काठमाडौं । कृषि प्रधान देश नेपालले चामल आयात गर्छभन्दा अनौठो लाग्छ । तर, भारतलगायत तेस्रो मुलुकहरूबाट बर्सेनि अर्बौं रुपैयाँको चामल आयात हुने गरेको छ । सन् ८० को दशकमा नेपालबाट चामललगायत अन्य खाद्यान्न विदेशमा निकासी हुने गरेकोमा अहिले आयात हुने गरेको छ ।
अझै पनि व्यावसायिक कृषि प्रणालीको विकास नहुँदा उत्पादन बढाउन नसकेको कृषि विज्ञहरूको भनाइ छ । यस्तै समयमै मल र बीउ नपाउनु र पर्याप्त सिँचाइ सुविधा नपुग्दा धानको मनग्य उत्पादन हुने सकेको छैन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाखसम्म)को अवधिमा ४४ अर्ब ४६ करोड ३५ लाखको चामल आयात भइसकेको छ ।
गत वर्ष सोही अवधिमा २६ अर्ब ६१ करोड ८६ लाखको चामल आयात भएको थियो । यसरी हेर्दा यो वर्ष चामल आयात ६७ प्रतिशतले बढिसकेको छ । गत वर्षको भन्दा यो वर्ष चामल आयात १७ अर्ब ८४ करोड रुपैयाँले बढेको छ ।
गत वर्षको १२ महिनाको अवधिमा ३३ अर्ब ३५ करोड रुपैयाँको चामल आयात बढेको देखिन्छ भने सन् ०१८÷०१९ मा ३२ अर्ब २१ करोड ५० लाख रुपैयाँको चामल आयात भएको थियो । तथ्यांकलाई हेर्दा गत वर्षको १२ महिनाको भन्दा यो वर्षको १० महिनामा बढी चामल आयात भएको देखिन्छ । चालू आर्थिक वर्षको जेठ र असारको आयात विवरण आउन बाँकी भएकाले अझ बढ्नेछ ।
चामल आयात औपचारिक रूपमा भए पनि नेपालबाट भारतमा धान तथा चामल अनौपचारिक च्यानलबाट निर्यात हुने गरेको छ । यसको विवरण भन्सार विभागसँग छैन ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २०७७ पुसमा सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०७७/०७८ मा ५६ लाख २१ हजार ७ सय १० टन धान उत्पादन भएको छ । अघिल्लो वर्ष ५५ लाख ५० हजार ८ सय ७८ टन धान उत्पादन भएको थियो ।
गत वर्ष धान उत्पादनमा वृद्धि भए पनि अझै नेपाल चामलमा आत्मनिर्भर बन्न सकिरहेको छैन । नेपाललाई कृषि प्रधान मुलुकका रूपमा लिइए पनि चामलमा आत्मनिर्भर बन्न नसक्नु दुःखद् भएको विज्ञहरूको भनाइ छ । कृषि मन्त्रालयका अधिकारीहरूको अनुसार नेपाललाई वार्षिक १० लाख टन अपुग हुन्छ ।
धान नेपालको प्रमुख खाद्यान्न बाली हो । चीन, भारत, इन्डोनेसिया, बंगलादेश, थाइल्यान्ड, भियतनाम, म्यान्मार, फिलिपिन्स, कम्बोडिया र पाकिस्तान संसारकै १० प्रमुख धान उत्पादक देश हुन भने नेपाल १७ औं स्थानमा पर्छ ।
करिब ५ हजार वर्ष पहिले धानको उत्पत्ति भएको विश्वास गरिन्छ । नेपालमा २०६१ सालदेखि असार १५ लाई धान दिवसका रूपमा कृषि मन्त्रालयले मनाउँदै आएको छ । दिवसका रूपमा धान दिवस मनाए पनि उत्पादन वृद्धि र आयातमा कम गर्न ती निकायहरूबाट उचित पहल भएको देखिँदैन ।
नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको हिस्सा २६.५० प्रतिशत छ । धानको कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा १५.३५ प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा ४.०६ प्रतिशत योगदान रहेको तथ्यांक छ । धान उत्पादन राम्रो हुँदा मात्रै देशको जीडीपी १ प्रतिशतले बढ्ने गरेको छ ।
पछिल्लो जनगणनाअनुसार कुल जनसंख्याको ६५.६ प्रतिशत कृषिमा आश्रित रहेको देखिएको छ । यता विश्व बैंकको अध्ययनपत्रमा यो अनुपात ६९ प्रतिशत रहेको उल्लेख छ भने कृषि गणनाले भने ७१ प्रतिशत नेपालीलाई कृषिमा आश्रित देखाएको छ ।
नेपालमा ७५ जिल्ला (मनाङ र मुस्ताङबाहेक) मा धान खेती गरिन्छ । भौगोलिक हिसाबले उच्च पहाडी क्षेत्रमा करिब ५ प्रतिशत, मध्यपहाडमा २५ प्रतिशत र तराईमा ७० प्रतिशत धानको उत्पादन हुन्छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभागका सूचना अधिकारी एवं वरिष्ठ कृषिविज्ञ डा.महादेवप्रसाद पौडेलका अनुसार यो वर्ष हालसम्म २७ प्रतिशत रोपाइँ भएको छ । उनका अनुसार आर्थिक वर्ष ०७७/७८ मा १४ लाख ७३ हजार ४ सय ७४ हेक्टरमा रोपाइँ भएको थियो भने २०७६/७७ मा १४ लाख ५८ हजार ९ सय १५ हेक्टरमा रोपाइँ भएको थियो ।
खेतीयोग्य जमिनमा प्लटिङ
खेतीयोग्य जमिनमा धमाधम प्लटिङ गर्न थालिएको छ । यसले पनि धान उत्पादनमा कमी आउन थालेको छ । विशेष गरेर तराईका क्षेत्रहरू र काठमाडौं उपत्यका भित्रका उर्बर जमिनमा प्लटिङ गरेर घडेरी बिक्री गर्नेहरूको संख्या बढ्दै गएको छ । २०७४ फागुनमा कृषि मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार ३० लाख हेक्टर क्षेत्रफलमा मात्रै खेती भइरहेको छ । कुल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर क्षेत्रफल रहेको नेपालको कुल खेतीयोग्य जमिन ४० लाख हेक्टर क्षेत्रफल हो ।
अन्य १० लाख हेक्टर क्षेत्रफल जमिन सिमसार, दलदल, उर्बर, गुठी र कृषि प्रयोजनअन्तर्गत उपयोगमा नआएको बताएको थियो । प्लटिङ गरेर जग्गा बिक्री हुने क्रमले तीव्रता पाएपछि विक्रम संवत् २०७५ माघमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नयाँ निर्देशन जारी गर्दै कृषि योग्य जमिनको खण्डीकरणमा प्रतिबन्धसमेत लगाएको थियो । तर, अहिले पनि विभिन्न बाहनामा काठमाडौं उपत्यकासहित बाहिरी जिल्लामा खेतीयोग्य जमिनको प्लटिङ गरेर बिक्री वितरण गरिरहेको छ ।
आज धान दिवस
विसं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ ।
‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला, बनाई कुलो लगाई पानी आएर गोडौंला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस खेतमा काम गरी दही च्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । यसबेला दही च्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
असार १५ लाई नेपाली समाजमा दही च्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्युरा खाई असार १५ मनाउँछन् ।