काठमाडौं । जापानको चर्चित ब्रान्ड निशानको ‘निशान लिफ’ विद्युतीय कार नेपाली बजारमा अगष्टबाट आउँदै छ । निशानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पका अनुसार नेपालमा एउटा मात्रै भेरियन्ट आउनेछ ।
नेपाल भित्रिन लागेको निशान लिफ पुल अप्सन कार हो । तर, उत्पादकले तीनवटा भेरियन्ट उत्पादन गरेको मोटोकर्पका सहायक महाप्रवन्धक ज्ञानेन्द्र चन्दले बताए ।
पायोनियर मोटोकर्पले पहिलो चरणमा १ सयभन्दा बढी निशान लिफ भित्र्याउँदै छ । ती कारहरू सुरुमा काठमाडौंमा सञ्चालन हुनेछ । त्यसपछि नारायणघाट, पोखरा, बुटवललगायत ठाउँमा पनि सञ्चालन हुने कम्पनीले जनाएको छ ।
जापानले सन् २०१० देखि बजारमा ल्याएको निशान लिफ गाडी युरोपमा धेरै लोकप्रिय बनेको छ । हालसम्म सो गाडीको प्रयोग ५० भन्दा बढी देशमा रहेको चन्दको भनाइ छ ।
निशानको आरिया (एसीबी) पनि छ । तर, अगष्टदेखि नेपालमा क्रस ओभर भित्रिँदैछ । आरिया (एसीबी) भने नेपालमा आउन अझै केही समय लाग्ने कम्पनीले जनाएको छ ।
उक्त विद्युतीय कारमा ४० किलोवाट ब्याट्री र ११० किलोवाटको मोटर छ । गाडी चार्ज गर्नका लागि दुईवटा तरिका अपनाउन सकिन्छ । कम्पनीका अनुसार, एक पटक फुल चार्ज गर्नका लागि होम चार्जिङमा १८ घण्टा र फास्ट चार्जिङमा आधाभन्दा कम अर्थात् ७ घण्टा ३० मिनेट सयम लाग्छ । गाडीमा चार्ज फुल भएपछि ४ सय किलोमिटरसम्म गुड्ने क्षमता रहेको छ ।
चार्जिङ स्टेसनका लागि हालसम्म सर्भिस सेन्टर सातदोबाटो र थापाथलीमा तयारी भइसकेको छ । अन्य ठाउँमा भने सहजता हेरेर स्टेसन राखिने चन्दले बताए । नेपाल भित्रिन लागेको गाडीमा जिरो फेटालिटी, जिरो एमिसन तथा सी सेग्मेन साइज जस्ता विशेषता छन् ।
नेपालमा एउटा मात्रै भेरियन्ट (प्रकार) भित्रिए पनि ८ वटा कलर (रङ)मा ग्राहकले प्राप्त गर्ने चन्दले बताए । उनका अनुसार, ब्ल्याक मेटालिक, सलिड्रेड, म्याग्नेसिक्रेड, ब्रन्च मेटालिक, बीबीट ब्लू, पल ह्वाइट, ह्वाइट ब्ल्याक, ग्रे ब्ल्याक कलरमा उपलब्ध हुन्छ ।
क्यापिटल नेपालसँग कुरा गर्दै उनले भने, ‘हाम्रो गाडीले अहिले नै धेरै बजार लिन्छ भन्न त सकिँदैन तर विस्तारै विस्तारै विद्युतीय गाडीको प्रयोग बढेर नेपालबाट डिजेल/पेट्रोलका गाडीको प्रयोग कम हुन्छ ।’
उक्त गाडीको मूल्य भने कम्पनीले सार्वजनिक गरेको छैन । गाडी नेपाल आइनसकेकाले मूल्य निर्धारण नभएको कम्पनीले जनाएको छ ।