चिनियाँ कम्युनिष्ट पार्टीले सन् २०२१ लाई शतवार्षिकीका रूपमा मनाइरहेको छ । सन् १९२१ मा स्थापित पार्टीले यस अवधिमा धेरै आरोह अवरोहहरू देख्यो । तर, त्यसबेलादेखि देश र जनताले समृद्धि र बैभवीकरणको अनुपम दृश्यहरू मात्र देखिरहेको छन्, भोगिरहेका छन् । सन् १९४९ मा गृहयुद्ध समाप्ति र जनवादी गणतन्त्र चीनको घोषणासँगै माओत्सेतुङले पार्टीको नेतृत्व गर्दै राष्ट्रको बागडोर सम्हाल्न पुग्छन् ।
यिनको कार्यकालमा चीनले आर्थिक र बाह्य सम्बन्धभन्दा पनि आन्तरिक समस्या र किचलोको व्यवस्थापनमा समय खर्चिनुपरेको देखिन्छ । सन् १९७६ मा माओको देहान्तपश्चात केही समयको अलमल र जालझेलसँगै सन् १९७८ मा पार्टीको नेतृत्व सम्हाल्दै देङ साओ पिङ सत्तामा आइपुग्छन् । आफ्नो कार्यकालमा यिनले आर्थिक सुधारका योजनाहरू अघि सार्दै चीनलाई औद्योगिकीकरण र खुला अर्थतन्त्रका रुपमा बाह्य विश्वमा प्रवेश गराएसँगै चीनमा नयाँ युगको थालनी भएको मानिन्छ । सन् १९७८ मा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) का हिसाबले विश्वमा चीन ११ औं स्थानमा थियो ।
सन् १९५२ मा ६७.९ अर्ब युआन बराबरको जीडीपी भएको चीनले देङ साओ पिङको आर्थिक सुधारका कदमहरूपश्चात ३२ वर्षकै अवधिमा सन् २०१० मा विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बन्न सफल भयो ।
यस अवधिमा युरोपका नेदरल्याण्ड र स्पेनलाई विस्थापित गर्दै भारत र रसिया उत्कृष्ट ११ भित्र पर्न सफल भएका छन् । सन् २००१ मा विश्व व्यापार संगठन (डब्ल्यूटीओ) प्रवेश गरेसँगै चीनको अर्थतन्त्रले ठूलो झलाङ मार्न सकेको देखिन्छ ।
विश्वको जीडीपीको करिब १८ प्रतिशत हिस्सा ओगट्ने चीनको प्रतिव्यक्ति आय सन् १९५२ मा ११९ युआन (१८ डलर) रहेकोमा सन् २०२० मा ७२ हजार ४४७ युआन अर्थात करिब ११ हजार डलर पुगेको छ । क्रयशक्ति क्षमताको आधारमा मापन गरिने कुल गार्हस्थ्य उत्पादनमा चीन विश्वमै पहिलो नम्बरमा पर्छ । १ अर्ब ४१ करोड जनसंख्या भएको चीन उत्पादन र निर्यातका हिसाबले विश्वकै कारखानाका रूपमा चिनिन्छ ।
आणविक शक्ति र विश्वकै ठूलो सैन्य ताकतसहित तीव्र गतिमा आर्थिक प्रगति हासिल गर्न सक्षम रहेकाले सम्भावित महाशक्तिका रूपमा चीनलाई हेरिन्छ । चीन धेरै सुन सञ्चिति गर्ने मुलुकमा पर्छ । गत मे महिनाको अन्त्यसम्ममा १ हजार ७५३ मेट्रिक टन सुन सञ्चिति रहेको त्यहाँको केन्द्रीय बैंकले जनाएको छ । यस्तै, चीनको वैदेशिक मुद्रा सञ्चिति धेरै भएको मुलुकमा पर्छ । गत मे महिनाको अन्त्यसम्ममा ३२ खर्ब २१ अर्ब अमेरिकी डलर सञ्चिति छ । यसबीचमा ऊर्जा विकासमा चीनले ठूलो उपलब्धि हासिल गरेको छ ।
कोरोना भाइरको उद्गम मुलुक चीनले यसलाई नियन्त्रण गरी अहिले आर्थिक चलायमान बनाउन थालेको छ । पछिल्लो समयमा छिटो र झण्डै दुई अंकको आर्थिक वृद्धि चीनले हासिल गर्न थालेको छ । पछिल्लो त्रैमाशमा चीनको आर्थिक विस्तार १८ प्रतिशतसम्म पुगेको छ ।
यो समृद्धि हासिल गर्नका लागि अर्थतन्त्रका विभिन्न क्षेत्रमा गरेको प्रगतिलाई हेरौं ।
सन् १९४९ देखि सन् २०१८ सम्ममा गतिशीलताको जीवन मानिने राष्ट्रिय राजमार्गको लम्बाइ ८१ हजार किलोमिटरबाट ४८ लाख ४७ हजार किलोमिटरमा विस्तार गरिएको छ ।
