काठमाडौं । नेपालको निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्न अनुमति पाएको छ । संस्कृति तथा पर्यटन मन्त्रालयले श्रीलाई विभिन्न भारत र बङ्गलादेशका ५ सहरमा उडान गर्न अनुमति दिएको हो ।
श्रीलाई भारतको नयाँ दिल्ली, कोलकाता, अहमदाबाद, बैङ्गलोर र बंगलादेशको ढाकामा उडान गर्न अनुमति दिइएको पर्यटनमन्त्री योगेश भट्टराईले क्यापिटल नेपाललाई जानकारी दिए । मन्त्रालयले उडान सञ्चालनका लागि अनुमति दिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट उडान अनुमति लिनु पर्छ ।
केही दिन अघिमात्र क्यानले अन्तर्राष्ट्रिय चार्टर उडानका लागि अनुमति दिएसँगै श्रीले भारतको बनारसमा साउन २७ गते परीक्षण उडान गरेको थियो ।
सेवा सुरु गरेको दुई वर्षमै श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरेको हो । आन्तरिक बजारमा अब्बल देखिएको श्रीले अन्तर्राष्ट्रिय उडान गरेपछि भ्रमण वर्ष २०२० लाई थप सहयोग पुग्ने आशा गरिएको छ ।
बजारको मागलाई ध्यानमा राखेर भारत तथा बङ्गलादेशका केही सहरमा चार्टर उडान गर्ने श्रीले तयारी गरेको छ । उडानका लागि मागअनुसार ७० सिटे सीआरजे ७०० र ५० सिटे सीआरजे २०० लगायत दुवै जहाज प्रयोग गरिने एयरलाइन्सले जनाएको छ ।
नेपालसहित दक्षिण एसियाली मुलुकलाई मुख्य केन्द्रमा राखेर श्री एयरलाइन्सले आफ्नो सेवा थालेको थियो । मुलुक बाहिर भारत, बङ्गलादेश, चीन, मलेसियालगायत देशमा आफ्नो उपस्थिति दरिलो बनाउने उद्देश्यसहित श्री एयरलाइन्सले क्यानडाको बम्बार्डियर जहाज नेपाल ल्याएको हो ।
श्री एयरलाइन्सले जेटमार्फत अन्तर्राष्ट्रिय सेवा र टर्बोपोपमार्फत आन्तरिक सेवा दिने योजना बनाएको छ । श्रीसँग बम्बार्डिएरको ५० सिट क्षमताका २ ओटा र ७० सिट क्षमताका २ ओटा जहाज छन् । हाल नेपालबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् ।