विराटनगर । विराटनगरमा रहेको तुलसी बहुउद्देशीय सहकारी संस्थाले उद्योगमा लगानी विस्तार गरेको छ । आफ्नो कारोबारलाई सहकारीमा मात्र सीमित नगरी तुलसीले लगानीलाई विविधिकरण गरी उद्योगदेखि गार्डेन मार्टमा बढाएको हो । यस्तै राइस मिल, भुजिया उद्योगका साथै कृषिमा पनि लगानी बढाएको सहकारीले जानकारी दिएको छ ।
सहकारीले तुलसी पम्प उद्योग सञ्चालन गरेर पानी तान्ने पम्प उत्पादन गरी बजारमा ल्याएको छ । मोरङको ग्रामथान गाउँपालिका मिलन चोकमा सञ्चालित उद्योगमा तुलसीले २५ करोड रुपैयाँ लगानी गरेको छ ।
मुख्य प्रवन्धक मन्दीप खवासले दिएको जानकारी अनुसार सहकारीले झापाको गौरादहमा तुलसी राईस मिल सञ्चालन गरेको छ । तुलसी चिउरा र भुजा उद्योग पनि सञ्चालनको अन्तिम तयारीमा रहको उनले जानकारी दिए ।
सहकारीले उद्योग सञ्चालनका लागि ३ विगाहा जग्गा लिईसकेको छ । उद्योगसँगै जग्गामा धान, मकै लगायत खाद्यान्न बाली उत्पादन गर्ने तयारी भएको उनले बताए ।
जग्गासहित उद्योग सञ्चालनका लागि ५५ करोड रुपैयाँ लगानी भईसकेको छ । यसमा अझै लगानी बढ्न सक्ने अनुमान मुख्य प्रवन्धक खबासको छ ।
विराटनगरमा केन्द्रीय कार्यालय रहेको सहकारीको दमक, धरान, खाँदबारी, गाईघाट, लाहान, जनकपुर, गोलबजार र धनकुटाको हिलेमा गरी ८ वटा सेवा केन्द्र सञ्चालनमा छन् ।
सहकारीले झापाको दमकमा र उदयपुरको गाईघाटमा गार्डेन मार्ट सञ्चालन गरेको छ । गार्डेन मार्टमा ६६ करोड रुपैयाँ लगानी गरेको छ । उदयपुरको खाबोमा तुलसी अनुसन्धान केन्द्र स्थापना गर्नको लागि २ हजार बिगाहा जग्गा लिइसकेको उनले बताए ।
१ अर्ब ५० लाख रुपैयाँ लगानीमा सञ्चालन हुन लागेको अनुसन्धान केन्द्रमा उन्नत जातका पशुपालनदेखि माछा पालन, अदुवा, कफीलगायत कृषिजन्य वस्तुको उत्पादन गरिने जनाइएको छ ।
तुलसीले सेवा केन्द्र सञ्चालन भएका स्थानमा सहकारी संस्था नै सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । विराटनगर केन्द्रिय कार्यालय र अन्य जिल्लामा शाखा कार्यालयको रुपमा स्थापना हुने सहकारीले जनाएको छ । सहकारी शाखा सञ्चालनमा रहेका सबै ठाउँमा गार्डन मार्ट सञ्चालन गर्ने तयारीमा सहकारी छ ।
सहकारीले गेडागुडी, दाल जस्ता खाद्य सामानहरु बजार ल्याईसकेको छ । घिउ, दुध, चामल, चिउरा, दलहन, तेलहन जस्ता सामानहरु पनि सहकारीले उत्पादन गरिरहेको छ ।
सहकारीमार्फत अहिलेसम्म ८५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अझै धेरैलाई रोजगारीको सिर्जना गर्ने सहकारीको लक्ष्य छ ।
सहकारीको कारोबार ७४ करोड ९७ लाख १६ हजार ३९६ छ । यो गत आर्थिक बर्ष २०७६÷०७७ को हो । चालु आर्थिक बर्षमा कारोबार केही बढेको सहकारीले जानकारी दिएको छ ।
सहकारीले सदस्यको सुविधाको लागि प्रविधिको प्रयोगलाई प्राथमिकताका साथ अघि बढाएको छ । मोबाईल बैंकिङ सेवा सञ्चालन गरेको छ । १०० जना भन्दा बढी सेयर सदस्यले मोबाईल बैंकिङ सेवा लिएका छन् । ट्याबबाट सफ्वयर प्रयोग गरी बचत संकलन गर्ने गरेको छ । जसले गर्दा सदस्यले आफ्नो रकम त्यही हेर्न पाउने व्यवस्था पनि रहेको छ ।
सरकारले सहकारीलाई अर्थतन्त्रको तीन खम्बा मध्ये एक खम्बा मानेको छ । सहकारीको मूल उदेश्य नै उद्योग सञ्चालन गरी रोजगारी सिर्जना गर्ने रहेको प्रबन्धक खवासले जानकारी दिए ।