विराटनगर । मुरारका ग्रुपले १ अर्ब रुपैयाँ लगानीमा नयाँ बिलेट उद्योग सञ्चालनमा ल्याउने भएको छ । पशुपति आइरन एण्ड स्टिल प्रालिमार्फत मुरारका ग्रुपले नयाँ बिलेट उद्योग सञ्चालनमा ल्याउन लागेको हो । उद्योग सुनसरीको दुहवीमा छ ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले गरेको लकडाउनका कारण उद्योग सञ्चालनमा ढिला भए पनि केही समयभित्रै उद्योगले बिलेट उत्पादन थाल्ने सञ्चालक प्रदीप मुरारकाले बताए ।
‘पशुपति आइरन पूर्वकै पहिलो बिलेट उद्योग हो,’ मुरारकाले क्यापिटल नेपालसँग भने । उनका अनुसार उद्योगको बिलेट बनाउने क्षमता दैनिक ३०० टन छ । सोही बराबर परिमाणमा डन्डी उत्पादन गर्न सक्छ । उद्योगमा २० मेगावट विद्युत् खपत हुन्छ ।
बिलेट उद्योग विद्युत् खपत गर्ने ठूलो कारखानाभित्र पर्छ । केही समयपछि देशभित्र उत्पादित बिजुली खेर जाने अवस्थामा आउँदै छ । तर, विद्युत् खपत बढाउने उद्योग लागेको अवस्थामा यसको सम्भावना रहन्छ ।
अहिले नेपालले बिलेट आयातमा ठूलो धनराशी खर्च गरिरहेको छ । त्यतिमात्रै होइन, विदेशमा बिलेटको मूल्यमा उतार चढाब हुने बित्तिकै त्यसको प्रत्यक्ष असर नेपालमा परिरहेको हुन्छ । यदि नेपालमै बिलेट बनेको अवस्थामा रडको मूल्यमा अस्वाभाविक परिवर्तन आउने सम्भावना हुँदैन ।
डन्डी बनाउन प्रयोग गरिने कच्चा पदार्थ बिलेट हो । विदेशबाट ‘स्पन्ज आइरन’ ल्याएर बिलेट बनाइन्छ । त्यसबाट रड उत्पादन गरिन्छ । उद्योगले भारतबाट स्पन्ज आइरन (बिलेट बनाउने कच्चा पदार्थ) ल्याएर बिलेट उत्पादन गर्नेछ । नेपालमै बिलेट उत्पादन गरेर डण्डी उत्पादन गर्दा खर्चसमेत कम लाग्ने मुरारकाले बताए ।
खानीबाट निकालेको फलामको धाउलाई फुटालेर सामान्य ग्यास चेम्बरबाट प्रशोधन गरेपछि स्पन्ज आइरन बन्ने मुरारकाको भनाइ छ । ‘यो गिट्टीको आकारमा हुन्छ, ’ उनले भने, ‘त्यही स्पन्ज आइरनलाई १६०० डिग्री तापक्रममा पगालेर स्टिल बिलेट बनाइन्छ ।’
बिलेटबाट डन्डी बनाउँदा प्रतिटन १०० युनिट बिजुली लाग्छ भने स्पन्ज आइरनबाट बिलेट बनाउँदा प्रतिटन १००० युनिट बिजुली खपत हुन्छ । बिलेटबाट डन्डी बनाउँदा ‘कन्भर्जन कष्ट’ प्रतिटन ५ हजार रुपैयाँ लाग्छ भने बिलेट बनाउँदा प्रतिटन कन्भर्जन कष्ट २० हजार रुपैयाँ पर्छ ।
अहिले देशभर सञ्चालित अधिकांश स्टिल उद्योगहरूले भारतबाट बिलेट आयात गरेर डन्डी उत्पादन गर्दै आइरहेका आइरहेको मुरारकाको भनाइ छ । करिब आधादर्जन उद्योगहरूले स्वदेशमै आंशिक बिलेट उत्पादन गरे पनि अपुग भारतबाटै आयात गर्छन् ।
‘हाम्रो उद्देश्य देशभित्रै गुणस्तरीय बिलेट उत्पादन गर्नु हो, भारतबाट स्पन्ज आइरन ल्याएर स्वदेशमै बिलेट उत्पादन गर्छौं,’ उनले भने, ‘भारतीय बजारमा बिलेटको भाउ घटबढ हुने बित्तिकै नेपालमा डन्डीको मूल्य पनि तलमाथि भइहाल्छ, स्वदेशमै बिलेट उत्पादन सुरु भएपछि अन्तर्राष्ट्रिय बजार भाउले त्यति प्रभाव पार्ने छैन ।’
कच्चा फलामको ढुंगालाई टुक्र्याएर बनाइएको गिट्टीलाई स्पन्ज आइरन भनिन्छ ।