काठमाडौं । सन् २०१२ मा स्थापना भएको राष्ट्रिय अनुसन्धान केन्द्रले कोभिडको पहिलो र दोस्रो लहरको संकटकालीन घडीमा गरेको नवप्रवर्तनका कामहरु निकै सराहनीय रहे । सामाजिक सञ्जाललगायत सञ्चार माध्यमहरुमा ती कामबारे धेरै समाचार प्रकाशित भए ।
व्यक्ति तथा समूहको नवीन र नवप्रवर्तनको सोचलाई मूर्तरुप दिन सघाउने महावीर पुनको कारखानाले कोभिडका समयमा बाहेक हालसम्म गरेका धेरैवटा महत्वपूर्ण परियोजनाहरु सम्पन्न भइसकेका छन्। स्वदेश तथा विदेशमा रहेका नेपाली दाता र विभिन्न संघ–संस्थाहरुको आर्थिक तथा प्राविधिक सहयोगमा केन्द्रले सम्पन्न गरेका ती केही महत्वपूर्ण परियोजनाका बारेमा आज हामी तपाईंहरुलाई जानकारी गराउने छौं ।
बेबी वारमर
ग्रामीण क्षेत्रमा नवजात शिशु स्याहारका लागि नियोनेटल उपकरण र प्रशिक्षित स्वास्थ्यकर्मीहरूको एकदमै अभाव हुन्छन् । यहीँ समस्याका कारण हजार नवजात शिशुमा २९ जनाले ज्यान गुमाएको अनुसन्धानले देखाएको छ । नवजात शिशुको मृत्युको एउटा प्रमुख कारण हाइपोथर्मिया पनि हो । बच्चाहरूलाई न्यायो राख्न परम्परागत शैलीमा विद्युतीय हिटर, कोइला जलाउने जस्ता विभिन्न उपाय अपनाइन्छन् तर यस्ता विधिले बालबालिकाहरूको स्वास्थ्यलाई थप हानी पुर्याउँछ । नवजात अवस्थामा उपयुक्त स्वास्थ स्याहार नपाउँदा पछि बालबालिकामा अस्थमा, निमोनिया र अन्य स्वास–प्रस्वासजन्य रोग लाग्छन् ।
यहीँ अवस्थालाई ध्यानमा राख्दै राष्ट्रिय आविष्कार केन्द्रमा विद्यार्थीहरूले न्यायो नानी बेबी वारमर निर्माण सम्पन्न गरेका छन् । यो उपकरणले नवजात शिशुलाई आवश्यक न्यानोपन प्रदान गर्छ । केन्द्रले एकदमै कम मूल्य र सजिलै प्रयोग गर्न सकिने प्रविधिका साथ न्यानो नानी निर्माण गरेको हो ।
आगामी वर्ष २०२३ सम्म देशका ५० प्रतिशत प्रसूति गृहहरूमा न्यानो नानीलाई इन्स्टल तथा सञ्चालन गर्ने यस परियोजना निर्माण टिमको लक्ष्य छ । टिमले आगामी दिनमा न्यानो नानीको माध्यमबाट बलियो र विश्वासिलो ब्राण्ड स्थापित गर्ने लक्ष्य लिएको छ ।
ब्ल्याक सोल्जर फ्लाई
एकातिर सहरका लागि अर्गानिक फोहोर व्यवस्थापन ठूलो समस्या बन्दै गइरहेको अवस्था छ भने अर्कोतिर ग्रामीण क्षेत्रका किसानहरूले बर्सेनि पशुका लागि महँगा खाद्य तथा खेतीका लागि मल, खाद्यजन्य सामग्री देश बाहिरबाट आयात गरिरहेका छन् । एक अनुसन्धानका अनुसार नेपालले बर्र्सेनि १६ अर्ब नेपाली रुपैयाँको पशुका लागि खाद्यजन्य सामग्री आयात गर्दै आइरहेको छ ।
