काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा मंगलबारदेखि सार्वजनिक यातायात जोर-बिजोर प्रणालीमा सञ्चालन भए । तर, सुन्दर यातायात प्रालिले भने आफ्ना कुनै पनि बस सञ्चालनमा ल्याएन । त्यसो त सञ्चालन गरिएका अन्य बसको संख्या पनि कम छ ।
सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाकाअनुसार सरकारले विद्युतीय सवारी साधन चार्जिङ स्टेसनको दरमा पैसा लिने भनेर निर्णय गरेको थियो । तर, अहिले उक्त नियम पालना नगरी अन्य सवारी साधन जस्तै भाडा तोकेको कारण सुन्दरका बस सञ्चालन नभएका हुन् ।
तीन महिना अगाडिसम्म नियम पालना भए पनि यो महिनाबाट सो नियम हटाइ विद्युत प्राधिकरणले प्रतियुनिट ९ रुपैयाँ ५० पैसाको बिल पठाएको उनको भनाइ छ । तीन महिना अगाडिसम्म ५ रुपैयाँ २० पैसा विद्युतीय सवारीको पैसा तोकिएको थियो ।
डिजेलको भाउ बढेकाले विद्युतीय सवारी साधनको भाउ बढाउनुपर्छ भन्नेमा सरकार लागेको अध्यक्ष थापाले बताए । ‘विद्युत निर्धारण आयोगले परामर्श लिएर ऊर्जा मन्त्रालयको क्याबिनेटबाट पास भएको विद्युतीय चार्ज, प्राधिकरणको एक्लो निर्णयले बढाउनु राम्रो होइन ।’ उनी भन्छन्, ‘अहिलेको बिल अनुसार हामीलाई डिजेलभन्दा बढी पैसा पर्छ ।’
विद्युत निर्धारण आयोगले दिएको कागजपत्र तथा सरकाले निर्णय गरेको प्रमाण आफूहरुसँग भएको कारण विद्युत प्राधिकरणका निर्देशको एकल निर्णय मान्य नहुने थापाले बताए ।
साथै बुधबारसम्म प्राधिकरणले सरकारले तोकेको अनुसार भाडा समायोजन नगरे विरोध गर्ने उनको भनाइछ । यही प्रणलीअनुसार प्राधिकरणले निर्णय गर्दै गएमा विद्युतीय सवारी साधन बन्द गर्ने उनले चेतावनीसमेत दिएका छन् ।
हाल सुन्दर यातायातका ७ वटा बस सञ्चालनमा छन् । सुन्दरले २०६६ सालदेखि विद्युतिय बस सेवा सञ्चालन गरेको हो । हाल १८ जना कर्मचारी सुन्दर यातायातमा आबद्ध छन् ।
त्यस्तै नेपाल यातायत व्यवसायी राष्ट्रिय महासंका महासचिव सरोज सिटौलाले १८ गतेसम्मको लागि सरकारलाई पुर्नविचार गर्ने समय दिएको बताए । बजार खुलेपछि जोर-बिजोर प्राणली तथा उपत्यका मात्रै नभएर लामो दूरीका यातायात पनि सञ्चालन गर्नु पर्ने उनको भनाइ छ ।