काठमाडौं । गत साताको निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा १ अर्ब रुपैयाँ भन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’ बाहेक अरू संरचनामा क्षति पुगेको र निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना बगाएको छ ।
अहिलेसम्म प्राविधिकहरू अम्बाथान नै भने पुग्न नसकेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार मङ्गलबार आयोजनाका डिभिजनल इन्जिनीयर लगायतको टोली चनौटेबाट झण्डै सातआठ घण्टा पैदल हिँडेर गएको थियो ।
त्यहाँसम्म पुग्ने सडक र पुल बाढीले बगाएकाले अम्बाथानसम्म पुग्न कठिन भएको छ । उनले भने, “प्रारम्भिक अनुमानअनुसार सुरुङ र हेडवर्कबाहेक अरू संरचनामा धेरै क्षति पुगेको छ ।”
निर्माणस्थलमा रहेका बालुवा, गिट्टीलगायत सबै निर्माण सामग्री र भण्डारण गर्ने ठाउँ नै बगाएको आयोजनाले जनाएको छ । त्यहाँ नै बसेर काम गर्नेका लागि बस्ने क्याम्प त्यहाँ रहेका खानेपानी, शौचालयलगायत सबै संरचना बगाएको छ । निर्माण व्यवसायीका उपकरण बगाएको सूचना अधिकारी पन्तले बताए । उनका अनुसार निर्माणस्थलमा पुगेको क्षतिले खर्च मात्रै बढाएको भन्दा त्यसलाई सफा गर्न समय बढी लाग्ने देखिन्छ ।
निर्माणस्थलसम्म पुग्न सडक र पुल बगाएकाले पनि निर्माणस्थलमा काम गर्न कठिन हुने प्रवक्ता पन्तले बताए।मुख्य संरचनामा क्षति नपुगे पनि अम्बाथान अडिट सुरुङमा गिट्टी बालुवा पसेकाले तत्काल त्यो सफा गर्नुपर्ने देखिएको आयोजनाले जनाएको छ । सुरुङको परीक्षणका लागि पहिले प्रवेशमार्ग (सडक) बनाउन आवश्यक रहेको उनले बताए ।
आयोजनाको सुन्दरीजलमा रहेका संरचनामा कुनै क्षति पुगेको छैन भने अम्बाथानमा समस्या रहेको छ । अडिट सुरुङ टालिएकामा त्यो सफा गर्न प्रवेशमार्ग र पुल चाहिने उन बताए ।
अहिले बाढीका कारण वैकल्पिक पथान्तकरण प्रणाली (हेडवर्क डाइभर्सन सुरुङ) टालिएको छ । वैकल्पिक पथान्तरण गरेर पानी ल्याउन पनि वर्षा कट्नुपर्ने देखिएको उनले बताए ।
अम्बाथान अडिटको सुरुङ र हेडवर्क डाइभर्सन सुरुङ गरी दुई साता सुरुङ सफा गर्न सकेमा वैकल्पिक प्रणालीबाट काठमाडौँमा पानी ल्याउन सकिने आयोजनाले जनाएको छ । रासस