कोरोना भाइरसबाट विश्वमै सबैभन्दा बढी प्रभावित पर्यटन उद्योग बन्यो । सन् २०२० मा विश्व पर्यटन उद्योगमा ४७ खर्ब अमेरिकी डलर बराबरको व्यापार नोक्सानी भएको र पर्यटन क्षेत्रबाट विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा यसको योगदान ५० प्रतिशतले कटौती भएको अनुमान छ ।
सन् २०२० को विश्वभरका पर्यटक आगमनको संख्या र कारोबार करिब ४० वर्षअगाडि अर्थात् सन् १९८० को दशकको अवस्थामा फर्किएको देखिन्छ । विश्व पर्यटन संगठन (यूएनडब्ल्यूटीओ) ले सन् २०२० विश्व पर्यटनको इतिहासमा सवैभन्दा खराब वर्षको भएको बताएको छ ।
विश्व पर्यटन संगठन संयुक्त राष्ट्रसंघ मातहतको निकाय हो जसले जिम्मेवार, दिगो र विश्वव्यापी रूपमा पहुँचयोग्य पर्यटनको प्रवद्र्धनका लागि काम गरिरहेको छ । यस संगठनले विश्वव्यापी रूपमा दिगो विकास र गरिबी निवारणका लागि दिगो पर्यटन नीतिसहित विश्वभरका १ सयभन्दा बढी मुलुकहरूमा प्राविधिक सहायताका माध्यमबाट पर्यटन विकासका लागि महत्वपूर्ण कामहरू गरिरहेको छ ।
मूलतः कोभिड–१९ को महामारी विश्वभर फैलिएपछि त्यसको नियन्त्रणका लागि यात्रामा प्रतिबन्ध लागेसँगै विश्व पर्यटन बजार अधोगतितर्फ लागेको थियो । उक्त संगठनले महामारीमाथि पूर्णरूपमा नियन्त्रण कायम गर्न सफल भएमा सन् २०२४ देखि मात्र विश्व पर्यटन कोभिड–१९ पूर्वको नियमित अवस्थामा फर्कन सक्ने प्रक्षेपण गरेको छ ।
सन् २०२० मा विश्वभर पर्यटक आगमनको संख्या र कारोबार आँकडामा करिब ७५ प्रतिशतले ह्रास आएको थियो । अनुपातका आधारमा यो ह्रास सम्भवतः द्वितीय विश्वयुद्धयताको सबैभन्दा खराब हो । पछिल्लोपटक सन् २००८ को आर्थिक मन्दीताका करीब ४ प्रतिशतको गिरावट आएको थियो । सन् २०२१ भित्र नै विश्व पर्यटन पूर्ववत् रूपमा फर्कन खोज्ने अपेक्षाविपरीत कोरोना महामारीको संकटका कारण विभिन्न भूभागहरूमा यात्राको प्रतिबन्ध कायमै छ ।
आर्थिक रूपमा कोरोना महामारीबाट सबैभन्दा ठूलो नोक्सानी बेहोर्ने क्षेत्र पर्यटन नै हो । अबको दिनमा सबै सरोकारपक्षको पहिलो चासो यो क्षेत्रलाई पुनर्जीवित गर्नु हो । महामारीको छोटो समयमा नै अन्य क्षेत्रहरूमा अत्याधुनिक प्रविधि र प्लेटफर्महरू तयार भई आफ्नो वर्चस्व पुनर्जीवित भइसकेका छन् । पर्यटन क्षेत्रले त्यो क्षमता राख्दैन जसका कारण कोभिड–१९ नै चुनौती बनेको छ ।
ट्राभल्स, एयरलाइन्स र होटलहरू मूलतः महामारी फैलिरहेको क्षेत्रमा सबैभन्दा बढी आर्थिक संकटमा परेका छन् भने कुल उत्पादनमा पर्यटनको अंश विकासशील मुलुकहरूमा अति खराब स्थितिमा पुगेको देखिन्छ । पर्यटनमा आएको उल्लेख्य ह्रासले रोजगारीमा प्रत्यक्ष असर गरेको छ भने आर्थिक वितरणमा असामानता चुलिँदै जान थालेको छ ।
आर्थिक रूपमा कोरोना महामारीबाट सबैभन्दा ठूलो नोक्सानी बेहोर्ने क्षेत्र पर्यटन नै हो । अबको दिनमा सबै सरोकारपक्षको पहिलो चासो यो क्षेत्रलाई पुनर्जीवित गर्नु हो । महामारीको छोटो समयमा नै अन्य क्षेत्रहरूमा अत्याधुनिक प्रविधि र प्लेटफर्महरू तयार भई आफ्नो वर्चस्व पुनर्जीवित भइसकेका छन् । पर्यटन क्षेत्रले त्यो क्षमता राख्दैन जसका कारण कोभिड–१९ नै चुनौती बनेको छ ।
