काठमाडौं । कुनै पनि क्षेत्रमा सफलता पाउन सबैभन्दा पहिले त काम गर्ने इच्छा शक्ति चाहिन्छ । व्यवसाय गर्छु भनेर मात्रै पनि हुँदैन । सम्बन्धित विषयका सैद्धान्तिक र प्राविधिक ज्ञान हुनुपर्छ । कहिलेकाहीँ ज्ञानले मात्रै पनि हुँदैन व्यावसायिक व्यवहार पनि प्रकट गर्नुपर्छ । व्यवसाय गर्ने इच्छाशक्ति, विषयको ज्ञान र सकारात्मक उद्देश्यबाटै निम्बसको व्यावसायिक यात्राले उचाइ चुमेको छ ।
‘सक्षम प्राविधिक जनशक्ति हुनुपर्छ । हाम्रो सफलताको पछाडि व्यवस्थापन क्षमता भएका प्राविधिक टिमको हात छ । उनीहरू नै निम्बसका चालक हुन्,’ निम्बसका कार्यकारी निर्देशक डा. दिनेश गौतम भन्छन्, ‘उत्कृष्ट व्यवस्थापन, दक्ष प्राविधिक जनशक्तिका कारण निम्बसले नेपालको औद्योगिक करणमा ठूलो टेवा दिएको छ ।’
९ सयभन्दा बढी कर्मचारी संलग्न निम्बसले श्रमिकको उत्पादकत्व बढाउन हरतरहले श्रमिकलाई अधिकतम सुविधा दिन तत्पर देखिन्छ । कर्मचारीको उत्पादकत्व क्षमताले नै कम्पनी अघि बढ्ने भएकाले कर्मचारीमा सधैं ध्यान दिइने गरिएको कार्यकारी निर्देशक गौतमको भनाइ छ । कर्मचारी सम्बन्धमा बनेका ऐन, नियम कार्यान्वयन र तोकेको न्यूनतम पारिश्रमिक दिन निम्बस अब्बल रहेको बताइन्छ ।
औद्योगिक क्षेत्रमा निम्बसको प्रवेश
व्यापार (ट्रेडिङ)बाट व्यवसायमा पाइला चालेको निम्बसले एउटा उद्योगको सम्बन्ध अर्को उद्योगसँग रहने गरी औद्योगिक क्षेत्रमा हात हालेको हो । यसलाई औद्योगिक ‘इन्ट्रिगेसन’का रूपमा समेत लिन सकिन्छ । पछिल्लो दुई दशकलाई हेर्दा निम्बसलाई इन्ट्रिगेसन पायोनियर मान्न सकिन्छ ।
सन् २००० मा वीरगन्जमा पशुपन्छीको दाना बनाउन चाहिने औषधि उद्योग खोलेपछि निम्बस उद्योगतर्फ अघि बढेको हो । निम्बसको पहिलो उद्योग पनि त्यही हो । त्यसअघिसम्म निम्बसले निम्बस इन्टरनेसनलमार्फत दाना उद्योगलाई चाहिने कच्चा पदार्थको व्यापार गरिरहेको थियो ।
‘निम्बसले उद्योगबाट उत्पादित सम्पूर्ण उत्पादन भारतको सुगुना पोल्ट्री फार्ममा निर्यात गथ्र्यो । त्यतिबेला सुगुना भारतकै सबैभन्दा ठूलो ‘बोइलर’ कुखुरा फार्म थियो’ गौतमले भने ।
नेपाल–भारतबीचको सन्धिअनुसार निम्बसले औषधिजन्य उत्पादन निर्यात गथ्र्यो । तर, भारत सरकारले सामान्य नीतिगत हस्तक्षेप गर्दा जुनसुकै बेला औषधि उद्योग बन्द हुन सक्ने व्यवस्थापनको बुझाइले ‘शक्ति एग्रो मिल्स’ नामक दाना उद्योग (प्यालेट फिड) खुल्यो । सन् २००४ मा सुगुना पोल्ट्री फार्मकै सहकार्यमा नेपालमा विल्कुलै नयाँ प्रविधि भित्र्याइयो ।
शक्ति एग्रो मिल्स नै दाना उत्पादनमा विदेशी लगानीमा खुलेको पहिलो दाना उद्योग बन्यो । भारतमै औंलामा गन्न सकिने प्यालेट फिड उद्योग भएका बेलामा नेपालमा भने शक्ति एग्रो मिल्सले आफ्नो कारोबारलाई नेपालको कुना काप्चासम्म पुर्यायो । यसले छरिएर रहेका किसानहरू पनि लाभान्वित भए ।
निम्बस सफलताको मन्त्र
