एजेन्सी । भारतको ठूलो व्यावसायिक घरनामध्ये एक टाटा ग्रुपका संस्थापक जमसेतजी टाटा शताब्दीकै शीर्ष १० परोपकारी व्यक्तिहरूको सूचीको पहिलो स्थानमा परेका छन् ।
उनले अमेरिकाका बिल तथा मेलिण्डा गेट्स, वारेन बफेट, ह्युजेज र जर्ज सोरास जस्ता विश्व धनाढ्य परोपकारी व्यक्तित्वहरूलाई तल राखेका छन् । राइडेलगिभ हुरुनले इन्डियाको शताब्दीको परोपकारी सूचीमा जमसेतजीलाई अग्रस्थानमा राखेको द इकोनोमिक टाइम्सले जनाएको छ ।
बजार पुँजीको दृष्टिले भारतको सबैभन्दा ठूलो कम्पनी टाटाले पछिल्लो एक शताब्दीमा १ खर्ब २ अर्ब ४० करोड अमेरिकी डलर बराबरको दान रकम प्रदान गरिसकेको छ । जसमा परोपकारी धनाढ्यका रूपमा सर्वाधिक चर्चा बटुल्दै आएका बिल र मेलिण्डा गेट्स फाउण्डेसनले हालसम्म कुल ७४ अर्ब ६० करोड अमेरिकी डलर मात्र दान गरेको इडेलगिभ हुरुन इन्डियाले प्रकाशित गरेको शताब्दीको परोपकारी सूचीले देखाएको छ ।
जमसेतजीले टाटा ग्रुपको साम्राज्य खडा गरेका हुन । उनले खडा गरेको व्यावसायिक साम्राज्य भारतको सबैभन्दा ठूलो ग्रुपहरू मध्येमा पर्छ । सन् १८६८ मा जमसेतजीले टाटा ग्रुपको स्थापना गरेका हुन । ग्रुपको वार्षिक आम्दानी १०६ अर्ब अमेरिकी डलर रहेको छ । टाटाले गाडी, कन्सल्टेन्सी, पूर्वाधार, सूचना प्रविधिलगायत दर्जनौं क्षेत्रमा लगानी विविधिकरण गरेको छ ।
शताब्दियौंदेखि अमेरिका र युरोपेली परोपकारीहरूले मात्र परोपकारको क्षेत्रमा योगदान दिँदै आइरहेका छन् भन्ने दिग्भ्रमलाई पछिल्लो प्रतिवेदनले खारेज गरिदिएको हुरुन रिपोर्टका अध्यक्ष तथा प्रमुख अनुसन्धानकर्ता रुपर्ट होगिवेर्फले बताएका छन् ।
सोही प्रतिवेदनका अनुसार पछिल्लो १०० वर्षमा विश्वभरका नामुख परोपकारीहरूले कुल ८ खर्ब ३२ अर्ब अमेरिकी डलरको दान दिइसकेको उल्लेख छ । जसमा ५ खर्ब ३ अर्ब डलर फाउण्डेसनमार्फत विभिन्न सार्वजनिक प्रयोजन तथा उद्देश्यका लागि खर्चिइएको थियो भने बाँकी ३ खर्ब २९ अर्ब दानका रूपमा वितरण गरिएका थिए ।
सो सूचीमा उल्लेख परोपकारीमध्ये सबैभन्दा धेरै ३९ जना अमेरिकाबाट छन् भनेवेलायतबाट ५, चीनबाट ३, भारतबाट २ तथा पोर्चुगल र स्विट्जरल्याण्डबाट एक÷एक जना थिए ।
तर, आजको युगमा विश्व धनाढ्यहरूले परोपकारमा भन्दा पनि छिटो पैसा कमाएर अन्यत्रै दिने गरेका प्रतिवेदनमा बताइएको छ ।
इतिहासदेखि रहिआएको हुने खाने र हुँदा खानेबीचको खाडललाई महामारीले अझ बढाइ दिएको प्रतिवेदनमा उल्लेख छ । अहिले विश्वमा धन कमाउने गतिलाई आक्रामक ग्लोबल इक्विटी बुल मार्केटले सघाइरहेको छ ।
तीन व्यक्तिले मात्र २०२० को एकल वर्षमा ५० अर्ब डलरभन्दा धेरैको सम्पत्ति जोडेका छन् । जसमा विद्युतीय कार टेस्ला इंकको उदयसँगै एलोन मस्कले ५१ अर्ब डलरभन्दा माथि जोडे भने उनीबाहेक अमेजनका जेफ बेजोस र पिनडुओडुओका कोलिन ह्वांगले ५०/५० अर्ब डलर जोडन सफल भएका छन् । विश्वका सबैभन्दा धनीमा अमेरिकाका जेफ बेजोस छन् । उनको कुल सम्पत्ति १९७ अर्ब डलर छ ।