विराटनगर । लगानी बोर्डले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेपछि प्रस्तावित चीन–नेपाल औद्योगिक पार्क निर्माणको काम अघि बढाउन बाटो खुलेको छ । बोर्डले बाटो खुलाएपछि अहिले पार्क निर्माणको प्रारम्भिक काम सुरु हुन लागेको छ ।
बोर्डको हालै बसेको ४७ औं बैठकले चिनियाँ कम्पनीहरुको ६४ अर्ब रुपैयाँ लगानीमा बन्ने पार्कको डीपीआर स्वीकृत गरेको छ । वर्षा सकिएपछि पूर्वाधार निर्माणको काम थालिने औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले बताए ।
उनले वर्षाका कारण पार्कको पूर्वाधार निर्माण काम रोकिएको जानकारी दिए । यस्तो बेला गरिएको काम गुणस्तरीय नहुने र काम गर्न पनि समस्या हुने भएकाले वर्षा सकिएपछि काम गर्न सुझाव दिएकाले सोहीअनुसार अघि बढाइने अध्यक्ष थापाको भनाइ छ ।
औद्योगिक पार्क झापाको कमल गाउँपालिकामा रहेको छ । पार्कले दमक नगरपालिका, गौरादह नगरपालिकाको क्षेत्रलाई पनि ओगट्छ । यो औद्योगिक पार्क नेपालकै सबैभन्दा ठूलो र नमुना बन्ने थापाको दाबी छ ।
झापाको दमकस्थित रतुवा र मावा नदीबीचको २२ सय विगाहा जमिनमा उक्त पार्क निर्माण हुने औद्योगिक पार्कका अध्यक्ष थापाले बताए । उक्त पार्क निर्माण थालेको मितिले दुई वर्षभित्र निर्माण सम्पन्न हुनेछ ।
चिनियाँ टोली अहिले पनि निर्माण स्थलमा नै छन् । अहिले जमिन र खोलाको सतह मिलाउने काम भइरहेको छ । पहिलो चरणमा खोलालाई थुन्ने, हाइट बनाउने काम हुने र सँगसँगै वाल लगाउने काम गरिने थापाले बताए । खाल्टो खन्ने काम पनि केही मात्रामा भइरहेको थापाले जानकारी दिए ।
डोजर लगाएर सम्याउने काम भइरहे पनि वर्षातले त्यसलाई केही असर गरेको र कतिपय ठाउँमा बाहिरबाट माटो ल्याएर पुर्नुपर्ने भएकाले हिउँद लागेपछि मात्र पार्क निर्माणको कामले गति लिने उनको भनाइ छ ।
लगानी बोर्डले पार्कको डीपीआर स्वीकृत गरेकाले अब काम गर्ने बाटो खुलेको थापाले जानकारी गराए । तर, अझै अन्तिम सम्झौताका काम भने बाँकी रहेको उनले सुनाए । बोर्ड र पार्क सञ्चालक चिनियाँ कम्पनीबीच आयोजना विकास सम्झौता (पीडीए) हुन बाँकी छ ।
औद्योगिक पार्क निर्माण र सञ्चालनको जिम्मा चिनियाँ कम्पनी ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीले पाएको छ ।
लगानी बोर्डले गरेको सम्झौताअनुसार पार्कमा ६४ अर्ब रुपैयाँ लगानी भित्रिनेछ । ६ चरणमा सो रकम नेपालमा भित्रिनेछ । लगानी, आकार र सञ्चालनपछि उत्पादनको हिसाबले यो पार्क नेपालकै सबै भन्दा ठूलो र नमुना हुने पार्कका अध्यक्ष थापाले बताए ।
औद्योगिक पार्कमा मुख्यतय पाँच प्रकारका उद्योग रहने र ती उद्योगलाई सहयोग गर्ने लजिस्क सहयोग र सूचना प्रविधि तथा तालिमका लागि छुट्टै दुइवटा पार्कहरु पनि रहनेछन् ।
औद्योगिक पार्कभित्र होमप्लाईन्सेसका सामानहरु उत्पादन गर्ने हृवाईट गुड्स उद्योग, ढुवानीका सामाग्री उत्पादन गर्ने उद्योग, टेक्सटायल तथा गार्मेन्ट उत्पादनको उद्योग, खाद्यन्न प्रशोधन र विद्युतीय सूचना प्रविधिका सामाग्री उत्पादन गर्ने उद्योगहरु खुल्ने छन् ।
पार्कमा विद्युतीय सवारी साधनदेखि मोबाइलसम्म निर्माण हुने उनले बताए । पार्कभित्र बालबालिका अध्ययन गर्न विद्यालय, स्वस्थ्यपोचार गर्न स्वास्थ्य संस्था हरित वातावरण मैत्री वातावरण पार्क भित्र रहने कम्पनीले जनाएको छ ।
भारत, भुटान र बंगलदेशसँगको नजिकको नेपाली भूभागमा रहने पार्कमा विश्व बजारका प्रख्यात कम्पनीहरु भित्रिने निश्चित भएको पार्क व्यवस्थापनले जनाएको छ । हालसम्म २६ त्यस्ता कम्पनीको उद्योग पार्कभित्र रहने निश्चित भएको र बाँकी ९८ वटा प्रक्रियामा रहेको पार्कका अध्यक्ष थापाले बताए ।
पहिलो चरणमा कृषि र खाद्यजन्य उद्योग, टेक्सटायल र क्रमशः विद्युतीय गाडीदेखि मोबाइल फोनसमेत औद्योगिक पार्कमा उत्पादन हुने कम्पनीले जनाएको छ । औद्योगिक पार्क चार चरणमा निर्माण हुने पनि थापाले बताए ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड (आईडीएम) का अध्यक्ष नन्दकिशोर बस्नेतले दमकमा निर्माण हुने औद्योगिक पार्क नेपालकै मोडेल परियोजना हुने बताए । नेपालमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा जलविद्युत् आयोजनाबाहेक अन्य खाले निर्माण कार्य नभएको बस्नेतले बताए ।
उनका अनुसार यो औद्योगिक पार्क पीपीपी मोडलको पहिलो गैरजलविद्युत आयोजना हो । औद्योगिक पार्क बनाउन पहिलो पटक विदेशी लगानी आउन लागेको हो ।
पार्कमा चीनको ल्हासा इकोनोमिक एन्ड टेक्निकल डिपार्टमेन्ट र जोन जिङपिङ क्रियसन कन्सट्रक्सन कम्पनीको लगानी रहने अध्यक्ष थापाले क्यापिटल नेपाललाई जानकारी दिए । पार्कमा सञ्चालन हुने उद्योगहरुसँग स्थानीय तहले कम्तीमा १० वर्षसम्म कर नलिने घोषणा गरेका छन् ।