काठमाडौं । २ वर्षअघि झन्डै एक सय वर्ष पुरानो अमेरिकन मल्टिनेसनल ब्रान्ड म्यारियटको नेपाल प्रवेश हुँदा नेपालको हस्पिटालिटीमा नयाँ आयाम थप्यो ।
नेपालमा प्रख्यात ब्रान्डको प्रवेशले मात्र म्यारियटको चर्चा चुलिएको होइन । दुई दशकपछि पाँचतारे होटल नेपालमा खुलेर सञ्चालनमा आएको कारण पनि म्यारियट विशेष छ ।
म्यारियटको खाना र रुमको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड हुने भएकाले नै अन्तर्राष्ट्रिय पर्यटकहरू गन्तव्य मुलुकमा पुग्दा म्यारियटलाई पहिलो रोजाइमा राख्छन् ।
४ अर्ब लगानीमा नक्सालमा निर्माण भएको म्यारियटको अनेकन विशेषताहरू छन् । त्यसमध्येको एउटा विशेषता भनेको होटलमा भएको रुम नम्बर ९०१ हो, अर्थात प्रेसिडेन्टल स्वीट्स रुम ।
४ आना जग्गामा एकतले घर बनाउने सामान्य नेपालीको सपना हुन्छ । तर, म्यारियटको रुम नम्बर ९०१ आठ आना क्षेत्रफलमा फैलिएको छ । पछिल्लो पटक नेपाल आउने अति विशिष्ट पाहुना र पर्यटकहरू रुम नम्बर ९०१ मा बस्ने गरेका छन् ।
आठ आनामा फैलिएको एउटै रुमको बेडरुमदेखि रेस्टरुमसम्मको पर्याप्त स्पेसले रुमलाई ‘ल्याबिस’ बनाएको छ । नवौं तलाको रुम छिर्ने प्यासेजबाटै रुमको झलक देख्न पाइन्छ । एन्टिक पेन्टिङ र सन्दुकले रुमको बाहिरको सजावटलाई आकर्षित बनाएको छ ।
रुम बित्तिकै रुमको दायाँतिर सानो प्यान्ट्री रुम, १० जना अट्ने डाइनिङ टेबल, मिटिङका लागि सोफाहरूसहितको पर्याप्त स्पेस, स्टडी टेबल र बुक ¥याक रहेको छ ।
बायाँतिर बेडरुम छ । तर, त्यहाँ बेड रुम मात्र छैन । आरामका लागि आराम सोफाहरू छन् । व्यक्तिगत समय बिताउनका लागि रुमको बायाँतिरको स्पेशलाई ध्यानमा राखिएर सजावट गरिएको छ । ट्वाइलेट, बाथरुम, ड्रेस चेन्जिङ रुमदेखि मेकअप टेबलसमेत राखिएको छ ।
यदि भीभीआईपीका सुरक्षा गार्ड वा परिवारसहित आएका पाहुनाहरूको बच्चाहरू पनि छन् भने त्यसका लागि पनि रुम नम्बर ९०१ कै परिसरमा अर्काे रुम पनि छ ।
रुम नम्बर ९०१ बाट काठमाडौंको ३६० डिग्रीको मनोरम दृश्य देख्न सकिन्छ । काठमाडौं सहरदेखि सहरसँग जोडिएको हरियाली डाँडाहरू र मौसम खुलेको बेला हिमालहरू देख्न पाइने भएकाले पनि रुम नम्बर ९०१ विशेष छ ।
विदेशी पर्यटक र पाहुनाका लागि मात्र रुम नम्बर ९०१ विशेष छैन । पछिल्लो पटक नेकपा एमालेको विवाद भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओली र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच संवादहीनताको अवस्था भइरहँदा रुम नम्बर ९०१ मा वैशाख ८ गते संवादका लागि ‘आइसब्रेक’ भयो ।
दुई नेताहरू त्यसको भोलिपल्ट पनि सोही रुममा पुगेर छलफल गरेका थिए । उनीहरूले रुम नम्बर ९०१ बाट धरहरा हेरिरहेको तस्बिर सार्वजनिक भएको थियो । यो तस्बिर भाइरल जस्तै भयो ।
सर्वसाधारणका लागि पनि म्यारियट होटल र रुमको बारेमा जिज्ञासा बढ्दै गयो । त्यो रुम कस्तो हो र एक दिन बस्दा कति पर्छ भन्ने जिज्ञासा आम नेपालीमा परेको छ ।
रुम नम्बर ९०१ मा प्रधानमन्त्री ओली र नेता नेपाल मात्र होइन, त्यसअघि पनि धेरै भीभीआईपीहरू आएर बसिसकेका छन् । त्यही बेला पनि होटलको चर्चा भने भएको थियो ।
