काठमाडौं । निर्माण सम्पन्न भएको देशकै सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पहिलो युनिटबाट एक साताभित्र बिजुली उत्पादन सुरु हुने भएको छ । असार २० गतेदेखि परीक्षणको रुपमा आयोजनाको पहिलो युनिटबाट उत्पादन हुने बिजुली प्रसारण लाइनमा जोडिने भएको छ ।
पहिलो युनिटको जडित क्षमता ७६ मेगावाट छ । खिम्ती सवस्टेशनमा तार जोड्ने काम सकिनसाथ पहिलो युनिटबाट उत्पादन हुने बिजुली गंगोर–खिम्ती २२० केभी प्रसारण लाइनमा जोडिने भएको छ । आयोजनाको बाँध तथा सुरुङमा पानी भर्ने काम सकिएको र बिजुली उत्पादनका लागि तयारी अवसस्थामा रहेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञान श्रेष्ठले बताए ।
खिम्तीमा २२० केभीको लाइन जोड्न साथ केन्द्रीय प्रणालीमा पहिलो युनिटबाट ७६ मेगावाट बिजुली जोडिने उनले जानकारी दिए । असारभित्रै आयोजनाको २ वटै युनिट सञ्चालनमा आउने सीईओ श्रेष्ठले स्पष्टपारे । पहिलो चरणमा आयोजनाबाट परीक्षण र त्यसपछि व्यवसायीक रुपमा बिजुली उत्पादन हुनेछ ।
यो पनि हेर्नुहोस
माथिल्लो तामाकोसीको बिजुली प्रणालीमा जोड्ने तयारी, खिम्ती–लामोसाँघु प्रसारण लाइन बन्द गरेर तारतान्ने काम सुरु
यसअघि प्रसारण लाइनमा नजोडिइकन (नो लोड) को सफल परीक्षण उत्पादन भइसकेको छ । आयोजनाको खिम्ती सवस्टेशनमा तार तान्नका लागि आइतबारदेखि शनिबारसम्म एक साताका लागि खिम्ती लामोसाँघु १३२ केभी प्रसारणलाइनबाट भइरहेको बिजुली आपूर्ति बन्द हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले कुलेखानी आयोजना सञ्चालन गरेर माग व्यवस्थापन गर्ने जनाएको छ । यद्यपी निर्धारित समय अगावै काम सकिए आपूर्ति सुरुचारु हुनेछ ।
दोस्रो युनिटको पहिलो चरणको परीक्षण पनि सकिएको छ । अब विस्तारै ४ वटा युनिटको नो लोडमा परीक्षण हुनेछ । यसअघि जेठ १२ गतेसम्म परीक्षण उत्पादन थाल्ने तयारी भए पनि पेनस्टक पाइपको जर्ति (म्यानहोल) मा समस्या आएपछि मर्मत गरिएको थियो । त्यसैबेला दुईवटा युनिटको नो लोड टेस्ट गरिएको थियो ।
भदौसम्म आयोजनाबाट पूरै ४५६ मेगावाट बिजुली उत्पादन हुने अपर तामाकोसीले जनाएको छ । ७६ मेगावाट क्षमताका ६ वटा युनिटहरु छन । आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड १० लाख युनिट बिजुली उत्पादन हुनेछ । आयोजनाले बिजुली बिक्रीबाट वार्षिक ९ अर्ब रुपैयाँ आम्दानी गर्नेछ । आयोजनाबाट गत वर्षको असारभित्रै बिजुली उत्पादन थाल्ने लक्ष्य लिएकोमा कोरोना महामारीले गर्दा एक वर्ष पछि धकेलिएको छ ।
आयोजनाको सिभिल निर्माणको काम चीनको सिनो हाइड्रो कर्पोरेशन, इलेक्ट्रोमेकानिकल अष्ट्रियाको एन्ड्रिज हाइड्रो, प्रसारण लाइनको काम भारतको केइसी इन्टरनेसनल र हाइड्रोमेकानिककाको बाँकी काम भारतको टेक्सम्याको कम्पनीले नसकेपछि एन्ड्रिजले सम्पन्न गरेको हो ।