो ? आयोजना सञ्चालनमा ल्याउन पुसयता के कस्ता नीतिगत निर्णयहरु भए, जसले तामाकोसी आयोजना सम्पन्न गरायो ? त्यही विषयमा चर्चा गर्छौ ।
पाँच वर्षभित्र सम्पन्न गर्ने गरी आयोजना निर्माणको काम थालनी भएको थियो । तर, आयोजना सम्पन्न हुन ठ्याक्कै १० वर्ष लाग्यो । सुरुवातमा जुन लागतमा आयोजना बन्छ (३५ अर्ब २९) भनिएको थियो, त्यसको दोब्बर पुग्यो ।
समय दोब्बरसँग लागत दोब्बर भन्दा बढी पुगिसक्दा पनि आयोजना कहिले सकिने हो भन्ने सबैमा अन्यौलता थियो । यही बीचमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भए । सुरुमा निमित्त पाएका शाक्यलाई पछि सरकारले कार्यकारी निर्देशक बनायो ।
हितेन्द्र कार्यकारी निर्देशक भएर आएपछि उनको सबैभन्दा पहिलो ध्यान माथिल्लो तामाकोसी आयोजनामा गयो । त्यसअघिसम्म उनले कुनै चासो लिएका थिएनन् । लिने कुरा पनि भएन । कार्यकारी निर्देशक शाक्य अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष पनि हुन् । आयोजनामा विद्युत प्राधिकरणको ४१ प्रतिशत स्वामित्व छ ।
हितेन्द्र कार्यकारी निर्देशक हुनुभन्दा पहिल्यै तामाकोसी आयोजना सम्पन्न भइसक्नुपर्ने हो । तर, त्यो आयोजनालाई समयमै सम्पन्न गर्ने बित्तिकै धेरैको मागिखाने भाडो नै गुम्ने खतरा थियो, त्यही भएर माथिल्लो तामकोसीको नेतृत्वदेखि, प्राधिकरणको तत्कालीन नेतृत्वसम्म द्रूत गतिमा बनाउने पक्षमा थिएन ।
सामान्य नीतिगत निर्णय नगरेर तामाकोसी आयोजनाको लागत र समय बढिरहेको थियो । पुसयता भएका ४ निर्णय
१) खिम्ति सवस्टेसन र प्रशारण लाइन पूरा हुनुपर्ने
शाक्यले कार्यकारी निर्देशकको जिम्मेवारी पाएदेखि नै खिम्ति सवस्टेसन निर्माणमा देखिएका समस्या सल्ट्याउन लागिपरेका थिए । त्यसैगरी मल्टिसर्किट टावरमा तार तान्ने काम अवरुद्ध थियो । त्यहाँ स्थानीहरुले अवरोध गरिरहेका थिए । सडकको छेउमा जग्गा परेकाले स्थानीहरुले कुनै पनि हालतमा नदिने भनेपछि प्रशारण लाइनको काम रोकिएको थियो ।
सडकको जग्गालाई तामाकोसीले आफ्नो प्रयोगका लागि स्टोरेज यार्ड बनाउनका लागि ३ रोपनी खरिद गर्दा हुन्छ भनेर तामाकोसीबाट शाक्यले निर्णय गराए । जुन निर्णयका कारण बर्षौदेखि अबरुद्ध भएको प्रशारण लाइनको काम सुचारु भयो । त्यसपछि तामाकोसीको बिजुली खिम्ति छिर्ने बाटो खुल्यो ।
तार तान्न ढिलाई भएका कारणले गर्दा सोमबार मात्रै बिजुली प्रसारण लाइनमा जोडियो । मल्टिसर्किट टावरमा तार तान्नका लागि अहिलेसम्म सम्भव भएको थिए ।
२) तामाकोसीको ढलेको टावरको रिडिजाइनको निर्णय
