बीबीसी । चर्चित भिडिओ सेअरिङ एप टिकटकको स्वामित्व भएको बाइटडान्स कम्पनीले गत वर्ष आफ्नो आय दोब्बर बनाएको छ। आफ्ना कर्मचारीका लागि आन्तरिक रूपमा जारी गरिएको एउटा सूचनामा उक्त कम्पनीको आम्दानी सन् २०२० मा १११ प्रतिशतले बढेर ३४.३ अर्ब डलर पुगेको देखिन्छ। उक्त तथ्याङ्कले टिकटकको विश्वव्यापी लोकप्रियता अझै बढेको देखाएको छ ।
बाइटडान्स र अन्य ठूला चिनियाँ प्रविधि कम्पनीहरू विश्वभरिका सरकारहरूबाट बढ्दो दबाब सामना गरिरहेका बेला यो विवरण आएको हो।बाइटडान्सको वार्षिक नाफा पनि ९३ प्रतिशतले बढेर १९ अर्ब डलर पुगेको भने त्यसै अवधिमा उसको खुद घाटा पनि ४५ अर्ब डलर भएको छ।
यो पनि हेर्नुहोस
टिकटकले ३८ वर्षीय झाङलाई बनायो ६० अर्ब डलरको मालिक
खुद घाटा लेखाको गणनामा मिलान गर्दा देखिएको तर यो कम्पनीको सञ्चालनसँग सम्बन्धित नभएको बताइएको छ। उक्त पत्रले गत वर्षको डिसेम्बरसम्ममा बाइटडान्सका सबै उत्पादनका प्रयोगकर्ताको कुल सङ्ख्या १.९ अर्ब रहेको देखाएको छ। बाइटडान्सका एक प्रवक्ताले बीबीसीसँग उक्त तथ्याङ्कलाई पुष्टि गरे।
ह्वाइट हाउसको दबाव
टिकटकको व्यापक लोकप्रियताले गर्दा बाइटडान्सले अमेरिका र चीनसहित विश्वभरिका सरकारहरूको छानबिनको सामाना गर्नुपरेको थियो।
बिहीबार रोएटर्समा आएको एउटा खबरअनुसार यसै महिनाको सुरुमा राष्ट्रपति जो बाइडनले हस्ताक्षर गरेको एउटा कार्यकारी आदेशअन्तर्गत अब केही चिनियाँ एपले अमेरिकी बजारमा बस्न चाहेको खण्डमा प्रयोगकर्ताहरूको डेटा सुरक्षाका लागि थप कडा मापदण्ड पालन गर्नुपर्नेछ।
यो अमेरिकामा टिकटक र वीच्याटलाई प्रतिबन्ध लगाउनेगरी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले जारी गरेको एउटा आदेशलाई निस्तेज गरेपछि ल्याइएको अर्को आदेश हो।
उक्त प्रतिबन्धले शृङ्खलाबद्ध कानुनी चुनौतीको सामना गरेको थियो र कहिल्यै पनि कार्यान्वयनमा आएको थिएन। अमेरिकी वाणिज्य मन्त्रालयले चीनजस्ता विरोधी विदेशी क्षेत्रमा विकास गरिएका एपको परीक्षण गर्ने जनाएको थियो।
राष्ट्रपति बाइडनले अमेरिकी राष्ट्रिय सुरक्षामा उनीहरूले खतरा पारेकोबारे प्रमाणमा आधारित दृष्टिकोणू राख्नुपर्ने बताएका थिए। अघिल्लो राष्ट्रपतीय कार्यकालमा राष्ट्रपति ट्रम्पले बारम्बार टिकटक राष्ट्रिय सुरक्षाका लागि खतरा भएको भन्ने आरोप लगाउने गर्थे।
राजनीतिज्ञ र अधिकारीहरूले प्रयोगकर्ताको व्यक्तिगत विवरण चिनियाँ सरकारलाई पठाइन सक्ने चिन्ता व्यक्त गरेका थिए। टिकटकले उक्त आरोपलाई अस्वीकार गरेको थियो।
बेइजिङको छानबिन
गत एप्रिलमा चिनियाँ नियामक निकायले बाइटडान्ससहित १३ वटा अनलाइन प्लेटफर्मलाई आफ्ना वित्तीय विभागमा कडा नियमहरू पालन गर्न निर्देशन दिएको थियो।
यो देशका ठूला प्रविधि कम्पनीहरूलाई लगाम लगाउने व्यापक कार्यका रूपमा गरिएको थियो। अधिकारीहरूले एकाधिकारयुक्त व्यवहार र पुँजीको अव्यवस्थित विस्तार रोक्न यस्तो गरिएको बताएका थिए। कैयौँ वर्षसम्म प्रविधि उद्योगलाई प्रोत्साहन गर्न बेइजिङले उनीहरूलाई नियमले नकस्ने नीति लिएको थियो।