यस्तो अवस्थाबाट सबैलाई निजात दिन राष्ट्रिय आविष्कार केन्द्रमार्फत एग्रिकल्चर र फरेस्ट्री विश्वविद्यालयका विद्यार्थीहरूको एक सामूहिक टोलीले ब्ल्याक सोल्जर फ्लाई प्रविधि विकास गरेको छ । यस प्रविधिको सहयोगबाट भारी परिणामका अर्गानिक फोहोरलाई पशुका लागि प्रोटिनयुक्त आहार र खेतीका लागि मल र खाद्यजन्य सामग्री मात्र १० दिनमा बनाउन सकिन्छ ।
यस प्रविधिमार्फत कृषि तथा पशुपालनमा लाग्ने सञ्चालन खर्चलाई कमी गरी कृषकको नाफालाई बढाएर कार्बन उत्सर्जनलाई घटाउने टिमको मुख्य उद्देश्य छ । यसले नाफा बढाउँदै खाद्य प्रणालीलाई थप दिगो बनाउने टिमको विश्वास छ ।
सोलार वाटर हिटर
हिउँद याममा हिमाली क्षेत्रमा तातो पानीको एकदमै आवश्यकता हुन्छ । ती क्षेत्रमा सोलार थर्मल प्रविधि निकै प्रचलनमा पनि छ । केही नेपाली कम्पनीहरूले सामान्य सोलार थर्मल कलेक्टरको प्रयोग गरी सोलार वाटर हिटिङ सिस्टम पनि निर्माण गरिरहेका छन् । यिनमा ब्ल्याक पेन्ट आधारित सोलार एब्जर्भरलेयर जुन कोरुगेटेड आल्मुनियम सिटमा कोट गरिएका हुन्छन् । वास्तवमा यी खासै प्रभावकारी र किफायती त हुँदैनन् ।
यिनै समस्याहरूलाई ध्यानमा राख्दै २०१७ देखि काठमाडौं विश्वविद्यालयको एक टोली र राष्ट्रिय आविष्कार केन्द्रले संयुक्त रूपमा सोलार वाटर हिटरको निर्माण गरिरहेका थिए । हाल उक्त परियोजना सम्पन्न भइसकेको छ । टिमको मुख्य उद्देश्य भनेको सोलारलाई थर्मल कन्भर्जनको दक्षतालाई सुधार गर्दै यसलाई थप किफायती बनाउनु थियो । यसका लागि टिमले एउटा सानो प्रोटो टाइप सोलार वाटर हिटर सिस्टम पनि निर्माण गरेको थियो जुन ब्ल्याक पेन्टमा आधारित सोलार थर्मल कलेक्टरभन्दा २० प्रतिशत धेरै प्रभावकारी देखियो ।
यति उत्साहजनक परिणामपश्चात टिम यो सिस्टमलाई निरन्तर विकास र अद्यावधिक गर्न प्रयासरत छ । मध्य र उच्च हिमाली क्षेत्रका बासिन्दाहरूसम्म आफ्नो सिस्टम पुर्याउने उनीहरूको लक्ष्य छ ।
टिमले बनाएको यो सिस्टममा राम्रो वाटर हिटिङ क्षमता छ ।
यो होटलहरूका लागि एकदमै उपयुक्त हुन्छ जहाँ धेरै परिणाममा तातो पानी खाँचो हुन्छ । स्थायी कोटिङ भएको कारण यो प्रोडक्ट एकदमै स्टेबल छ । परम्परागत प्रविधिको तुलनामा यसमा कमै मर्मत आवश्यक पर्छ ।
विद्युतीय विलिङ प्रणाली