२०७६ कात्तिक २७ गते नेपाल भ्रमणमा आएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पनि सोही होटलको सोही रुममा बसेका थिए । त्यो बेला उनले सोही रुमबाट केही महत्वपूर्ण राजनीतिक भेटघाटसमेत गरेका थिए ।
०७६ कै असारमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुयरा नेपाल भ्रमणमा आएका बेला सोही रुममा बसेका थिए भने ०७६ भदौमा नेपाल भ्रमणमा आएका चिनियाँ विदेशीमन्त्री वाङ यी पनि म्यारियटकै रुम नम्बर ९०१ मा बसेका थिए ।
सगरमाथा आरोहणका लागि नेपाल आएकी कतारी राजपरिवार सदस्य शेखा आस्मा अल थानी पनि म्यारियटको सोही रुममा बसेकी थिइन् ।
यसरी हेर्दा भीभीआईपीहरूको पहिलो रोजाइ नै अहिले म्यारियट होटल परेको देखिन्छ ।
त्यसमा पनि रुम नम्बर ९०१ । सो होटल सञ्चालनमा नआउँदा भने धेरै भीभीआईपीको रोजाइ सोल्टी होटल पर्ने गरेको थियो ।
भीभीआईपी र धनाढ्यहरूको रोजाइमा पर्ने गरेको सो रुमको विषयमा होटलका सञ्चालक शशिकान्त अग्रवालले हरेक पाँचतारे होटलमा एउटा प्रेसिडेन्टल स्वीट्स रुम हुने भए पनि म्यारियटको प्रेसिडेन्टल स्वीट्स रुमको विशेषता बढी भएकाले पाहुनाहरूको रोजाइमा परेको बताउँछन् ।
उनका अनुसार सो रुम २ हजार ५ सय स्क्वार फिटको छ अर्थात ८ आनामा छ । जसले सो कोठा बुक गर्छ, त्यसले ८ आनाकै क्षेत्रफल बुक गर्नुपर्छ । ‘एक रात बसेको रुमको मूल्य २ लाख हो तर अहिले कोभिडका कारण डिस्काउन्ट राखेर केही सस्तोमा पनि दिइरहेका छौं,’ उनले भने ।
रुमभित्र पार्टेसन लगाएर बेडरुमका लागि अर्काे छुट्टै कोठा निकालिएको छ । लिभिङ रुम र मिटिङ हल छुट्टाछुट्टै रहेको छ । त्यही भित्र १० ÷१२ जनालाई प्रेसिडेन्टल स्टाइल अर्थात रोयल बैंङ्कुटमा जसरी खाना र खाजा खान मिल्ने डाइनिङको व्यवस्था रहेको अग्रवाल बताउँछन् ।
‘त्योसँगै ८÷१० जनाका लागि अर्को मिटिङका लागि सोफाहरू राखिएको छ। त्यहाँ पेन ट्रेसहित अध्ययनका लागि टेबल अलग्गै छ । दुईवटा ट्वाइलेट छ । बेडरुमको ट्वाइलेटमा ड्रेसिङ रुम पनि छ । बाथ टप र रेन सावर छ । अरु रुममा एउटा मात्र सावर हुन्छ,’ उनले बताए ।
कोठाको न्यूनतम मूल्य १५ सय डलर भ्याट बाहेक हो । नेपाली मूल्य (आज)को हिसाब गर्दा १ लाख ७७ हजार ४८० रुपैयाँ पर्छ । भ्याटसहित सबै जोड्दा करिब २ लाख रुपैयाँभन्दा बढी पर्न जाने अग्रवाल बताउँछन् ।
अहिले ग्राहक नभएको कारणले ५ देखि ७ सय डलरसम्ममा पनि सो कोठा दिँदै आएको छ । ग्राहक बढ्दै गयो भने सो कोठाको मूल्य २ हजारदेखि २५ सय डलरसम्म पुग्ने गरेको उनले बताए ।
प्रेसिडेन्टल स्वीट्स रुममा बस्नेहरू भनेको धनाढ्य हरू नै हो । र उनीहरूले बार्गेनिङ पनि गर्दैनन् । स्वीट्समा बस्न बानी परेकाहरू अर्को रुममा गएर बस्न चाहँदैनन् ।
त्यो एउटा नशा जस्तै हो । त्यहाँको सुविधा र विशिष्ट सेवा लिनेहरूले अरु रुममा सहज नहुने भएकाले पनि प्रेसिडेन्टल स्वीट्स रुम रोज्ने गरेको अग्रवाल बताउँछन् ।
पाँचतारे होटलमा एउटा प्रेसिडेन्टल स्वीट्स रुम राख्नुपर्ने अनिवार्य नियम नै हो । तर, अरु होटलको चर्चा नभएको हो । सायद, अरुमा नाम फरक–फरक हुनसक्छ,’ सञ्चालक अग्रवालले भने ।