एजेन्सी । विश्वमा धेरैवटा प्रख्यात र गौरवशाली बहुराष्ट्रिय ‘कर्पोरेट हाउस’ छन् । तर, भारतको सन्दर्भमा कुरा गर्दा मस्तिष्कमा आउने पहिलो कम्पनी भनेको टाटा ग्रुप नै हो । टाटा ग्रुप अफ कम्पनी एउटा भारतीय ‘ग्लोबल एग्रिगेट होल्डिङ’ हो । यसको मुख्यालय मुम्बई महाराष्ट्रमा छ ।
‘विश्वसनियता सहितको नेतृत्व’ भन्ने मूल आदर्शका साथ स्थापना भएको टाटा ग्रुप आफ्ना सम्पूर्ण विश्वव्यापी साझेदारहरूको मूल्य मान्यताको दीर्घकालीन विकासमा विश्वास राख्छ । टाटा ग्रुपको ब्राण्डलाई सधैं गुणस्तरियता, नवप्रवर्तन, दिगो कदमसहितको व्यावसायिक उदविकास जस्ता ‘ट्याग’हरू दिने गरिएको छ ।
ग्रुपको मुख्य ‘मिसन’ भनेकै समुदायहरूको जीवन गुणस्तरीयतामा बढोत्तरी ल्याउनु हो । ग्रुपले विश्वभर रहेका साझेदारहरूको दीर्घकालीन मूल्य मान्यता विकास गरी आफ्नो यो उद्देश्यलाई पूरा गरिरहेको छ ।
आज हामी तपाईंहरूलाई टाटा ग्रुप अफ कम्पनीजको उत्पतिको इतिहास र हालसम्म ग्रुप सञ्चालनका क्रममा भएका विकास र त्यसले तयार पारेको हालको कम्पनीको परिदृश्यका बारेमा बताउने छौं ।
टाटा ग्रुपको इतिहास
१८६८ मा उद्यमी तथा परोपकारी जमसेतजी नुस्सरवन्जी टाटाले एउटा निजी ट्रेडिङ कम्पनीको रूपमा टाटा ग्रुपको स्थापना गरे । १९०२ मा कम्पनी विस्तार हुँदै इन्डियन होटल्स कम्पनी लिमिटेड (आईएचसीएल) लाई टाटा ग्रुपअन्तर्गत ल्याएर १९०३ मा ताज महल प्यालेसको उद्घाटन गरियो । जुन देशकै पहिलो लक्जरी होटल थियो ।
१९०४ मा संस्थापक जमसेतजी टाटाको निधन भयो । तब उनका छोरा सर डोरब टाटाले ग्रुपको अध्यक्ष पद सम्हाले । डोरबको नेतृत्व र निर्देशनमा टाटा ग्रुप विस्तारै झाङिदै विभिन्न क्षेत्रतिर प्रवेश गर्न थाल्यो । १९०७ मा स्टिल, १९१० मा विद्युत, १९११ मा शिक्षा, १९१७ मा उपभोग्य वस्तु र १९३२ मा उड्डयान क्षेत्रमा लगानी विस्तार गर्यो ।
१९३२ मा डोरब टाटाको निधन भएपछि सर नोरोजी सक्लातवालाले अध्यक्ष पद सम्हाले । ६ वर्षपछि पुनः जाहागिर रतनजी डाडाभोइले ग्रुपको अध्यक्ष बने । उनको नेतृत्वले ग्रुपलाई विकासको नयाँ बाटोमा लिएर गयो । ग्रुप १९३९ मा रासायन, १९५२ मा कस्मेटिक्स, १९६२ मा चिया र १९६८ मा सफ्टवेयरको क्षेत्रमा प्रवेश गर्यो ।
यो पनि हेर्नुहोस
जमसेतजी टाटा बने विश्वकै शीर्ष परोपकारी, जसले गरे १०२ अर्ब ४० करोड डलर दान
१९४५ मा टाटा ग्रुप मोटर उत्पादनमा लाग्यो । ग्रुपले टाटा इन्जिनियरिङ एन्ड लोकोमोटिभ कम्पनीको स्थापना गरेर नयाँ फिचर थप गर्यो । जसलाई २००३ पछि टाटा मोटर्सको नामले चिनिन थाल्यो । यो व्यवसायले इन्जिनियरिङ विकास तथा लोकोमोटिभ प्रोडक्ट निर्माणको क्षेत्रमा काम गथ्र्याे ।
सन् १९९१ मा रतन टाटा, जाहागिर रतनजी डाडाभोई जेआरडी टाटाका भानिज ग्रुपको अध्यक्ष बने । उनले कम्पनीलाई थप मजबुत बनाएर व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्य लिए । सन् २००० मा उनको नेतृत्वमा ग्रुपले लण्डन आधारित टिट्ले टिलाई अधिग्रहण गर्यो ।
