काठमाडौं । व्यावसायिक घरना गोल्यान ग्रुपले काठमाडौंको ताहाचलमा निर्माण सम्पन्न गरेको पाँचतारे होटल ह्यात प्लेस खरिदका लागि चिनियाँ लगानीकर्ताहरुले प्रस्ताव गरेका छन् ।
‘फाइनल टच’ गर्न बाँकी होटल आगामी सेप्टेम्बरदेखि सञ्चालनमा आउनेछ । निर्माण हुने बेलादेखि नै होटल खरिदका लागि चिनियाँ लगानीकर्ताहरुले चासो देखाएको ग्रुपले जनाएको छ ।
पछिल्लो समय नेपालमा चिनियाँ लगानीकर्ताहरुले आफ्नो लगानी विस्तार गरिरहेको बेला निर्माण सम्पन्न भइ सञ्चालनको अन्तिम तयारीमा पुगेको पाँचतारे होटल ‘ह्यात प्लेस’ को बहुमत सेयर खरिद गर्ने प्रस्ताव गरेकाे ग्रुपका अध्यक्ष पवन गोल्यानले बताए ।
गोल्यानले होटल खरिदका लागि चिनियाँ लगानीकर्ताहरुले इच्छा देखाएको बताए । ‘बाह्य लगानीकर्ताहरुले हाम्रो होटलमा साझेदारीको रुपमा भित्रिन चाहिरहेका छन्, खासगरी चीनकै दुई तीन ग्रुपले होटलमा लगानी गर्न विषयमा छलफल गरिरहेका छन्,’ उनले भने ।
पछिल्लो निषेधाज्ञा नभएको भए चिनियाँ लगानीकर्ता ह्यात प्लेसमा आइसक्ने थिए तर निषेधाज्ञाका कारण थप छलफल हुन नपाएको उनले बताए । ‘होटलमा बाह्य लगानीकर्ताहरु आए पनि ग्रुप पनि होटलको सेयर होल्डरको रुपमा भने रहन्छ,’ उनले भने ।
चिनियाँ लगानीकर्ताहरु मात्र हाेइन, भारतीय लगानीकर्ताहरुले पनि साझेदारीको रुपमा आउन खोजिरहेको उनले बताए । ‘विदेशी लगानीकर्ताहरु नआए पनि आगामी अक्टोबर भित्रमा होटल सञ्चालन गर्ने गरी तयारी भइरहेको छ,’ उनले भने ।
१४ तले होटलमा १५३ वटा कोठा रहेको छ । ह्यात प्लेस अन्तर्राष्ट्रिय स्तरको होटल हो । अहिले होटलको निर्माणको काम सबै सकिएको र भित्री तयारीहरू धमाधम भइरहेको छ । होटल साढे १० रोपनी क्षेत्रफलमा फैलिएको छ । होटल ३ अर्ब १४ करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण भएको हो ।
‘लक्जरी तथा बिजनेस क्याटेगोरी’ सबैलाई मिल्ने गरी कोठाहरूको इन्टेरियर डिजाइन भएको छ । होटलमा पार्किङ सुविधाका लागि दुई तलाको बेसमेन्ट निर्माण गरिएको छ ।
होटलमा स्वीमिङपुल, स्पा, जिम, ब्यांकेट हल, मिटिङरुमहरु छन् ।ह्यात ब्रान्डको नेपालमा दोस्रो होटल हो । यसअघि नै ह्यात रिजेन्सी होटल काठमाडौंमा सञ्चालित छ ।