विराटनगर । भारतसँग भएको रेलवे सर्भिस एग्रिमेन्ट पुनरावलोकनले नेपालमा लागत घटाउन महत्वपूर्ण योगदान पुग्ने पूर्वका व्यवसायीले बताएका छन् । रेलबाट सामान ल्याउँदा सस्तो पर्ने र त्यसले लागतसमेत घटाउने उनीहरूले बताएका छन् । पूर्वका उद्योगी/व्यवसायीले वर्षादेखि विराटनगर हल्दिया कोलकाता रेल आवात–जावात खुलाउन सरकारसँग माग गरेका थिए ।
‘पहिला एकतर्फी मात्रै थियो । भारतबाट सामान ल्याउने तर नेपालबाट लान सक्ने अवस्था थिएन । अहिले रेलले नेपालको माल पनि लिएर जान्छ,’ उद्योगी अविनास बोहोराले भने, ‘अहिलेसम्म भारतको सरकारी कम्पनी कन्टेनर कर्पोरेसन इन्डिया लिमिटेडबाट मात्रै सामान ल्याउन पाइन्थ्यो । अब जुन खाली रेल छ, उसैबाट सामान ल्याउन सकिने व्यवस्था गरिएको छ ।’
विराटनगरमा सुक्खा बन्दरगाह बनिसकेको अवस्था छ । रेल पनि सञ्चालन भएको अवस्थामा माल सामान आउँदा लागत घट्ने उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मोरङ व्यापार संघका निवर्तमान अध्यक्षसमेत रहेका बोहोराले क्यापिटल नेपाललाई बताए । अहिले महँगो भएको दुवानी लागत पनि केजीमै डेढदेखि दुई रुपैयाँसम्म घट्ने उनको भनाइ छ । ‘यो भनेको धेरै ठूलो रकम हो’, उनले भने, ‘यसले नेपालमा उत्पादित वस्तु सस्तो हुन्छ ।’
यो पनि हेर्नुहोस
१२ वर्षको प्रयासपछि नेपाल–भारत रेलवे सम्झौता संशोधन, व्यापार सहजीकरणमा नयाँ फड्को
यो सम्झौताले व्यापार सहजीकरण र आयात, निर्यातमा ठूलो सहयोग गर्ने भएकाले विश्व बजारमा नेपाली सामान प्रतिस्पर्धी बन्ने बोहोराको भनाइ छ ।रेल सेवा सम्झौताले लागत घटाउन महत्वपूर्ण योगदान गर्ने नेपाल उद्योग संगठन मोरङका अध्यक्ष शुयोस प्याकुरेलले बताए ।
सबैभन्दा बढी लागत लजिस्टिक अर्थात ढुवानी पारवहनमा बढी खर्च भइरहेको अवस्थामा रेल सेवा सस्तो र सरल हुने प्याकुरेलको भनाइ छ ।
‘जहाजबाट ल्याएको सामान सस्तो भए पनि, जहाजबाट फेरि कन्टे«नर र ट्रकमा हालेर ल्याउँदा लागत सधैं बढी हो’, उनले भने, ‘रेल सेवा पाउनु भनेको लागत धेरै कम हुनु हो, यसले गर्दा आन्तरिक बजारसँगै बाह्य बजारमा प्रतिस्पर्धा गर्न सजिलो हुन्छ ।’
‘निजी क्षेत्रले पहिलेदेखि उठाउँदै आएको माग पूरा भएको र सम्झौता हुनु सरहानीय काम भएको प्याकुरेलले बताए । उक्त सम्झौता कार्यान्वयनमा आएपछि औद्योगिक क्षेत्र र उद्योग विकासका लागि महत्वपूर्ण हुने उनको भनाइ छ ।
सामान सस्तो मूल्यमा आउनुका साथै सरल र सहज तरिकाले ल्याउन सकिने उद्योगी राजकुमार गोल्छाले बताए । अहिलेको अवस्थामा धेरै झमेला ब्यहोरेर सामान आयात गर्न परेको थियो । अब उप्रान्त उक्त झन्झट सदाका लागि अन्त्य भएको उनको भनाइ छ ।
रघुपती जुट मिलका सञ्चालकसमेत रहेका गोल्छाले एउटा मात्रै कम्पनीबाट सामान ल्याउँदा नेपालका उद्योगी व्यवसायीलाई ठूलो समस्या हुने गरेको जानकारी दिए । ‘कंकोरले र्याक उपलब्ध गराएपछि मात्रै नेपालमा सामान ल्याउन सकिन्थ्यो’ उनले भने ।
‘ट्रकमा सामान ल्याउँदा भाडा धेरै तिर्नुपर्ने, भाडा समान नहुने, यसले गर्दा उत्पादित वस्तु महँगो हुने अवस्था भएकाले अब सीधा तरिकाले सामान ल्याउन सकिने हुन्छ र विराटनगरमा एलसी खोलेपछि सिधैं नेपाल आउने तथा भारत जाने हुन्छ’, गोल्छाले भने ‘अब तेस्रो मुलुकबाट सामान मगाउन पनि सजिलो हुने, कुनै समस्या झेल्नु नपर्ने, सहज तरिकाले सामान सम्बन्धित ठाउँमा आइपुग्ने हुन्छ ।’
नेपालको रेल पनि कोलकाता हल्दियासम्म जानका लागि बाटो खुलेको छ । त्यहाँबाट नेपालको सामान बोकेर आउन सक्छ । भारत सरकारले जारी गरेको रेलको मापदण्ड पालना गरेर नेपालको रेल पनि जान सक्ने गरी संशोधन गरिएको छ ।