तामाकोसीको ४० नम्बर टावर ढल्किएको थियो । गौंगरबाट खिम्ति लैजाने प्रशारण लाइनको टावर मध्ये एउटा ढल्किँदा सम्पूर्ण काम नै अवरुद्ध भएको थियो । त्यसले गर्दा प्रशारण लाइन नबनेर आयोजान नै ढिलो हुने अवस्था थियो । त्यसको रिडिजाइनका लागि एनईए इन्जिनियरिङ मार्फत तत्कालै नयाँ डिजाइन गर्न लगाएर त्यसको समाधान निकाल्न लगाएर नयाँ टावर खडा गरेपछि प्रशारण लाइनको काम अघि बढ्यो ।
त्यसमा यदि प्राधिरकणले बाहिरका परामर्शदाता खोजेर नयाँ टावर बनाउन लागेको भए अहिलेसम्म त्यो काम सकिने थिएन । प्राधिकरणको इन्जिनियरिङले गर्न सक्छ भनेर बोल्ड निर्णय लिएकाले यो सम्भव भएको हो ।
३) पेनस्टकको समाधानमा गरिएको निर्णय
मेटल होरिजेन्टल पेनस्टकको ‘एक्पान्सन जोएन्ट’ बनाउन सकिँदैन भन्ने देखियो । त्यसलाई हटाऊँ । यो नहुँदा पनि हुन्छ भनेर डिजाइन परिवर्तन गर्ने अर्को निर्णय गरियो ।
तामाकोसीको अध्यक्षका नाताले शाक्यले सही निर्णय गरेर परामर्शदातमार्फत सदर गराइयो । परामर्शदातालाई सहमत गराएर अघि बढेपछि पेनस्टकमा देखिएको समस्या समाधान भयो । त्यो बेला शाक्यले जोखिम मोलेर नयाँ डिजाइन गर्ने निर्णय नगरेको भए तामाकोसीबाट विजुली बल्न अर्को ५ महिना ढिला हुन्थ्यो ।
४) प्राधिकरणका प्राविधिकको मनिटरिङ
‘वेल्डिङमा’ काम गर्ने बेलामा प्राधिकरणबाट पटक पटक गएर कामको गतिलाई नजिकबाट नियालिएको थियो । त्यति मात्रै होइन्, तामाकोसीमा देखिएको प्राविधिक समस्याहरुलाई हल गर्न प्राधिकरणबाट विज्ञहरु पठाइएको थियो । कम्पनीका परामर्शदाताहरुलाई समेत सुझाव दिइरहने काम भएको थियो ।
५) गेटको समस्या
सुरुङ भरेर पानी भर्न थाल्दा गेटमा समस्या आयो । त्यतिखेर गेटमा देखिएको समस्या पनि परामर्शदाता र ठेकेदारको गतल डिजाइन पत्ता लगाउन नसकेको अवस्था थियो । त्यो बेला प्राधिकरणबाट अनुभवी इन्जिनियरहरु कालिगण्डकी जलविद्युत् आयोजनाका अनुभवी इन्जिनियर पशुपति गौतम र त्रिशूलीको बाबुराजा महर्जनलाई माथिल्लो तामकोसी आयोजनास्थल पठाइयो । उनीहरुले सहयोगपछि गेटमा देखिएको समस्या समाधान भयो र त्यसले पनि आयोजनाबाट बिजुली निकाल्न यतिचाडै सम्भव भएको हो ।
यदि परामर्शदाताले ठेकेदारलाई भन्ने ठेकेदारले परामर्शदाताको मुख ताकेर बसेको अवस्था हुन्थ्यो भने अहिलेसम्म त्यो समस्या समधान हुने थिएन ।
त्यसका अलवा प्रधानमन्त्री केपी शर्मा ओलीले नै तामाकोसी आयोजनामा भइरहेको ढिलासुस्तीका बारेमा चासो लिएपछि र प्राधिकरणले गरेको नीतिगत निर्णयबाट मात्रै यति छिटो आयोजना बन्न सम्भव भएको हो । प्रधानमन्त्री ओलीले तामाकोसीको बारेमा चासो लिएपछि प्राधिकरणका कार्यकारी निर्देशकले हरेक दिन तामाकोसीको प्रगतिको विवरण लिने र मनिटरिङ गरेका थिए ।