काठमाडौं । कोरोना भाइरस महामारीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आम्दानीमा भारी गिरावट आएको छ । एक वर्षको अवधिमा विमानस्थलको आम्दानी ३०० प्रतिशतले घटेर २ अर्ब ५० करोड रुपैयाँमा सीमित भएको छ ।
लकडाउन सुरु हुनुअघि विमानस्थलले वार्षिक १० अर्ब रुपैयाँसम्म आम्दानी गर्दै आएको थियो । कोभिड नियन्त्रणका लागि जारी गरिएको बन्दाबन्दी (लकडाउन) र निषेधाज्ञाका कारण विमानस्थलको आम्दानी ७ अर्ब ५० करोड घटेको छ ।
विमानस्थलका महाप्रवन्धक प्रतावबाबु तिवारीले पछिल्लो दुई वर्षयता कोभिडका कारण आम्दानी घटेको बताए । १० अर्ब रुपैयाँ आम्दानी गर्दै आएकोमा लकडाउन सुरु भएयता २ अर्ब ५० करोड रुपैयाँमा सीमित उनले जानकारी दिए ।
कोभिडका कारण लामो समयसम्म लकडाउन र निषेधाज्ञाले विमानस्थलमा चहलपहल कम भएको र उडानहरूसमेत बन्द भएपछि विमानस्थलले आम्दानी गुमाएको उनको भनाइ छ ।
कोभिडअघि २१ घण्टासम्म सञ्चालनमा रहेको विमानस्थलमा अहिले मुस्किलले केही उडान मात्र हुँदै आएको छ । एयरलाइन्सहरूको उडान घटेसँगै विमानस्थलमा आउने आम्दानी घटेको उनले बताए । जसको कारण विमानस्थल सञ्चालनमै समस्या आउन लागेको उनी बताउँछन् ।
विमानस्थलले नै कमाएर त्यसभित्र रहेका कर्मचारीहरूलाई तलब भत्ता खुवाउनेदेखि आन्तरिक रूपमा मर्मत सम्भारसमेत गर्नुपर्ने भए पनि अहिले आम्दानी खुम्चिदा समस्यामा पर्न लागेको तिवारीले बताए ।
कर्मचारीहरूलाई तलब भत्ता खुवाउन अर्थात प्रशासनिक खर्च नै वार्षिक ३ अर्ब रुपैयाँभन्दा बढिरहेको बताइएको छ । आम्दानी घट्दा अबका दिनमा समस्या हुने देखिएको विमानस्थल कार्यालयले जनाएको छ ।
अहिलेसम्म गएका वर्षहरूको सञ्चित रकमबाट मिलाउँदै आएको भए पनि केही महिनादेखि भने कर्मचारीहरूलाई तलब खुवाउनै समस्या हुन सक्ने महाप्रवन्धक तिवारीको भनाइ छ ।
आम्दानी घटेकै कारण विमानस्थलभित्र गर्नुपर्ने धेरै मर्मत सम्भार र नयाँ कामहरू गर्न समस्या भएको बताइएको छ । विमानस्थलका बाह्य कामहरूका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत विदेशी अनुदान र ऋण सहायताहरू आउने गरे पनि विमानस्थल भित्रका अन्य संरचनाहरू मर्मत गर्नेदेखि नयाँ बनाउनका लागि भने आन्तरिक स्रोत नै प्रयोग गर्नुपर्ने भएकाले थप समस्या भएको विमानस्थलले जनाएको छ ।
अन्तर्राष्ट्रिय उडानहरू कटौती भएको र आन्तरिक उडान पनि कम भएकाले विमानस्थलमा आउने राजस्व घटेको देखिन्छ । त्यति मात्र होइन, गएको वर्ष सरकारले नै विमानस्थलमा लिइने विभिन्न शीर्षकका भाडाहरूमा लकडाउन अवधिमा ७५ प्रतिशतसम्म छुट दिएको थियो । जसको कारण पनि विमानस्थलको आम्दानीमा भारी कटौती भएको बताइएको छ ।
कोभिडअघि विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ ८० देखि ९० वटा उडान र आन्तरिकतर्फ ४०० वटा उडानसमेत हुने गरेको थियो । नेपालबाट अन्तर्राष्ट्रिय उडानका लागि १९ वटा एयरलाइन्सले अनुमति पाएका छन् ।