तसर्थ महामारीको नियन्त्रणपश्चात् छिटो पुनर्जीवित गर्न ठोस रणनीतिहरूसहित त्यसको कार्यान्वयनको स्पष्ट मार्गचित्र आउनुपर्ने हुन्छ । नेपालजस्ता अल्पविकसित मुलुकहरूले यो समयलाई पर्यटनको पुनरुत्थानका लागि कार्ययोजनासहितका संरचनागत सुधारहरू गर्नेजस्ता आन्तरिक गृहकार्य गरी उपयोग गर्न सक्छ । साथै, पर्यटनको पुनर्जीवनका लागि अहिलेदेखि नै कूटनीतिक क्षमतालाई सुदृढ र विस्तार गर्ने किसिमले प्राथमिकताका साथ कामहरू शुरु गर्न आवश्यक छ ।
नेपालजस्ता अल्पविकसित मुलुकहरूले कोभिड–१९ को असरमा केन्द्रित भई पछिल्लो समयको पर्यटनको अवस्था र यस क्षेत्रमा परेको असरसँगै त्यसको न्यूनीकरणका लागि क्षेत्रीय रूपमा साझा रणनीतिहरू तयार गर्न सक्छन् । पछिल्लो समय भारतबाट उत्परिवर्तित कोभिडको नयाँ भेरिएन्टले दक्षिण एसियालाई नराम्रोसँग प्रभावित गरेको छ ।
भारतसँग सिमाना जोडिएका मुलुकहरू श्रीलंका, बंगलादेश र म्यान्मार, नेपालजस्ता मुलुकहरूमा यसको यसको प्रभाव बढी देखिएको छ । दक्षिण एसियाको कमजोर स्वास्थ्य प्रणाली र अर्थव्यवस्थाका कारण लाखौं परिवार गरिबीको चपेटा पुगेका छन् । दक्षिण एशियाका मुलुकहरू महामारीलाई नियन्त्रण गर्न र अर्थतन्त्र सुधार गर्न बाहिरी विश्वको सहयोग खोजिरहेका छन् ।
बंगलादेश, नेपाल र म्यानमार सरकारहरूले खोप आपूर्तिका लागि कूटनीतिक पहल गर्नु आवश्यक छ । विभिन्न क्षेत्रीय संगठनहरूमा आबद्ध यी मुलुकले कोभिड–१९ को प्रतिरोध र पर्यटनको पुनरुत्थानका लागि साझा कार्यक्रमहरू तयार गरी लागू गर्न आवश्यक छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क), बिमस्टेक वा अन्य बहुपक्षीय साझेदारीका फोरमहरूलाई उपयोग गरी साझा रणनीति र कार्यक्रमहरू तयार गर्न सकिन्छ ।
भारतसँग सिमाना जोडिएका मुलुकहरू श्रीलंका, बंगलादेश र म्यान्मार, नेपालजस्ता मुलुकहरूमा यसको यसको प्रभाव बढी देखिएको छ । दक्षिण एसियाको कमजोर स्वास्थ्य प्रणाली र अर्थव्यवस्थाका कारण लाखौं परिवार गरिबीको चपेटा पुगेका छन् । दक्षिण एशियाका मुलुकहरू महामारीलाई नियन्त्रण गर्न र अर्थतन्त्र सुधार गर्न बाहिरी विश्वको सहयोग खोजिरहेका छन् ।
कोभिड–१९ को महामारीपश्चात् गुणस्तरीय पर्यटन विकासका लागि सबै मुलुकको पहिलो शर्त नै स्वास्थ्य सुरक्षाको प्रत्याभूति हो । तसर्थ नेपालजस्ता अल्पविकसित मुलुकहरूले आफ्ना सबै नागरिकलाई कोभिड भ्याक्सिनसहित कोभिड प्रतिरोधी क्षमता सुनिश्चित गराउन सक्नुपर्छ । पूर्णरूपमा भ्याक्सिन लगाइसकेको क्षेत्र कोभिड–१९ बाट सुरक्षित क्षेत्रका रुपमा परिचित हुने निश्चित छ । साथै, कोभिडको महामारीपश्चात् भ्याक्सिन–भिसा वा भ्याक्सिन पासपोर्टको अवधारणा भित्रिएको छ ।