यस्तै २००४ मा कम्पनीले दक्षिण कोरियाको ट्रक निर्माणकर्ता कम्पनी डेईओ मोटर्सको स्वामित्व पनि लियो । २००१ मा ग्रुपले अमेरिकन इन्टरनेसनल ग्रुप कर्पोरेसनसँग जोडिएर बिमा कम्पनी टाटा एआईजीको स्थापना गर्याे ।
यसैगरी २००७ मा टाटा ग्रुपले एङ्गलो डच स्टिल निर्माणकर्ता कम्पनी कोरस ग्रुप पनि अधिग्रहण गर्यो । जुन भारतीय कम्पनीको लागि तबसम्मकै सबैभन्दा ठूलो ‘कर्पोरेट टेकओभर’ थियो । २००८ देखि टाटा ग्रुपले अटोमोटिभ क्षेत्रमा पनि हात हाल्न थाल्यो ।
तर, कम्पनीका लागि सफलताको कोसेढुङ्गा २००८ को सुरुवातमा सावित भयो जब उसले नानो नामको सानो रेयर इन्जिन, पोड आकारको कार टाटा मोटर्सबाट सार्वजनिक गर्यो । जसले २००९ को मध्य जुलाईदेखि भारतीय सडक तत्ताउन थाल्यो ।
२००८ मा टाटाले बेलायती ब्राण्ड ज्यागुवर र अमेरिकी फोर्ड मोटर कम्पनीबाट ल्याण्डरोभरको स्वामित्व लिएर अर्को कोसेढुङ्गा पार गर्यो । २०१२ मा रतन टाटाले अवकाश लिएर अध्यक्ष पदभार साइरस मिस्त्रीलाई हस्तान्तरण गरे । तर, केही असहमतिका कारण २०१६ मा मिस्त्री अध्यक्ष पदबाट अपदस्थ भए । त्यसयता नटराजन चन्द्रशेखरन टाटा ग्रुपको अध्यक्ष पदमा आसिन छन् ।
२०१७ को सेप्टेम्बरमा टाटाले आफ्नो युरोपेली स्टिल निर्माण अपरेसनलाई जर्मन स्टिल निर्माण कम्पनी थाइसेनक्रुपसँग समायोजनको घोषणा गर्यो । उक्त सम्झौता २०१८ मा फाइन त भयो तर पछि पुनः युरोपेली आयोगको अवरोधका कारण यतिकै रोकियो । तर, एक वर्षपछि अहिले पुनः टाटा स्टिल युरोपेले सोही जर्मनी कम्पनीसँग सम्भावित मर्जरका लागि वार्ता थालेको छ ।
२०१९ को डिसेम्बरमा पुनः भारतको नेसनल कम्पनीले अपिलेट ट्रिब्युन (एनसीएलएटी) ले मिस्त्रीलाई टाटा सन्सको कार्यकारी अध्यक्षको रूपमा पुनस्र्थापित गरायो । तर, टाटालाई पुनरावेदनका लागि चार साताको समय दिँदै अदालतले आफ्नो आदेश कार्यान्वयन गर्न रोक्यो । तब टाटा सन्सले एनसीएलएटीको उक्त आदेशविरुद्ध २०२० मा सर्वोच्च अदालतमा गई पुनरावेदन रिट दायर गर्यो ।
हालै गत मार्च २६, २०२१ मा त्यहाँको सर्वोच्च अदाललते मिस्त्रीलाई अध्यक्षमा पुनस्र्थापित गराउने एनसीएलएटीको आदेशलाई पन्छाउँदै टाटा ग्रुपको पुनरावेदनलाई सदर गरेको छ ।
जेआरडी टाटा र एयर इन्डियाको सम्बन्ध
एयर इन्डिया कम्पनी र टाटाका पूर्वअध्यक्ष जेआरडी टाटाबीच निकै लामो र गहिरो सम्बन्ध छ । एयर इन्डियाको कथा निकै पुरानो छ । भारत स्वतन्त्र हुनुभन्दा पनि पहिलाको हो । उक्त एयरलाइन्सलाई १९३२ मा जेआरडी टाटाले संस्थापन गरेका हुन् । उनी बिजनेस टाइकुन मात्र थिएनन्, भारतीय पाइलट पनि थिए । प्रारम्भिक चरणमा एयर इन्डिया एयरलाइन्स कम्पनीलाई टाटा एयर सर्भिस नाम दिइएको थियो ।
१९२९, र १९३२ मा व्यावसायिक लाइसेन्स प्राप्त गरिसकेपछि, जेआरडीले उक्त एयरलाइन्स स्थापना गरेका थिए । तब उनले इम्पेरियल एयरलाइन्सका लागि ‘कन्ट्रयाक्ट’ पाएका थिए ।
