एजेन्सी । विश्व सामाजिक सञ्जाल डे (वल्र्ड सोसल मिडिया) पहिलोपटक २०१० को जून ३० देखि मनाउन सुरु गरिएको हो । २० वर्षका युवा हुन् वा ६० वर्षका वृद्ध आजको समयमा हरेकको जीवनमा सामाजिक सञ्जाल एउटा अहम हिस्सा बनिसकेको छ । विश्वलाई हामीले हेर्ने दृष्टिकोण, मानिसहरुसँग गर्ने सञ्चार तथा अन्तरक्रिया सबै कुरालाई यसले परिवर्तन गरिदिएको छ ।
सामाजिक सञ्जालको महत्व र सञ्चारको महत्वपूर्ण हतियारको रुपमा भएको यसको उद्विकासलाई दर्साउन प्रत्येक वर्षको ३० जूनमा विश्वभर वल्र्ड सोसल मिडिया डे मनाउने गरिन्छ ।
विश्वका विभिन्न कुनाका मानिसहरुलाई जोड्ने, सामाजिक मुद्दालाई स्थापित गरी उचाइमा पुर्याउने, व्यवसायलाई बढाउन र चिनाउन मद्दत गर्नेदेखि सबै क्षेत्र र पेशामा उल्लेखनीय प्रभाव पार्ने कुरामा सामाजिक सञ्जालले ‘गेम चेन्जर’को भूमिका निभाउँदै आइरहेको छ । अझ कोभिड–१९ महामारीको समयमा त सोसल मिडिया प्लेटफर्मले हेल्पलाइनको अहम् भूमिका नै निर्वाह गर्यो ।
सोसल मिडिया डेको इतिहास
वल्र्ड सोसल मिडिया डे पहिलोपटक २०१० को जून ३० देखि मनाउन सुरु गरिएको हो । सामाजिक सञ्जालको प्रभाव र वैश्विक सञ्चारमा यसको भूमिकालाई मध्यनजर गर्दै यो दिवस मनाउन थालिएको हो । विश्वको पहिलो सोसल मिडिया प्लेटफर्म सिक्सडिग्रिज १९९७ मा सार्वजनिक भएको थियो, जसलाई एन्ड्र वेनरिचले संस्थापन गरेका थिए ।
उक्त वेबसाइटमार्फत प्रयोगकर्ताहरुले आफ्ना साथी तथा परिवारजन सदस्यहरुलाई एपमा सूचीकृत गर्न सक्दथे । त्यसमा बुलेटिन बोर्ड, स्कुल एफिलिएसन तथा प्रोफाइल जस्ता रोचक फिचरहरु थिए । तर, २००१ म दुर्भाग्यवश दशौं लाख प्रयोगकर्तालाई जोडिसकेको यो एप बन्द हुन पुग्यो ।
यसपछि विस्तारै फ्रेण्डस्टिर, माइस्पेस, फेसबुक जस्ता एपहरु आए जसलाई मानिसहरुले सञ्चार तथा अन्तरक्रियाका लागि प्रयोग गर्न थाले । तर, अब समय परिवर्तन भइसकेको छ । मानिसहरु ट्वीटर, इन्स्टाग्राम, लिङ्कडिन, स्नापच्याट जस्ता विभिन्न प्लेटफर्महरुलाई प्रयोग गरी जानकारीका स्रोत बनाइरहेका छन् । तर, यसको खराब पक्ष भनेको कहिलेकाहीँ यिनै माध्यमहरु भ्रामक तथा फर्जी जानकारीहरु फैलाउने साधनसमेत बनिरहेका छन् ।
सोसल मिडिया डेको महत्व
सामाजिक सञ्जालहरुले हाम्रो दैनिक जीवनलाई कसरी प्रभावित पारिरहेको छ भन्ने कुरा दर्साउन विश्वभर आजको दिन यो दिवस मनाइन्छ । विश्वको कुनै पनि कुनामा बसेर तपाईंले हजारौं कोस टाढा रहेका अपिरिचित व्यक्तिलाई थोरै शुल्कमा म्यासेजिङ सर्भिस प्लेटफर्म प्रयोग गरी जोड्न सक्नुहुन्छ । एउटा बटम छोएकै भरमा पनि विश्वलाई आफ्नो सामू ल्याउन सक्नुहुन्छ तपाईंले ।
व्यवसायीहरुका लागि त यो ठूलो अस्त्र नै बनेको छ । यसले व्यवसायीहरुलाई सेवाग्राहीहरुसँग जोड्ने सम्बन्ध बनाउनेदेखि ब्राण्डलाई प्रचार गर्नेसम्म सबै किसिमका सुविधाहरु दिँदै आइरहेका छन् । मानिसहरुलाई सूचना मनोरञ्जन दिनेदेखि विचार धारणालाई राख्न समान प्लेटफर्मदेखि हरेक कुराको सुविधा प्रदान गर्दै आइरहेको छ ।
अहिले सबै किसिमका महत्वपूर्ण जानकारी तथा सूचनाहरु सामाजिक सञ्जालमै पाइन्छन् जसले मानिसहरुलाईको सञ्चार गर्ने तथा कुनै कुराहरु बुझ्ने क्षमता र शैलीलाई एकदमै फरक बनाइदिएको छ ।
कोभिड संकटमा सामाजिक सञ्जाल
कोभिडको समयमा अक्सिजन र अस्पतालका शय्या खोज्नेहरुका लागि सामाजिक सञ्जालले आशाको किरण छरेको थियो । कोभिडको संकटकालीन र स्वस्थ्य सामग्री अभावको समयमा फेसबुक, ट्वीटर जस्ता सञ्जालहरुमा आफ्नो समस्या राखेर धेरै मानिसहरुले सामूहिक सहयोग जुटाइरहेका थिए । यस्तो लाग्थो सामाजिक सञ्जाल कुनै बन्द वैश्विक गाउँ हो ।
मानिसहरु सामाजिक सञ्जालमा आफ्नो पीडा र कोभिड विरुद्धको संघर्षको कथा सुनाएर मानिसहरुबाट सहानुभूति बटुल्ने तथा अन्यलाई सुसूचित पार्ने काम गरिरहेका थिए । सामाजिक सञ्जालकै माध्यमबाट मानिसहरु हातमा हात काँधमा काँध मिलाएर अप्ठ्यारो समयमा एकअर्कोलाई सहयोग गरिरहेका थिए । सही समयमा सही जानकारी अनमोल जीवनका लागि अत्यावश्यक थियो जुन सामाजिक सञ्जालबाट मात्र सम्भव भइरहेको थियो ।
यसबाहेक संकटको घडीमा सरकार र सरोकारवाला निकायहरुमा देखिने अकर्मण्यता, अन्यमितता, भ्रष्टचार एव बेवास्तालाई सामाजिक सञ्जालमा चिरफार गरी दबाब सिर्जना गर्ने काम पनि भइरहेको थियो ।
हटसुट डट कमका अनुसार विगत एक वर्षमा विश्वभर ७.६ प्रतिशतले इन्टरनेट प्रयोगकर्ताहरुको संख्या बढेर ४ अर्ब ७२ करोड पुगेको छ । जुन विश्व जनसंख्याको ६० प्रतिशत हो ।
तथ्यांकको अनुसार आधा अर्बभन्दा धेरै नयाँ प्रयोगकर्ताहरु यस वर्ष सोसल मिडियामा जोडिए । अप्रिल २०२१ सम्म मात्र विश्वभर सोसल मिडिया प्रयोगकर्ता संख्या ४ अर्ब ३३ करोड रहेको थियो ।