समयको महत्वलाई मध्येनजर गरेर द्रुत राजमार्गको निर्माण र विस्तारलाई पनि विशेष ध्यान दिइएको छ ।
सन् १९४९ देखि सन् २०१८ सम्ममा गतिशीलताको जीवन मानिन अर्कोे क्षेत्र रेलवे प्रणालीको लम्बाइ २१ हजार ८०० किलोमिटर बाट १ लाख ३२ हजार किलोमिटरमा बिस्तार गरिएको छ ।
त्यसैगरी उच्च गतिको रेलमार्गको लम्बाइ सन् २०१८ सम्ममा २९ हजार किलोमिटर पुगिसकेको छ । जुन भनेको विश्वको ६० प्रतिशत हिस्सा हो ।
त्यसैगरी २३५ वटा विमानस्थल भएको चीनमा सन् २०१९ मा करीव ६६ करोड यात्रीले हवाई यात्रा गरेका थिए ।
३४ वटा ठूला र २ हजार वटा साना बन्दरगाहहरूबाट देशभित्र र बाहिरको व्यापारलाई टेवा दिने काम पनि गरिएको छ । सन् २०१९ मा ४ अर्ब टन बराबरको निर्यात र ५.१९ अर्ब टन बराबरको सामान चिनियाँ बन्दरगाहबाट किनबेच गरिएको थियो ।
खाद्य वस्तुहरूको उत्पादनमा विभिन्न प्रविधिहरूको प्रयोग र अनुसन्धानका कारणले विश्व जनसंख्याको २० प्रतिशत मान्छेहरूलाई पुग्ने उत्पादन चीन एक्लैले गर्छ । सन् १९४९ पश्चात् खाद्यवस्तुहरूको उत्पादनमा पनि ठूलो फड्को मारेको छ ।
यस वर्ष चीनले आफूलाई गरिबी मुक्त देश घोषणा गरेको छ । सन् १९७८ देखि अहिलेसम्म उसले ७७ करोड मान्छेहरूलाई गरिबीबाट मुक्त गरेको छ । यस क्रममा उस्ले ९९.९ प्रतिशत जनसंख्यालाई आधारभूत बिमाको नीतिद्वारा संरक्षित गरिसकेको छ । ९८ प्रतिशत ग्रामीण भेगमा इन्टरनेटको सुविधा पुर्याइसकेको चीनले ९ वर्षे शिक्षालाई अनिवार्य गरेको छ । सन् १९२१ मा ९० प्रतिशत जनसंख्या निरक्षर रहेकोमा सन् २०२० सम्म आइपुग्दा ४ प्रतिशतमा झारेको छ । जीडीपीको ४.०४ प्रतिशत अर्थात ४ खर्ब युआन बराबर रकम शिक्षाका लागि सन् २०१९ मा विनियोजन गरेको थियो ।
स्वास्थ्यको क्षेत्रमा पनि चीनले ठूलो सफलता प्राप्त गरेको पाइन्छ । सन् २०१८ सम्ममा देशैभरि ९ लाख ९७ हजार अस्पताल र स्वास्थ्य संस्था करिब ८५ लाख शय्यासहित सेवारत छन् । प्रतिहजार जनसंख्याका लागि २.०१ जना डक्टरहरू उपलब्ध छन् । जसका कारणले औसत आयुमा पनि बढोत्तरी आएको छ । सन् १९४९ मा ३५ वर्ष औसत आयू भएकोमा सन् २०१९ मा आइपुग्दा ७७.३ वर्षमा पुगेको छ । बालमृत्युदर सन् १९४९ मा प्रतिहजार २०० रहेकोमा सन् २०१७ मा आइपुग्दा ६.८ जनामा झरेको छ । मातृमृत्युदर सन् १९४९ मा प्रतिलाख १५० रहेकोमा सन् २०१८ मा १८.३ जनामा झरेको छ ।
विज्ञान प्रविधिमा पनि विश्वमै चीनको बर्चश्व रहेको छ । सन् १९४९ मा जम्मा ५० हजार जना प्राविधिकहरू थिए । तिनैको भरमा सन् १९६४ मा पहिलो पटक आणविक बमको सफल परीक्षण गर्दै पाँचौं आणविक शक्ति राष्ट्र रूपमा आफूलाई उभ्याएको थियो । सन् १९७० मा अन्तरिक्षमा मानवरहित र सन् २००३ मा मानवसहितको भूउपग्रह पठाएको थियो । सन् २०१९ मा चन्द्रमाको पृथ्वीबाट नदेखिने सतहमा पहिलोपटक भूउपग्रह अवतरण गरी विश्वको ध्यान आकर्षित गर्न सफल भएको थियो ।
