काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका सुरक्षा विभागका कर्मचारी दैनिक काम नै ठप्प पारेर तालिममा गएपछि सेवाग्राही विभाग पुग्दै फर्कंदै गर्न बाध्य भएका छन् ।
आईकाओले आयोजना गरेको कार्यक्रममा विभागबाट २८ जना कर्मचारी तालिममा सहभागी भएपछि अफिस पूरै खाली भएको र सेवाग्राही कामै नगरी फर्कन बाध्य भएको एक एयरलाइन्स अपरेटरले जानकारी दिए ।
‘क्यानअन्तर्गत रहेको हवाई सुरक्षा विभागमा ४ दिनदेखि काम लिएर कुदिरहेको छु, तर त्यहाँ भएका सम्पूर्ण कर्मचारी तालिममा गएका छन्,’ एक सेवाग्राहीले गुनासो पोखे, ‘पछि आउनुस्, भन्दै फर्काउने गरेका छन् ।’
‘एक दिन, दुई दिन पो हुन्छ, हप्तौं तथा महिनौंसम्म तालिममा गएपछि सेवाग्राहीको काम कसले गर्छ ?’ ती सेवाग्राहीले प्रश्न गरे, ‘तालिममा जाँदा पनि दैनिक कामकाज नै ठप्प पारेर हिँड्न त भएन नी !’
पाइलटको लाइसेन्स तथा नवीकरण, अडिटलगायतका सम्पूर्ण काम ठप्प पारेर विभागका कर्मचारी तालिम लिन पुगेको ती सेवाग्राहीको गुनासो छ ।
हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले कर्मचारी तालिममा गएपछि दुई बजेपछि आएर सेवा दिएको दाबी गर्छन् । हाम्रोमा विगत ४५ दिनदेखि निरन्तररुपमा तालिम सञ्चालन भइरहेको छ । आईकाओको आयोजनामा भइरहेको तालिममा अधिकतम २८ जना कर्मचारी सहभागी छन् । तर, उनीहरुले सेवाग्राहीको कुनै पनि काम नरोकेको श्रेष्ठले दाबी गरेका छन् ।
पहिलो चरणको तालिम ३ हप्ताको थियो । त्यो सकिएको छ । दोस्रो चरणको पनि सकिएको छ, र अहिले तेस्रो चरणको तालिम चरिहेको छ । उक्त तालिममा २८ जना कर्मचारी सहभागी भएको उनी स्वीकार गर्छन् ।
तालिममा सहभागी भएबापत दैनिक भत्ता आउने भएपछि सुरक्षा विभागका कर्मचारी लर्को लागेर तालिममा सहभागी हुने गरेको क्यान स्रोत बताउँछ ।
बिहानै अफिस आउने र हाजिर गरेर तालिममा जाने परिपाटी पहिल्यैदेखि चल्दै आएको हो । हाजिर गरेपछि तलब पनि पाइयो । तालिममा सहभागी भएपछि भत्ता पनि पाइने भएकाले कर्मचारी तछाडमछाड गर्दै जाने गरेको क्यान स्रोतको दाबी छ ।
दैनिक भत्ता पाउने लोभमा सम्पूर्ण कर्मचारी तालिमतिर लागेपछि विगत एक महिनादेखि सेवाग्राही सेवाबाट वञ्चित भइरहेका छन् ।
क्यानका सुरक्षा विभागका प्रमुख श्रेष्ठले तालिममा सहभागी हुन कर्मचारीहरु गएका, तर उनीहरु भत्ताका लागि भने नगएको बताए । ‘भत्ताका लागि गएका होइनन्,’ उनले क्यापिटल नेपालसँग भने, ‘आईकाओको ‘रुल्स’अनुसार सहभागी भएका हुन् ।’
‘सुरक्षा विभागका कर्मचारी निजी क्षेत्रको पैसामा विश्व सयर गरिरहेका हुन्छन् । कहिले तालिमस्थल निरीक्षण, कहिले जहाज निरीक्षणलगायतका बहाना पारेर क्यानका कर्मचारी विदेश गइरहेका हुन्छन् । क्यानबाट गएका कर्मचारीको खाने बस्ने खर्च त निजी क्षेत्रले नै व्यहोरेको हुन्छ भने दैनिक भत्तासमेत उपलब्ध गराउनु पर्छ । त्यो पनि डलरमा,’ अर्का एक सेवाग्राहीले भने ।