काठमाडौं । नेपाल दूरसञ्चार कम्पनीले फाइभजी प्रविधिको परीक्षण २६०० मेगाहर्ज ब्याण्डमा गर्न पाउने प्राधिकरणले बताएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत राष्ट्रिय फ्रिक्वेन्सी नीति निर्धारण समितिले टेलिकमलाई फाइभजी परीक्षणका लागि यसअघि नै अनुमतिसँगै निःशुल्क फ्रिक्वेन्सी उपलब्ध गराउने नीतिगत निर्णय गरिसकेको छ । यद्यपि परीक्षणका लागि कुन मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी उपयुक्त हुने भन्ने विषयमा कुनै निर्णय भएको थिएन ।
फाइभजी परीक्षणको अनुमति टेलिकमलाई दिइने नीतिगत निर्णयपछि नियामक दूरसञ्चार प्राधिकरणले फाइभजी परीक्षण र सेवा प्रवाह मोडालिटीको कार्ययोजनासहित प्रस्ताव पेश गर्न टेलिकमलाई निर्देशन दिएको थियो ।
सोही निर्देशकअनुरुप टेलिकमले गत जेठ महिनाको मध्यतिर विस्तृत कार्ययोजनासहित फाइभजी परीक्षणका लागि प्राधिकरण समक्ष प्रस्ताव पेश गरेको थियो । जसमा फाइभजी परीक्षणका लागि २६०० मेगाहर्जको मिडरेन्ज ब्याण्ड उपयुक्त हुने प्रस्ताव गरेको थियो ।
सोही प्रस्तावित कार्ययोजनामा उल्लेख २६०० ब्याण्डमै टेलिकमलाई फाइभजी परीक्षणको अनुमति दिन लागिएको प्राधिकरणका निर्देशक तथा राष्ट्रिय फ्रिक्वेन्सी नीति निर्धारण समितिमा सदस्यसमेत रहेका अम्बर स्थापितले क्यापिटल नेपाललाई बताएका छन् ।
यसबाहेक टेलिकमलाई परीक्षण के कसरी गर्न दिने भन्ने विषयमा प्राधिकरणको अध्ययन अन्तिम चरणमा पुगेको र केही सातामै कार्यविधि आउने निर्देशक स्थापितले बताए ।
‘टेलिकमको प्रस्तावित कार्ययोजनामा हामीले अध्ययन गरेका छौं । त्यसमा के कति कुराको अनुमति दिने हो के कति थप गर्नुपर्ने हो त्यसको कार्यविधि अन्तिम चरणमा छ । केही सातामै तयार गर्दै छौं ।’ स्थापित भन्छन् । कार्यविधि पास हुन बाँकी रहे पनि फ्रिक्वेन्सी भने प्रस्तावित २६०० ब्याण्डकै प्रयोग हुने उनले सुनिश्चित गरेका छन् ।
आगामी पुसबाट देशका चार ठूला सहरबाट फाइभजी सेवा परीक्षण गर्ने योजनामा रहेको नेपाल टेलिकम अहिले समिति र प्राधिकरणको आधिकारिक निर्णयको पर्खाइमा छ । टेलिकमले काठमाडौं, पोखरा, विराटनगर र वीरगञ्जबाट फाइभजी परीक्षणको तयारी गरेको छ ।
फाइभजी परीक्षणका लागि टेलिकमले पुरानै फोरजी विस्तारका लागि सम्झौता गरेको कम्पनी चाइना टेलिकम्युनिकेसन सर्भिस इन्टरनेसनल सीसीएसआई र जेडटीईसँग ५ सहरमा फाइभजी सेवा परीक्षण गर्नुपर्ने पूर्वशर्तसहित सम्झौता गरिसकेको छ ।
टेलिकमले फाइभजी परीक्षण गर्दा निःशुल्क फ्रिक्वेन्सी सुविधा पाउनेछ भने परीक्षणकालभरि ग्राहकले पनि निःशुल्क फाइभजी सेवा पाउने छन् ।