यसै वर्ष उसले मंगलग्रहमा पनि आफ्नो उपस्थिति जनाइसकेको छ । उसको परीक्षण सफल भइसकेको छ । विज्ञान र प्रविधिजगतका नयाँ–नयाँ आविष्कारमा पनि पहिलो स्थानमा आफूलाई राख्ने गरेको छ । अनुसन्धान र विकासका लागि सन् २०२० मा उसले जीडीपीको २.४ प्रतिशत अर्थात ३७० अर्ब अमेरिकी डलर बराबरको रकम छुट्ट्याएको थियो । सञ्चार जगतमा ५ जीका नामले परिचित प्रविधिको पनि चीन सबैभन्दा बढी नेटवर्क भएको देश हो । ७ लाख वटा स्टेसनसहित विश्वको करिब ७० प्रतिशत ५जीको नेटवर्क चीनले ओगटेको छ ।
औद्योगिक उत्पादनमा सन् २०१० देखि अमेरिकालाई पछि पार्दै चीनले आफ्नो प्रभुत्वलाई निरन्तरता दिएको छ । सन् २०१९ सम्म आइपुग्दा चीनले विश्वको औद्योगिक उत्पादनको करिब २६ प्रतिशत हिस्सा ओगट्छ ।
सन् १९७८ मा मात्र विश्व व्यापारका लागि खुला गरिएको अर्थतन्त्रले सन् १९८३ मा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) जम्मा २.७० अर्ब अमेरिकी डलर प्राप्त गरेको थियो । तर, व्यापार गर्नका लागि सहज वातावरण उपलब्ध गराएका कारणले सन् २०२० मा यस्तो लगानी १६३ अर्ब अमेरिकी डलरबराबर प्राप्त गर्दै विश्वमै धेरै लगानी भित्र्याउने देश बनेको छ । उसले अन्य धेरै देशहरूमा विभिन्न प्रयोजनका लागि ठूलो धनराशी लगानी पनि गर्छ र विश्वमै दोस्रो स्थान ओगट्छ । एप्पललगायत विश्वका सबैभन्दा ठूला कम्पनीले चीनमा उत्पादन गरिरहेका छन् ।
देङको उदयको ४२ वर्षमा चीनले ऊर्जा क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको छ । विश्वको सबैभन्दा ठूलो २२ हजार ५०० मेगावाटको थ्री गर्जेज बाँध आयोजना सम्पन्न गरेको छ । कम्युनिष्ट पार्टी स्थापनाको शतवार्षिक अवसरमा विश्वकै दोस्रो ठूलो १६ हजार मेगावाटको बाइटान बाँध आयोजना पनि सम्पन्न गरेको छ । चीनले जलविद्युत, सौर्य र आणविक ऊर्जा उत्पादनमा जोड दिएको छ ।
वर्तमान राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङले सन् २०१२ मा सत्ता सम्हालेपश्चात चीनले आफूलाई विश्वमञ्चमा अझ सशक्तरुपमा उभ्याउन थालेको छ । आफ्नो सत्तारोहणको समयमा गरिबी उन्मूलनलाई मुख्य मुद्दा बनाएका चिनफिङले ९ वर्षको अवधिमै उक्त बाचालाई पूरा गर्दै यस वर्ष चीनलाई गरिबी मुक्त देशको रुपमा घोषणा गरिसकेका छन् ।
उसले गरेको प्रगतिलाई ओझेलमा पार्नका लागि केही देशहरूले विभिन्न किसिमका आक्षेप र लान्छनाहरू बेला–बेलामा लगाउने गर्छन् । उसले पनि तिनीहरूका विरुद्ध मुखभरिको जवाफ फर्काउने गरेको छ । केही साताअघि मात्र जी ७ समूहको बैठकमा चीनकाविरुद्ध मुद्दाहरू उठेपछि उसले मुठीभरका केही देशले विश्वको भविष्य निर्धारण गर्न नसक्ने भन्दै बुलन्द रूपमा आवाज उठाएको थियो ।
चिनियाँ कम्युनिष्ट पार्टीले स्थापनाको १०० वर्ष मनाउँदै गर्दा विश्वलाई नै आप्mनो उत्पादनहरू, प्रविधिहरू, ज्ञानहरू, सीपहरू र आविष्कारहरूमार्फत आफूमा निर्भर गराउँदै लगेको छ । चीनलाई विश्व जगतले नै अबको केही वर्षभित्रको सम्भावित महाशक्तिका रूपमा हेर्न थालिसकेका छन् । किनभने, चीनलाई माया गरे पनि, घृणा गरे पनि उ र उसका उत्पादनहरू बिना विश्वको जीवन नचल्ने भइसकेको छ । महाशक्ति राष्ट्र बन्नबाट चीनलाई कसैले रोक्छ भने त्यो उ आफैं मात्र हो र चीनका लागि असम्भव पनि त केही छैन ।
(लेखक शेरचन प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत हुन)
स्रोत: चिनियाँ तथ्याँक विभाग