काठमाडौं । काम सुरु भएको झण्डै एक दशकपछि देशको सबैभन्दा ठूलो माथिल्लो तामाकोसी आयोजनाबाट अाज सोमबारदेखि बिजुली उत्पादन सुरु हुने भएको छ । आयोजनाको जडित क्षमता ४५६ मेगावाट छ ।
सोमबारदेखि आयोजनाको पहिलो युनिटबाट उत्पादन हुने ७६ मेगावाट बिजुली केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । माथिल्लो तामाकोसीको विद्युतगृह गोंगरदेखि ४७ किलोमिटर पर रहेको खिम्ती सवस्टेशनमा जोडेपछि सो बिजुली २२० केभी प्रसारण लाइन हुँदै ढल्केबरमा रहेको ४०० केभीको सवस्टेशनमा पुग्नेछ ।
यसअघि परीक्षण सम्पन्न भएपछि सोमबारदेखि औपचारिक रुपमा बिजुली उत्पादन सुरु हुने अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रवत्ता गणेश न्यौपानेले बताए । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अपराह्न ४ बजे भर्चुअल माध्यमबाट स्वीच थिचेर आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
आयोजनाको दोस्रो युनिटबाट असारभित्रै थप ७६ मेगावाट बिजुली उत्पादन हुने भएको छ । आगामी असोजसम्म ६ वटै युनिटहरुबाट ४५६ मेगावाट बिजुली उत्पादन हुने प्रवत्ता न्यौपानले जानकारी दिए । पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमशः विद्युत उत्पादन हुनेछ ।
आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड १० लाख युनिट बिजुली उत्पादन हुनेछ । आयोजनाले वार्षिक ९ अर्ब रुपैयाँ भन्दा बढी आम्दानी गर्ने कम्पनीले जानकारी दिएको छ । निर्माण अवधिको ब्याज बाहेक ३५ अर्ब २९ करोड रुपैयाँमा सम्पन्न हुने गरी ०६७/०६८ देखि आयोजनाको निर्माण सुरु गरिएको हो ।
विनासकारी भूकम्प, नाकावन्दी र पछिल्लो पटक कोरोनाको महामारी र विभिन्न काराणहरुले गर्दा आयोजनाको काममा ढिलाइ हुन गएको हो । यसले आयोजनाको समयका साथै लागत झण्डै दोब्बर पुगेको छ । कर्मचारी सञ्चय कोषको ब्याजसमेत जोड्दा हालसम्म आयोजना बनाउन ८० अर्ब रुपैयाँ खर्च भएको अनुमान गरिएको छ । यद्यपी आयोजनाले भने लागत खुलाएको छैन ।
गएको वैशाखको १५ गतेसम्म आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना निर्माण अस्वाभाविक ढङ्गले ढिलाइ गरिएको र यसमा संलग्नबाट क्षतिपूर्ति असुल गर्ने चेतावनी दिएका थिए ।
गएको चैत मसान्तदेखि पेनस्टक र सुरुङ बन्द गर्ने गेटमा आएको समस्यामा काम अवरुद्ध भएको थियो । आयोजना सञ्चालन आएपछि भारतबाट आयात हुने बिजुलीको परिमाण घट्ने छ । वर्षादको ४ महिनामा आयोजनाबाट उत्पादन हुने केही बिजुली खेर जाने र सुक्खायाममा भारतबाट आयात गर्नुपर्ने अवस्था आउने बताइएको छ । गएको सुख्खा याममा भारतबाट ७०० मेगावाट भन्दा बढी बिजुली आयात भएको थियो ।
जडित क्षमता ४५६ मेगावाट भए पनि माघ र फागुनमा तामाकोसी नदीमा पानीको सतह तल्लो तहमा पुगेपछि आयोजनाबाट बिजुली उत्पादन घटेर ९० मेगावाटमा सीमित हुनेछ । आयोजना क्यू ३२ मा डिजाइन गरिएको हो । आयोजनाबाट एक वर्षमा ३२ प्रतिशत पूर्ण क्षमतामा बिजुली उत्पादन हुनेछ भने पानीको वहाव कम हुदै गएपछि बिजुली उत्पादनमा पनि गिरावट आउनेछ ।
तामाकोसी धेरै हेड हुने आयोजना हो । आयोजनाको हेड ८४० मिटर छ । जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेक लगायतका सिभिल संरचनाहरु र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणहरुको सबै प्रकारका परीक्षणहरु सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।
विद्युतगृह दोलखाको गोंगरबाट रामेछापको खिम्तीसम्मको ४७ किलोमिटर २२० केभी प्रसारण लाइनको परीक्षण गरिएको छ । खिम्तीमा निर्माणाधीन २२० केभीको न्यू खिम्ती सबस्टेसनको परीक्षण भइरहेको छ ।
२०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनका साथै बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन,हाइड्रोमेकानिकल ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।
लट २ को ठेक्का भारतीय कम्पनी टेक्सम्याको रेल एण्ड इन्जिनियरिङले पाएको थियो । कम्पनीको कमजोर कार्यसम्पादनका कारण बाँधका पेनस्टक पाइपलगायतका हाइड्रोमेकानिकल उपकरणहरु उत्पादन र जडानमा ढिलो भई आयोजनाको समग्र निर्माण कार्यमै ढिलाइ भएको हो । पछि आयोजनाको बाँकी काम अष्ट्रियाको एन्ड्रिज हाइड्रो जीएमबीले गरेको थियो ।
भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेर, महामारीको रुपमा विश्वभर फैलिएको कोभिड–१९ लगायतले आयोजनाको निर्माण प्रभावित भएको थियो ।
लट २ को ठेक्का पाएको टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि अत्यन्तै कठिन मानिएको तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा आयोजनालाई वित्तीय भार नपर्ने गरी इलेक्ट्रोमेकानिकलको ठेकदारलाई दिइएको थियो ।
आयोजनाको सिभिल निर्माणको काम चीनको सिनो हाइड्रो कर्पोरेशन, हाइड्रोमेकानिकलको टेक्सम्याको, इलेक्ट्रोमेकानिकलको एन्ड्रीज हाइड्रो र प्रसारणलाइनको काम भारतको केइसी इन्टरनेसनलले सम्पन्न गरेका हुन् ।