टाटाले उड्डयान विभाग पनि विकास गरेको थियो । दुइवटा डी हेभिल्याण्ड पुस मोथ्स मोनोप्लेन विमान पनि ल्याएको थियो । सोही वर्षको अक्टोबर १५ मा टाटाले कराँचीदेखि मुम्बईसम्म एयर मेल बोकेर एउटा पुस मोथ्स विमान उडाएको थियो । जसमा एउटा मात्र इन्जिन थियो । तब मुम्बईबाट त्यो विमान चेन्नाइमा उडेको थियो ।
एयरलाइन्सको प्रारम्भिक दिनतिर त्यसले हप्तैपिच्छे अहमदावाद र मुम्बईदेखि कराँची, चेन्नाइसम्म चिठ्ठपत्र ओसारपसार गथ्र्याे । टाटा एयर सर्भिसले आफ्नो पहिलो व्यावसायिक उडान मुम्बईदेखि त्रीभानद्रममा सम्पन्न गरेपछि उसको नाम टाटा एयरलाइन्समा नामाकरण गरिएको थियो ।
अझ दोस्रो विश्वयुद्धमा त टाटा एयरलाइन्सले रोयल एयरफोर्सलाई समेत सैनिक, हात हतियार, सामग्री ओसार्न तथा शरणार्थीको उद्धार गर्न सहयोग गरेको थियो । १९४६ मा टाटा एयरलाइन्स पब्लिक कम्पनी बन्यो र एयर इन्डिया नामाकरण गरियो । भारतको स्वतन्त्रतापछि उक्त एयरलाइन्सको ४९ प्रतिशत स्वामित्व भारत सरकारमा निहित रह्यो ।
तर, १९५३ पछि भने सरकारले एयर कर्पोरेसन एक्टलाई बनाएर टाटा ग्रुपबाट एयरलाइन्सको ठूलो हिस्सा सेयर आफ्ना नाममा लिइ एयरलाइन्सलाई नै राष्ट्रियकरण गर्यो । तर, जेआरडी टाटाको योगदान र पाइलट करियरप्रतिको उनको लगावको उच्च सम्मान गर्दै भारत सरकारले उनलाई कम्पनीको अध्यक्षमा नियुक्त गर्यो । जेआरडीले आफू नहटाइएसम्म १९७७ सम्मै अध्यक्ष पदभार सम्हाले ।
अहिले यो एयरलाइन्स भारी ऋणका कारण दुविधा र अव्यवस्थितिको अवस्थामा छ । सरकार अहिले लिलामीमार्फत कम्पनीलाई निजीकरण गर्न चाहन्छ । यसको ‘एक्लो बिडर’ पनि टाटा ग्रुपमात्र रहेको टाइम नाउमा समाचार प्रकाशित छ ।
टाटा ग्रुप अफ कम्पनीजको अवस्था
१८६८ मा स्थापना भएको टाटा ग्रुप अफ कम्पनीज आजको समयमा भारतका एउटा पुरानो व्यावसायिक साम्राज्य हो । जमसेतजीले टाटा ग्रुप स्थापना गरेको १५३ वर्ष पुगेको छ ।
सन् ०१९/०२० को रिपोर्टअनुसार यो ग्रुपमा ६ महादेशका सयभन्दा धेरै मुलुकका ७ लाख ५० हजारभन्दा धेरै कर्मचारी छन् । मुम्बईमा मुख्यालय रहेको टाटाले आज ‘प्राइमेरी बिजनेस सेग्मेन्ट’मा विभिन्न रासायन, सामग्री, उपभोग्य सामग्री, ऊर्जा सूचना प्रणाली आदि सञ्चालन गरिरहेको छ । कम्पनीको मुख्य लगानीकर्ता भनेको टाटा सन्स हो ।
०१९/२० मा टाटा कम्पनीको आम्दानी १ खर्ब ६ अर्ब डलर अर्थात् झण्डै ८० खर्ब भारतीय रुपैयाँ थियो । टाटा कम्पनीका २९ वटाभन्दा धेरै कम्पनीहरू सार्वजनिक कम्पनीका रूपमा सूचीकृत छन् । तीनको समग्र बजार पुँजीकरण १७० खर्ब भारुभन्दा धेरै छ ।
यसबाहेक कम्पनीले स्वस्थ्य, जीवनयापन तथा शैक्षिकलगायत क्षेत्रमा काम गरिरहेका विभिन्न एनजीओ तथा ट्रस्टहरूलाई पनि सहयोग गर्दै आइरहेको छ भने विभिन्न किसिमका समाज कल्याण कार्यक्रमहरूसमेत आयोजना गर्दै आइरहेको छ ।