साना रेस्टुराँ तथा होटलहरूलाई कार्य दक्षता बढाएर व्यवसायलाई तीव्रता दिन सहयोग पुर्याउने उद्देश्यले राष्ट्रिय आविष्कार केन्द्रमा विद्युतीय विलिङ प्रणाली निर्माण सम्पन्न भएको छ । इलेक्ट्रोनिक विलिङ सिस्टमले दुई विधिबाट काम गर्छ । यसको वेब एप्लिकेसनले ग्राहकहरूको अर्डरलाई लिएर एउटा कट डाउन अर्डर म्यानेजमेन्ट इन्टरफेस प्रदान गर्छ । यसैमार्फत ग्राहकहरूले आफ्नो अर्डर सहितको टोकन देख्न सक्छन् । यो वेब एप्लिकेसलाई जुनसुकै वेब ब्राउजरबाट एक्सेस गर्न सकिन्छ । टोकन ५८ एमएमको थर्मल प्रिन्टरबाटबाट प्रिन्ट हुन्छ ।
डिजिटल हेल्थ
राष्ट्रिय आविष्कार केन्द्रमा सम्पन्न भएको अर्को परियोजना भनेको डिजिटल हेल्थ प्रणाली हो । यसअन्तर्गत केन्द्रमा इलेक्ट्रोनिक हेल्थ रेकर्डिङ अर्थात् ईएचआर सिस्टम तयार भएको छ जसले अस्पतालमा जाने हरेक बिमारीको विवरण रेकर्ड गरेर राख्छ । इएचआर प्रविधि नेपाल जस्ता न्यून तथा मध्यम आए भएका मुलुकहरूमा एकदमै प्रभावकारी प्रमाणित हुँदै आइरहेको छ ।
यस प्रविधिमार्फत सम्पूर्ण स्वास्थ विवरणलाई ओपनसोर्स प्लेटफर्ममार्फत अस्पतालहरूलाई प्रदान गरेर स्वास्थ्य सेवा प्रणालीलाई चुस्त र प्रभावकारी बनाउने यस प्रणालीको लक्ष्य हो । यो एउटा लचिलो र मोडुलर डिजाइन सहितको इन्टिग्रेटेड सोल्युसन हुनेछ जुन सबै किसिमका डिभाइसमा सजिलै चल्नेछ ।
यी बाहेक राष्ट्रिय आविष्कार केन्द्रमा हाल ब्लाइण्ड्सपोर्ट डिटेक्सन डिटेल प्रविधि पनि निर्माण गरिरहेको छ । यसअन्तर्गत हाल टिम असिस्टेड ब्लाइण्ड स्पोट डिटेक्सन टेक्निक्सको माध्यमबाट ट्रक तथा ट्रिपर दुर्घटना कमी गर्ने सम्भावित विधिको खोजी गर्नुका साथै भेहिकल ट्रयाकर सिस्टमको प्रयोग गरी सार्वजनिक सवारीमा ओभरस्पिडको समस्यालाई समाधान गर्न प्रयासरत छ ।
यस्तै अर्को मंकी रिपेलेन्ट सिस्टम पनि केन्द्र निर्माण गरिरहेको छ जसमा सोलरबाट सञ्चालित उपकरणले जंगली जनावरलाई सेन्स गरी धपाउने काम गर्छ । एसओडब्लूएमएस नाम दिइएको अर्को परियोजना पनि हाल विकासको क्रममा छ जसले ठोस अर्गानिक फोहोरलाई व्यवस्थापन गरी बायोग्यास उत्पादन गर्ने लक्ष्य लिएको छ ।
यस्तै कस्मेटिक र चिकित्सा प्रयोजनका लागि प्रयोग हुने मौरीको विष संकलन गर्ने बी भेनोम कलेक्टर पनि हाल केन्द्रमा निर्माण भइरहेको छ । यस्तै एभेष्ट्र कार्ट ई–कमर्स र ओके जर्नी जस्ता टिकेटिङ प्लेटफर्म पनि केन्द्रकै उत्पादन हो । यी बाहेक हाल सब्जी कोठी, जिन्जर ड्रिङ्क्स, इलेक्ट्रिकल कन्भर्सन, कुकिङ स्टोभ जस्ता प्रविधि पनि यहाँ निर्माण भइरहेका छन् ।
हालसम्म केन्द्रमा एक दर्जनभन्दा धेरै परियोजना सम्पन्न भइसकेका छन् भने अन्य धेरै महत्वपूर्ण परियोजनाहरू निर्माणाधीन अवस्थामा छन् ।