काठमाडौं । अनलाइन सपिङ बजार, दराजले नेपाल ओलम्पिक कमिटी (एनओसी) सँग ‘टोकियो २०२० समर ओलम्पिक’ र ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरूको प्रवर्द्धनका लागि सम्झौता गरेको छ । एनओसीका अध्यक्ष जीवराम श्रेष्ठ र दराजका प्रबन्ध निर्देशक लिनो अलरिङले सम्झौतापत्रमा अस्ताक्षर गरेहका हुन् ।
दराज अन्तर्राष्ट्रिय ओलम्पिक समिति आईओसीको विश्वव्यापी पाट्नर अलीबाबा समूहको एक हिस्सा हो । सातदोबाटोमा रहेको एनओसीको कार्यालयमा सपोर्ट फर अल कमिसनले आयेजना गरेको ओलम्पिक डे २०२१ मा उक्त सम्झौता भएको हो ।
सो साझेदारीले दराज र एनओसीबीच टोकियो ओलम्पिक नजिकिएको समयमा भएको सहकार्य सम्बन्ध मजबुद्ध बनाउने तथा नेपालबाट खेलमा सहभागी हुने खेलाडीलाई अझ सहज हुने विश्वास गरिएको छ ।
ओलम्पिकका अध्यक्ष श्रेष्ठले भने, ‘दराजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको छ सहभागी २०७ देशमध्ये नेपाली खेलाडीले आफ्नो पूरा मिहिनेत, जोस र सपना पूरा गर्ने लक्ष्यसहित प्रदर्शन गर्ने आशा गरेको छु । साथै दराजले पनि ओलम्पिक खेलको प्रवर्द्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको छु ।’
त्यस्तै विश्वभरका दर्शकले हेर्ने ओलम्पिक खेललाई हेर्न सबैलाई सुसूचित गर्नेसमेत उनले बताए । दराजका प्रबन्धक आलरिङले टोकियोमा हुने ओलम्पिकका लागि सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । विश्वभरका मानिसलाई खेलले एकताको सूत्रमा बाँधेर कोभिडको समयमा पनि थोरै खुसी दिएको उनको भनाइ छ ।
टोकियो २०२० समर ओलम्पिक २३ जुलाईदेखि सुरु हुँदैछ । २ सय बढी देशको सहभागिता रहने सो खेलमा १२ हजार बढी खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।