विराटनगर । आगामी माघ १ गतेबाट सञ्चालनमा आउन लागेको होटल सेञ्चुरियनको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । उक्त होटल प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडको हो ।
दुगडले क्यासिनो, मल, सिनेमा हललगायतका अत्याधुनिक सुविधासहित पाँचतारे होटल बनाइरहेका छन् । कोरोना महामारी अन्य हुने र देशमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने अपेक्षासहित पूर्वमा पाँचतारे होटल निर्माण गरिरहेको उद्योगपति दुगडले जानकारी दिए ।
‘धेरैजसो काम पूरा भइसकेको छ,’ प्रधानमन्त्रीका आर्थिक सल्लाहकारसमेत रहेका दुगडले भने, ‘देशमा कोरोना महामारीको अन्त्य नभएकाले होटल निर्माण कार्य सम्पन्नलाई तीव्र रुपमा अघि नबढाइएको हो ।’
पूर्वउद्योग राज्यमन्त्रीसमेत भइसकेका दुगडले नेपाली सामान विदेशमा पाइने तर नेपालमा खोज्दा धेरै ठाउँमा धाउँदासमेत नभेटिने अवस्था भएकाले नेपाली सामानलाई प्राथमिकतामा राखेर सबै वस्तु एकै ठाउँमा पाइने योजानसहित सेञ्चुरियन होटल सञ्चालनमा ल्याउन लागेको बताए ।
२ विगाहा क्षेत्रफलमा निर्माण भइरहेको होटलमा २ सय करोड लगानी भएको उनले जानकारी दिए । होटल सञ्चालनमा आएपछि नेपाली उत्पादनलाई चिनाउने ठूलो माध्यम होटल बन्ने दुगडले दाबी गरे ।
‘नेपालको सबैभन्दा ठूलो र नौलो योजना हो,’ उनले भने, ‘यसमा धेरै किसिमका क्रियाकलाप हुन्छ, यसभित्र सबै किसिमका कुराहरू हुन्छ जुन नेपालका कुनै पनि ठाउँमा छैन ।’
यस्ता छन्, होटलका विशेषता
दुगडका अनुसार यसमा क्यासिनो, स्वीमिङ पुल, सपिङ मल, सिनेमा हल, वाटरपार्क, साँझको बजार आदि हुनेछ । यहाँ भएका जति सुविधा अरु ठाउँमा छैन । विराटनगरको धरान रोडको भाटभटेनी सुपर मार्केट नजिकै निर्माण भएको उक्त होटलमा १२५ कोठाको होटल रहेको उनको जानकारी दिए । सबै हिसाबको सुविधासम्पन्न होटल रहेको छ ।
यसमा १ सय पसल, मिटिङ हल, नेपालको सबैभन्दा ठूलो १० हजार फिट स्क्वायरको बैङकेट हल २ वटा रहेको उनको भनाइ छ । कुनै पनि खेलकुद प्रतियोगिता वा केही कार्यक्रमका लागि ठूलो ग्राउन्ड छ । बच्चाहरूको खेल्ने पार्क, हेल्थ क्लबहरू पनि यसभित्र रहेको जनाइएको छ ।
नेचोप्याथिक तथा प्राकृतिक उपचार केन्द्र पनि रहेनछ । साँझदेखि मात्र खुल्ने बजार यसमा रहनेछ । जुन बजार साँझ ६ बजेदेखि मात्र खुल्नेछ । उक्त बजारमा बच्चादेखि सबै उमेर समूहलाई हुने खालका नेपालका टिपिकल आइटम रहने उनको जानकारी दिए ।
लत्ताकपडा, इलेक्टोनिक, जुत्ता चप्पल, कस्मेटिक, गिफ्ट आइटमदेखि किचनका सबै खाले चिज यसभित्र पाइनेछ । एउटा मलमा हुने हरेक चिज रहेनछ भने अन्य महलमा नभएका सामानहरू यस भित्र पाइनेछ ।
साँझमा खुल्ने बजारमा चाहि नेपाली वस्तुहरू मात्र बिक्री हुनेछ । नेपालमा पाइने हस्तकला सामान, नयाँ–नयाँ पस्मिनाका सामान, अल्लोबाट बनेका कपडाहरू, टोपी, टिपिकल नेपाली वस्तु मात्र रहेने सञ्चालक दुगडले बताए ।
नेपालमा नेपाली वस्तुको सही तरिकाले बिक्री वितरण भइरहेको अवस्था नरहेकाले नेपाली वस्तु चिनाउने उद्देश्यले यो कन्सेप्ट ल्याएको उनले बताए ।
यहाँ भारतलगायतका देशबाट धेरै मानिसहरू आउने भएकाले नेपाली सामान चिनाउने अवसर यस होटल एण्ड मलको साँझको बजारबाट हुने जनाइएको छ ।
नेपालमा उत्पादित जुत्ताचप्पल, अचार, मह, नेपाली कागजबाट बनेका सामानहरू, हाते कार्पेटदेखि जति नेपालमा उत्पादन हुन्छ, ती सबै कुरा एकै ठाउँमा भएपछि नेपालको चिनो लैजानेलाई सजिलो हुने र नेपाली उत्पादनको प्रचार पनि हुने उनको भनाइ छ । यसकारण नेपालमा उत्पादित सबै बस्तु यसभित्र पाइनेछ । जसको नाम नेपाली गृह हुनेछ ।
नेपालमा उत्पादित हस्तकलाका सामग्री तथा सबै चिजहरूले बजार पाउने भएपछि उत्पादन पनि बढ्ने अनुमान दुगडको छ । नेपाली सामान विदेशमा निर्यात भए पनि धेरै अवरोधहरू सिर्जना हुने गरेकाले नेपाली गृहको स्थापनासँगै यो समस्या कम हुने उनले बताए ।
दुगडको व्यावसायिक यात्रा
दुगड उद्योग व्यवसायका क्षेत्रमा सफल उद्यमीका रूपमा चिनिन्छन् । नरिवल तेलको व्यवसायबाट व्यावसायिक जीवन सुरू गरेका दुगडको सेञ्चुरी मसला लगायतका उद्योगहरू छन् ।
विराटनगरमा उनको होटल ह्यारिसन नामको होटल छ भने पूर्वराज्यमन्त्री समेत रहेका मोतीलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार पनि हुन् ।