एजेन्सी । छिमेकी चीनमा निर्माण सम्पन्न विश्वकै दोस्रो ठूलो १६ हजार मेगावाट क्षमताको बैहितान जलाशय आयोजनाबाट आज सोमबारदेखि औपचारिक रूपमा बिजुली उत्पादन सुरु गरेको छ । आयोजनाको पहिलो युनिट सञ्चालनमा आई १ हजार मेगावाट बिजुली उत्पादन भएको छ । सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको एक सयौं वर्ष मनाउने अवसरमा नयाँ विद्युत गृह निर्माणको घोषणा भएको छ ।
आयोजनाको ‘ब्रेक थ्रुले’ चीनको ऊर्जा विकासमा ठूलो योगदान गरेको त्यहाँका अधिकारीहरूले बताएका छन् । आयोजनाले चिनियाँ कम्युनिष्ट पार्टी नेतृत्वको चिनियाँ विशेषताको समाजवादी प्रणालीको उत्कृष्ट झल्को दिनुका साथै ठूलो पूर्वाधार विकासमा एउटा कोसेढुंगा कायम गरेको बताइएको छ ।
आयोजना दक्षिणपूर्वी चीनको सिचुवान र युनान प्रदेशको सीमानामा पर्छ । आयोजना याङत्से नदीको माथिल्लो भागमा रहेको जिन्सा नदीमा छ । जिन्सा याङत्सेको सहायक नदी हो । ‘यो परियोजना विश्वकै सबैभन्दा उच्च प्रविधि जडित ‘वल्र्डक्लास प्रोजेक्ट’ हो’ बैहितान हाइड्रोपावर स्टेसनका प्रमुख इन्जिनियर सियान जिलिनले ग्लोबल टाइम्सलाई भने ।
यो पनि हेर्नुहोस
विश्वकै दोस्रो ठूलो जलविद्युतको निर्माण सोमबार सकियो, यस्तो छ आयोजनाको संरचना
उनका अनुसार सन् २०१७ मा आयोजनाले जटिल प्राविधिक अवस्थामाथि विजय प्राप्त गर्यो । कमजोर भूगोलका कारण आयोजना समस्यामा परेको थियो । बाँधको उचाइ ३०० मिटर अग्लो छ । ‘युनिक’ बाँध, विद्युतगृह, भूमिगत संरचनाका कारण बैहितानले विश्वमा नयाँ रेकर्ड राखेको छ ।
यो पनि हेर्नुहोस
विश्वकै दोस्रो ठूलो बैहितान जलाशयबाट जुलाईदेखि बिजुली उत्पादन हुँदै, जडित क्षमता १६ हजार मेगावाट
आयोजनामा १ हजार मेगावाट क्षमताका १६ वटा युनिटहरू जडान भएका छन् । आयोजनाबाट वार्षिक ६२ अर्ब युनिट बिजुली उत्पादन हुनेछ । यो आयोजनाको क्षमता अमेरिकाको हुभर ड्यामभन्दा १५ गुणा बढी छ । आयोजनाले चीनमा वार्षिक ५ करोड १० लाख टन कार्बन उत्सर्जन घटाउनेछ ।
२२ हजार ५०० मेगावाटको थ्री गर्जेजपछि यो दोस्रो ठूलो बाँध आयोजना हो । १०० वर्षअघि चीनमा निर्माण भएको सिलोङवा आयोजना विदेशी इन्जिनियरले बनाएका थिए । आज चिनियाँ इन्जिनियर र प्रविधिले ठूला आयोजना संभव भएको ग्लोबल टाइम्ले उल्लेख गरेको छ ।
चीन जलविद्युत विकासमा विश्वमै अग्रपंक्तिमा रहेको बैहितान हाइड्रोपावर स्टेसनका उपनिर्देशक हे वुईले बताए । ‘७० वर्षअघिको योजना र कम्युनिष्ट पार्टीको नेतृत्वको १० वर्षको अथक प्रयासले आयोजना सम्पन्न भएको हो,’ आयोजनको मुख्य लगानीकर्ता तथा चाइना थ्री गर्जेज कर्पोरेसनका अध्यक्ष ली मिङसानले भने ‘प्राविधिक जटिलताका साथै कोभिडको अवरोधका बीच आयोजना चिनियाँ कम्युनष्टि पार्टी स्थापनाको १०० वर्षको अवसरमा सम्पन्न भएको छ । यसबाट चिनियाँ विशेषताको समाजवादी नीति, जलविद्युत विकासमा लिएको लक्ष्य, संस्थागत एकताको झल्को दिएको छ ।’
आयोजना आगामी सन् २०२२ को जुलाईदेखि पूर्ण क्षमतामा सञ्चालनमा आउनेछ । बैहितान जलाशयको कुल भण्डारण क्षमता २० अर्ब ७२ करोड ७० लाख घनमिटर छ । जुन जिन्सा नदी घाँटीको ९१ प्रतिशत हो । ७.५ अर्ब घनमिटर क्षमताको जलाशय याङत्जी नदी बाढी नियन्त्रण प्रणालीको महत्वपूर्ण हिस्सा हो ।
विद्युत गृहको जडित क्षमता १६ हजार मेगावाट अर्थात १६ गिगावाट छ । यो विद्युतगृह चीनको थ्री गर्जेजभन्दा सानो हो । थ्री गर्जेजको जडित क्षमता २२ हजार ५०० मेगावाट अर्थात २२.५ गिगावाट छ । यो विश्वको दोस्रो ठूलो बाँध परियोजना हो ।
यो बाँध परियोजना जिन्सा रिभर चुनयुनआन हाइड्रोपावर डेभलपमेन्ट कम्पनीमार्फत निर्माण भएको हो । बैहितान बाँध चीनको दक्षिण पश्चिममा सिचुआन र युन्नान प्रान्तहरूमा याङत्जी नदीको माथिल्लो भागको जिन्सा नदीमा निर्माणाधीन एक ठूलो जलविद्युत बाँध हो । आयोजनामा डबल कर्भेट आर्च बाँधको निर्माण गरिएको छ ।
आयोजना जिन्सा रिभर चुनयुनआन र चाइना थ्री गर्जेज कर्पोरेसनको ७० प्रतिशत हिस्सा छ । यसैगरी सिचुवान इन्भेस्टमेन्ट ग्रुपको १५ र युनान इन्भेस्टमेन्ट ग्रुपको १५ प्रतिशत लगानी छ । (ग्लोबल टाइम्सको सहयोगमा)