काठमाडौं । नेपाल वायुसेवा निगमको पुनरसंरचना गरी व्यवसायिक एवं प्रतिस्पर्धी बनाउने सरकारी योजना विरुद्ध कर्मचारीहरु आन्दोलित भएका छन् ।
निगमको पुँजी वृद्धि गरि साझेदारी भित्र्याउने सरकारी तयारीअनुसार सञ्चालक समितिले पब्लिक कम्पनीमा रुपान्तरण गर्न आवश्यक प्रबन्धपत्र र नियमावली मस्यौदा तयार गरी सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालमा पठाएसँगै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।
सञ्चालक समितिले निगमलाई पब्लिक कम्पनीमा लैजान लागेको भन्दै निर्णय फिर्ता गराउन शुक्रबारदेखि त्यहाँ कार्यरत कर्मचारीहरुका संघसंगठनहरु आन्दोलनमा उत्रिएका हुन् । कर्मचारीहरुले महाप्रवन्धक र निर्देशकहरुको कार्यकक्षमा ताला लगाएका छन् ।
आगामी आर्थिक वर्ष ०७८/०७९ को बजेट मार्फतनै निगमलाई प्रतिस्पर्धी बनाउन संगठन पुनरसंरचना गरी साझेदारी भित्र्याउने घोषणा भएको थियो । त्यहि अनुरुप अर्थ मन्त्रालयले निगमलाई संगठन सुधारका लागि विभिन्न विकल्पको अध्ययन गरि पेश गर्न निर्देशन जारी गरेको थियो ।
अर्थको निर्देशनपछि निगम सञ्चालक समितिले किशोर प्रधानको संयोजकत्वमा तीन सदस्य उपसमिति बनाएर पब्लिक कम्पनीमा लैजान सकिने विषय पनि उल्लेख गरिएको थियो ।
यदी कम्पनी मोडलमा सञ्चालन गर्नुपर्ने अवस्थामा प्रयोग हुने प्रबन्धपत्र नियमावलीको ढाँचा तयार गरी मन्त्रालयमा पेश गरेसँगै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । उनिहरुले निगमलाई कम्पनी मोडलमा लैजान नपाउने र संस्थानकै रुपमा राख्नु पर्ने मागहरु अघि सार्दै आएका छन् ।
निगमका प्रवक्ता करिष्मा श्रेष्ठले निगमलाई सार्वजनिक संस्थानकै अस्तित्वमा कायम राख्नुपर्ने कर्मचारीको माग रहेको बताइन ।
सार्वजनिक संस्थानका रुपमा निगमको अस्तित्व मेट्न पाइँदैन, निगम बचाउनुपर्छ र यसको संरचना पुनरसंरचना गर्ने क्रममा अनेक विकल्पमा छलफल गर्नुपर्ने कर्मचारीको माग रहेको उनको भनाइ छ । महाप्रवन्धक र निर्देशकहरुको कार्यकक्षमा लगाएको ताला खोल्नका लागि विभिन्न संघसंगठनहरुसँग छलफल भइरहेको समेत उनले जानकारी दिइन ।
महाप्रवन्धक डिमप्रकाश पौडेलले निगमलाई निजीकरण, कम्पनीकरण गर्न नखोजिएको बताए । ‘निगम सुधारका लागि विकल्पहरु मध्ये कम्पनी मोडलको विषयमा पनि छलफल भएको हो, सरकारले चाहेमा यस्ता निर्णयहरु गर्न सक्छ, महाप्रवन्धक पौडेलले भने,त्यस्तो बेलामा हामीले केहि गर्न सक्दैनौं ’ ।
‘निगम अहिले जुन अवस्थाबाट गुज्रेको छ, यसरी यही तरिकाबाट कुनै पनि हालतमा चल्न नसक्ने भएकोले धेरै विकल्पमध्ये कम्पनी मोडल संसारमा अहिलेसम्मको प्रचलित मोडल हो’,उनले भने ।
तर, ‘अहिलेको जस्तो न्युन पूँजी र अत्यधिक कर्जा लिएर कुनै पनि हातलमा कम्पनी मोडलमा जानु हुदैन । पहिला कर्जा तिर्नुपर्छ सम्पत्ति थप गर्नुपर्छ, पर्याप्त सेयर पुँजी बनाउनुपर्छ । रणनैतिक योजना बनाउनुपर्छ अनि मात्र कम्पनी मोडलमा जानुपर्छ,’ महाप्रवन्धक पौडेलले सामाजिक सञ्जाल फेसबुकमा स्पष्टिकरण लेखेको छन् ।
‘नेपाली श्रम, सीप र योग्यताको विकासका लागि सुरुका केही बर्षमा विदेशी ख्याति प्राप्त वायुसेवा कम्पनीसँग रणनैतिक साझेदारी गरिनुपर्छ र यथार्थपरक व्याख्या गरौं, आफू अनुकुल व्याख्या गरेर संस्था, मन्त्रालय र सरकारको खिल्ली उडाउन छोडौं,’ उनले भनेका छन् ।