काठमाडौं । विश्वको सबैभन्दा ठूलो मोबाइल समारोह मोबाइल वर्ल्ड कंग्रेस एमडब्लुसी यसवर्ष धेरै फरक हुने भएको छ । स्पेनको बार्सिलोनामा सोमबार अर्थात २८ जुलाईदेखि सुरु भएको एमडब्लुसी २०२१ यस वर्ष फरक हाईब्रिडरुपमा आयोजना भइरहेको छ ।
गत वर्ष कोभिडका कारण आयोजना हुन नसकेको सो समारोहमा यस वर्ष भने कम्पनीहरुले भौतिक र भर्चुअल मिश्रितरुपमा सहभागिता जनाइरहेका छन् ।
यस वर्ष गुगल, नोकिया, साओमी, फेसबुक, सोनी, इरिक्सन जस्ता ठूला तथा नामूद कम्पनीहरुले एमडब्लुसीमा सहभागिता जनाएनन् । यद्यपी यी कम्पनीहरुले भर्चुअल माध्यमबाट कुनै प्रोडक्ट सार्वजनिक गर्छन् वा गर्दैनन् भन्ने विषयमा अस्पष्ट छ ।
यस वर्ष एमडब्लुसीमा धेरै नयाँ बस्तुहरु सार्वजनिक हुने बताइए पनि फ्ल्यागसिप स्मार्टफोन भने सार्वजनिक नहुने अपेक्षा गरिएको छ ।
कसले के सार्वजनिक गरे ?
सामसङले यस वर्ष एमडब्लुसीमा कुनै पनि नयाँ स्मार्टफोन सार्वजनिक नगर्ने बताएको छ । समारोहमा भर्चुअल उपस्थिति जनाएको सामसङले आफ्नो ब्राण्ड न्यु वान यूआई वाच यूजर एक्सपिरियन्सलाई साझा गरेको छ ।
ग्यालेक्सी वाच र स्मार्टफोन एक्सपिरियन्सलाई थप गहिरो र राम्रो बनाउन कम्पनीले उक्त नयाँ इन्टरफेसलाई डिजाइन गरेको हो । गुगलसँगको सहकार्यमा निर्माण गरिएको कारण उक्त वान यूआई वा ग्यालेक्सी वाचमा पनि पाइने बताइएको छ ।
लेनोभोले भने उक्त समारोहमा पाँचवटा नयाँ ट्याबलेट र एउटा स्मार्ट क्लक सार्वजनिक गरेको छ । कम्पनीले लेनोभो योगा ट्याब ११, योगा ट्याब १३, योगा पी ११ प्लास, ट्याब एम सेभेन थर्ड जेन र ट्याब एम एट थर्ड जेन सार्वजनिक गरेको हो ।
कम्पनीले फाइभजी र एआईमा केन्द्रित रहेर सोमबार समारोहको उद्घाटन सत्रमा इन्टेल कम्पनीले ‘अनलिसिङ दी पोसिबिलिटीज अफ फाइभजी’ शिर्षकमा भर्चुअल कार्यक्रमको आयोजना गरेको थियो ।
समारोहमा लोनोभो, इन्टेल, एनभिदिया, क्वालकम, सामसङ लगायत कम्पनीहरुको उपस्थिति छ । यी कम्पनीहरुले समारोहमा फाइभजी एडभान्समेन्ट, एआई, आइओटी लगायत विभिन्न विषयमा भर्चुअल तथा भौतिक सेसनहरुको आयोजना गरेका थिए ।
यसबाहेक मंगलबार टेस्लाका प्रमुख एलोन मस्कले पनि कार्यक्रममा उपस्थिति जनाएर स्टारलिङ्कका कार्यक्रम, स्वचालित साधनको क्षेत्रमा टेस्लाको अत्याधुनिकता एवम् न्युरोलिङ्कका बारेमा कुरा राखेका थिए ।बार्सिलोनामा २८ जूनदेखि आयोजना भएको यो समारोह १ जुलाईसम्म चल्ने छ ।