यसका अतिरिक्त विश्वभरका सबै गन्तव्य स्थलहरूमा न्यूनतम स्वास्थ्य सेवाको प्रत्याभूति, अस्पतालहरूको गुणस्तर र क्षमता विस्तार एवं संकटका अवस्थालाई तीव्र व्यवस्थापन गर्ने संयन्त्रको विकासमा ध्यान दिनु आवश्यक देखिन्छ ।
त्यसपछि दोस्रो प्राथमिकतामा मात्र गन्तव्य स्थल वा पर्यटकीय उपजहरूको विविधीकरण, लाभको समन्यायिक वितरण हुने अवस्थाको सिर्जना, प्रचार–प्रसार र प्रवद्र्धनको कार्यक्रमहरू पर्छन् । स्वास्थ्य सुरक्षाको प्रत्याभूतिविना पर्यटन पूर्वाधारको विकास, बजारीकरण, गन्तव्य वा उपजको पहिचानजस्ता कार्यक्रमले आउँदा दिनमा पर्यटनलाई राहत वा दिगो टेवा दिन सकिँदैन ।
कोभिडको लहरपछि विश्वभरका धेरै पर्यटन व्यवसायीहरू विस्थापित भइसकेका छन् । मुनाफाका लागि उनीहरूले आफ्नो पेशा वा व्यवसायलाई वैकल्पिक क्षेत्रमा रूपान्तरण गरिसकेका छन् ।
व्यवसायीको अतिरिक्त पर्यटन क्षेत्रबाट ठूलो संख्यामा मजदुरहरू समेत अलग्गिन पुगेका छन् । होटल ट्राभल्स एवं हस्पिटालिटी क्षेत्रमा काम गर्ने लाखौं कर्मचारीहरू नयाँ अवसरको खोजीमा जान बाध्य छन् । तसर्थ कोभिड–१९ महामारीपछि पर्यटन क्षेत्रको संकट व्यवस्थापनको सिलसिलामा यो क्षेत्रमा संलग्नहरू व्यवसायीहरूलाई हतोत्साही हुनबाट रोक्नु पर्यटनको पुनरुत्थानका लागि मुख्य ध्येय हुनुपर्छ ।
व्यवसायीको अतिरिक्त पर्यटन क्षेत्रबाट ठूलो संख्यामा मजदुरहरू समेत अलग्गिन पुगेका छन् । होटल ट्राभल्स एवं हस्पिटालिटी क्षेत्रमा काम गर्ने लाखौं कर्मचारीहरू नयाँ अवसरको खोजीमा जान बाध्य छन् । तसर्थ कोभिड–१९ महामारीपछि पर्यटन क्षेत्रको संकट व्यवस्थापनको सिलसिलामा यो क्षेत्रमा संलग्नहरू व्यवसायीहरूलाई हतोत्साही हुनबाट रोक्नु पर्यटनको पुनरुत्थानका लागि मुख्य ध्येय हुनुपर्छ ।
त्यसका लागि निरन्तर प्रयास र कार्ययोजनासहित सरकारहरूको प्रतिबद्धता हुनु आवश्यक छ । अहिलेको प्रभावकारी निर्णय नै यो क्षेत्रको पुनरुत्थानका लागि दूरगामी महत्व वा असर पर्ने खालको हुनसक्छ ।
तसर्थ पर्यटन क्षेत्रका लागि नयाँ सोच, दृष्टिकोण र उद्देश्य लिएर अगाडि बढ्नुपर्ने देखिन्छ । विश्वभरका प्रमुख गन्तव्य सहरहरू, महत्वपूर्ण स्थलहरू र सम्पदाहरूलाई प्रतिस्पर्धी बनाउन आवश्यक पूर्वाधार विकासका कार्यहरू गर्न आवश्यक छ ।
स्वास्थ्य संकट नियन्त्रण उन्मुख भएपछि पर्यटकीय सेवा वा सुविधाका संयन्त्रहरू तयारी अवस्थामा रहने हो भने सम्भावित पर्यटक लक्षित कार्यक्रमहरूसहित पर्यटन क्षेत्रका गतिविधिहरूलाई पूर्ववत् रूपमा सञ्चालन गर्न सक्ने देखिन्छ । तसर्थ यो समयलाई विकल्पहरूको छनोट, गन्तव्यहरूको पहिचान र निर्धारण गर्ने प्रयोजनले उपलब्धिपूर्ण बनाउन आवश्यक छ ।
पर्यटनको विकासमा सरकारले सहजीकरण गरेर निजीक्षेत्रलाई समेत प्रोत्साहन गर्न र पर्यटन पूर्वाधार विकासमा प्रदेश तथा स्थानीय तह एवं उपभोक्तालाई समेत सुसूचित गराउन आवश्यक छ ।
(लेखक थापा पर्यटन व्यवसायी हुन्)