निम्बसले आफ्नो व्यवसायलाई एउटासँग अर्को ‘लिंक’ गराउनुपर्ने र गुणस्तरीय हुनुपर्छ भन्ने मान्यता अख्तियार गर्यो । यसले निम्बसलाई सफलताको सिँढी पनि चढाउँदै लग्यो । सुरुमा औषधिको उद्योग राखेको निम्बसले दाना उद्योग सञ्चालनमा ल्यायो । त्यसपछि निम्बसले २००९ मा भटमासको गेडाबाट पिना र तेल निकाल्ने उद्योग खोल्यो । त्यसअघि निम्बसले २००६ मा अमेरिक प्रविधिको ‘स्क्यापको’ भन्ने कम्पनीको साइलो (खाद्यान्न भण्डारण गर्ने आधुनिक प्रविधि) भित्र्यायो ।
साइलो प्रविधि भित्र्याउने पहिलो बनेको निम्बसले दाना उद्योगलाई एक किसिमले अटोमेसन ग¥यो । ‘दानाको ६० प्रतिशत कच्चा पदार्थ मकै हो । मकैलाई अटोमेटिकल्ली साइलोबाट प्रोसेसिङ सेन्टरसम्म पुर्याउन थालियो,’ गौतमले भने, ‘भटमासको गेडाबाट निकालिएको पिनाबाट दाना बनाइन्थ्यो भने कच्चा तेल निकालेर नेपालमा भएका अन्य तेल रिफाइनरीलाई बिक्री गरिन्थ्यो ।’ निम्बसले केही वर्ष यो उद्योगलाई चलायो । तेल र पिना सस्तो भएका बेला यस्तो उद्योग चल्न कठिन हुन्छ । ‘तर, तेल र पिना महँगो भएका कारण उद्योग चल्ने वातावरण बन्यो,’ गौतमले भने ।
भटमासबाट तेल निकालिसकेपछि निम्बसमा दाना उद्योगलाई विस्तार गर्ने वा खाद्यान्न उत्पादनतिर लाग्ने भनेर दुविधा देखियो । निरन्तर छलफल र परिस्थितिको अध्ययनपछि व्यवस्थापनले खाद्यान्न उद्योगमा हाम्फाल्ने निर्णय गरेर सन् २०१२/१३ तिर फिड (दाना)लाई फुड (खाना)सँग जोड्ने गरी अघि बढ्यो । सुरुमा निम्बस न्यून पुँजीबाट सुरु भएको हो । तर, एउटा उद्योगबाट उत्पादन सुरु गरेर कमाउन थालेपछि अर्को उद्योग खोल्यो । अघिल्लो उद्योग सफल भएपछि मात्रै अर्को उद्योग खोल्ने निम्बस व्यवस्थापनकै कारण २०१५ मा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)लाई ‘इक्वीटी पार्टनर’को रूपमा भित्र्याउन सफल भयो ।
फिडमा जस्तो थोरै लगानीले खाद्य उद्योग चल्न गाह्रो हुन्छ । खाद्य उद्योगमा ठूलो पुँजी आवश्यक पर्छ । त्यही भएर इक्वीटी पार्टनरको रूपमा आइएफसीलाई ल्याइएसँगै २०१५ को अन्त्यतिर निम्बसले तेलको रिफाइनरी सञ्चालन गर्यो । अहिले तेलको रिफाइनरी उद्योग छ्रैठौं वर्षमा चलिरहेको छ । त्यसअघिसम्म निम्बसले कच्चा तेल अरु कम्पनीलाई बेचिरहेको थियो । सुरुमा भटमास र सनफ्लावरको रिफाइनरी लगाएको निम्बसले लगत्तै तोरीका लागि पनि छुट्टै मिल सञ्चालनमा ल्यायो ।
भटमासको दानाबाट निस्कने तेल (सोयाविन) उद्योगबाट निस्किएको कच्चा तेल रिफाइनरी उद्योगका लागि कच्चा पदार्थ भयो । त्यसको पिना दाना उद्योगका लागि कच्चा पदार्थ छँदै थियो । त्यसपछि निम्बसले भटमासको पिनालाई ‘फुड ग्रेन्ड (मस्यौराको कच्चा पदार्थ)’ बनाउन नयाँ उद्योग लगायो । लगत्तै भटमासबाट मस्यौरा बनाउने उद्योग लगायो र नेपालीहरूको भान्सासम्म तरकारीका रूपमा बिक्री गर्न सुरु गर्यो । अहिले पनि मस्यौराको बजार ठूलो छ ।
