नयाँ दिल्ली । समाचारसंस्था रोयटर्सले स्वास्थ्य विशेषज्ञहरूसँग गरेको एक सर्वेक्षणमा ८५ प्रतिशत सहभागीले कोभिडको तेस्रो लहर भारतमा अक्टोबरमा देखिन सक्ने ठानेको पाइएको छ।
४० विज्ञ सहभागी उक्त सर्वेक्षणमा झन्डै दुईतिहाइले उक्त लहरमा बालबालिका र १८ वर्ष मुनिका मानिस सबैभन्दा जोखिममा हुने कुरा स्वीकारेका छन्। तर विज्ञहरूले उक्त लहर नियन्त्रण गर्न सकिने खालको हुने बताउँदै कोभिड अझ एक वर्षका लागि खतराका रूपमा रहने बताएका छन्।
जुन १३ देखि १७ बीचमा गरिएको उक्त सर्वेक्षणमा विश्वभरिका स्वास्थ्य स्याहार विशेषज्ञ, चिकित्सक, वैज्ञानिक, भाइरसविद्, इपिडिमियोलजिस्ट र प्राध्यापकहरू छन्।
सक्रिय सङ्क्रमितको सङ्ख्या क्रमशः घट्न थालेको सरकारी तथ्याङ्कले देखाउँछ। तर, विज्ञहरू फेरि अर्को लहर आउन सक्ने चेतावनी दिएका छन्। उल्लेख्य रूपमा खोप कार्यक्रम अघि बढेका कारण नयाँ लहरको प्रभाव केही कम हुने उनीहरूले बताएका छन्।
भारत सरकारले शनिवार बिहान प्रकाशित गरेको तथ्याङ्कमा विगत २४ घण्टामा झन्डै १९ लाखवटा नमुनाको परीक्षण हुँदा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६० हजार ७५३ देखिएको छ।
भारतमा दैनिक लगातार १ लाखभन्दा कम सङ्क्रमित पाइएको यो १२ औं दिन हो। विश्वव्यापी महामारीको केन्द्रमा रहेको भारत कोरोना भाइरसबाट अतिप्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ।
दिल्लीमा भएका अस्पताल र स्वास्थ्योपचार केन्द्रहरूलाई देशभरि राम्रो मनिन्छ। तर दोस्रो लहरमा तिनका सघन उपचार कक्षमा उपलब्ध शय्याहरू लगभग पूरै भरिएका थिए ।
कोभिडसँग सम्बन्धित कारणले थप १ हजार ६४७ जनाको मृत्यु भएसँगै भारतमा यो महामारीमा ज्यान गुमाउनेको सङ्ख्या तीन लाख ८५ हजार नाघिसकेको छ।
चौबीस घण्टाको अवधिमा परीक्षण गरिएका मानिसमा कोरोनाभाइरस भेटिने दर घटेर ३.१९ प्रतिशत भएको सरकारी तथ्याङ्कमा उल्लेख छ। भारत सरकारका अनुसार अहिलेसम्म २.९८ करोडभन्दा बढी मानिसमा कोभिड पुष्टि भइसकेको छ।