निम्बसले २०१८ मा दाल उद्योग खोल्यो । अहिले त्यही उद्योगबाट सबै किसिमका दालहरू उत्पादन भइरहेको छ । दाल प्रशोधन गर्दा चुन्नी भुसी निस्किन्छ । त्यसलाई निम्बसले गाईवस्तुको दाना बनाउन प्रयोग गर्छ । निम्बस गाईको दाना बनाउने ठूलो उद्योगमध्ये एक हो । एउटा उद्योगबाट निस्किएको ‘वाइप्रडक्ट’ आफ्नै अर्को उद्योगमा खपत होस् भन्ने निम्बसको चाहनाले खाद्य तथा दाना उत्पादनमा महत्वपूर्ण स्थान लिन सफल भयो पनि ।
औद्योगिक सफलतामा निम्बसले प्रोवायोटेक कम्पनीलाई अघि सार्यो । प्रोवायोटेक इन्डष्ट्रिज भित्र सातवटा उद्योग छन् र ती उद्योगका उत्पादनहरू एकअर्कोसँग लिंक छन् । निम्बसको कुनै पनि उद्योगबाट तयारी वस्तु निकाल्दा आएको वाइप्रडक्ट (अर्कोको कच्चा पदार्थ) अन्यत्र बेच्नु पर्दैन । निम्बसको मूलमन्त्र पनि यही हो । अहिले पनि तयारी वस्तुमा अत्यधिक प्रतिस्पर्धा छ । तर, वाइप्रडक्टमा प्रतिस्पर्धा एकदमै कम छ । अहिले पनि भुसा नगदमै किन्नुपर्छ । तर, चामल उधारोमा पाइन्छ । किनभने वाइप्रडक्ट कम उत्पादन हुन्छ र त्यस्ता वस्तु नगदमा कारोबार हुन्छ ।
दाना उद्योगलाई विकेन्द्रीकृत गर्ने उद्देश्यबमोजिम निम्बसले पूर्व र पश्चिममा आफ्नै डिलरहरूलाई साझेदार बनाएर दुईवटा उद्योग लगाएको छ । पश्चिमको कोहलपुरमा ‘पीवीटी वेस्ट’ दाना उद्योग छ भने पूर्व विराटनगरमा ‘उपहार फिड इन्डष्ट्रिज’ सञ्चालनमा छ । दुवै उद्योगको व्यवस्थापन भने निम्बसले हेर्छ । वीरगञ्जको भने आफ्नै स्वामित्वको शक्ति फिड छँदैछ । वीरगञ्जमा नै माछाको दाना बनाउने उद्योग पनि छ । त्यहाँबाट महिनाको ३०० टनभन्दा बढी माछाको दाना उत्पादन भइरहेको छ । वीरगञ्जमा नै निम्बसले कुकुरका लागि खाना (डग फुड) पनि उत्पादन गरिरहेको छ ।
नयाँ क्षेत्रमा इन्ट्रिगेटेड मन्त्रबाट प्रेरित निम्बस
निम्बस जहिले पनि नयाँ कामको खोजीमा रहेको पाइन्छ । खासगरी एकबाट अर्कोमा लिंक हुने क्षेत्र तर, नयाँ व्यवसायको खोजीमा रहेको निम्बसको तीनवटा उद्योगबाट वाइप्रडक्ट उत्पादन निस्किन्छ । तीन वटै प्रडक्टको प्रोसेसिङ छ । त्यसबाहेक नेपालमा पहिलो पटक रिफाइनरी उद्योगमा निस्किने खराब पानीलाई प्रशोधन गर्ने सफा पानी मात्रै छोड्ने प्लान्टसमेत निम्बसले राखेको छ ।
खाद्य उत्पादनसँगै आउटसोर्स पनि
खाद्यान्न उद्योगमा एउटै वस्तु उत्पादन गरेर खासै उपलब्धि हुँदैन । अर्कोतिर नेपालमा हरेक सामानहरू ‘डिलर’ प्रणालीबाट बेचिन्छ । थोकमा हुने कारोबार (आइटमहरू)मा छनोटको अवसर नदिने हो भने सोचेअनुरूप व्यापार हुँदैन । एउटा मात्रै उत्पादनले व्यापार चल्दैन ।
व्यापारलाई विविधिकरण गर्न भनेर सुरुमा दाल उद्योग लगाएको निम्बसले विश्वव्यापी ट्रेन्डलाई समाउँदै केही वस्तुहरूमा ‘आउटसोर्स’समेत गरेको छ । खासगरी आँटा, मैदा, सुजी, मसला, अचार, पापड, चिउराजस्ता खाद्य वस्तु आउटसोर्स गरिरहेको छ । निम्बसले आफू मात्रै आउटसोर्स गर्दैन अरूलाई आउटसोर्स गराइदिन्छ । किराना पसललाई चाहिने सामानहरू आफंैसँग होस् भन्ने चाहना राखेर खाद्यान्नमा अझै पोर्टफोलियो बढाउन निम्बस तल्लिन छ ।
‘वेयरहाउस’मा पनि प्रवेश
निम्बसले वेयरहाउसलाई पनि प्राथमिकतामा राखेको छ । तीन ठाउँमा निर्माण भइरहेका गोदाममा निम्बससहित इक्विटी र एभरेष्ट बैंक, एसबीआई बैंक, बैंक अफ काठमाण्डु, हिमालयन बैंक, एनएमबी बैंकलगायतको ऋण लगानी छ ।
साझेदारीमा ग्रिन वेयरहाउसिङ बनाइरहेको छ । धेरै उद्योगमा कच्चा पदार्थको व्यवस्थापनको ठूलो समस्या छ । उत्पादित वस्तुको संग्रह अर्कै समस्या । कच्चा पदार्थको संग्रह (स्टोरेज) आफंैमा एउटा उद्योग हो । दाना, आँटा तथा चामल मिलको काम ‘मिलिङ’ हो । कच्चा पदार्थ र तयारी वस्तुको संग्रह छुट्याउन ग्रिन वेयरहाउसिङ सञ्चालनमा ल्याउन लागिएको हो ।
विश्वबजारमा जस्तो नेपालमा ठीक समय (जस्ट इन टाइम)मा चल्दैन । नेपालका उद्योग मौज्दात (स्टकिङ)बाट चल्ने गरेको छ । तर, कच्चा पदार्थको मौज्दात राख्न गाह्रो हुन्छ र त्यसरी उद्योग पनि चल्दैन । अहिले दाना, मैदा तथा धान उद्योगमा सबैभन्दा ठूलो समस्याका रूपमा बिग्रेका बोरा व्यवस्थापनको छ । यो वेयरहाउसमा खुलारूप (लुज)मा भण्डारण हुन्छ । साइलोबाट सिधै ट्रकमा भरिन्छ र उद्योगमा पनि साइलो हुन्छ र सिधै साइलोमा लगेर खन्याइन्छ । यसले अनावश्यक रूपमा निस्किने बोरा व्यवस्थापनको झन्झट अन्त्य गर्छ । यस्तो गर्दा कच्चा पदार्थ पनि सुरक्षित हुन्छ । यसका कारणले कीरा लाग्ने समस्या पनि समाधान हुन्छ ।
२०४० सम्म ४० अर्बको कारोबार
निम्बस सन् २०४० सम्म ४० अर्ब रुपैयाँ कारोबार गर्ने योजनाअनुरूप अघि बढेको छ । सन् २०१५ देखि वर्षअनुरूप न्यूनतम १ अर्बको कारोबार थप्ने योजनाका साथ अघि बढेको निम्बसले ‘इनोभेटिभ’ कामलाई अघि सार्ने गरेको पाइन्छ । कसैले नगरेको काममा हात हाल्न इच्छुक निम्बसले हेटौंडामा रंगमा प्रयोग हुने कच्चापदार्थ उत्पादन गर्ने ‘इमल्सन प्लान्ट’ लगाएको छ । जुन नेपालकै पहिलो उद्योग हो । यसबीचमा निम्बसले ‘लेमिनेटेड बोरा’ बनाउन प्रोजियोकेम इन्डष्ट्रिज पनि सञ्चालनमा ल्याएको छ ।
दाना र तेलमा बढी बजार हिस्सा
दाना उत्पादनमा निम्बसले कुल बजार मागको १० प्रतिशत आफ्नो रहेको दाबी गर्दै आएको छ । वार्षिक साढे ९ लाख टन दाना खपत हुने नेपालमा एक समयभन्दा बढी दाना उद्योग छन् । दाना उद्योग लगाउनेमा निम्बस पहिलो भए पनि बजार हिस्साको हिसावले दोस्रो हो । तर, निम्बससँगै दाना उद्योगको क्षमता बढाउने हैसियत छ । कुल बजार मागको १३ देखि १४ प्रतिशतसम्म दाना बनाउन सक्ने सामथ्र्य रहेको निम्बसको दाबी छ ।
सनफ्लावर, सोयाविन र तोरीको तेल बनाइरहेको निम्बसले वार्षिक झण्डै २० हजार टन तेल बनाउँछ । यो कुल बजार मागको ५ प्रतिशत हाराहारी हो । नेपालमा वार्षिक ४ लाख टन तेलको खपत हुने अनुमान छ । मुलुकमा २० वटा खाने तेलका उद्योग छन् । निम्बसले मध्यमवर्ग र उच्च वर्गलाई लक्षित गरेर गुणस्तरीय तेल उत्पादन गर्दै आएको छ ।
सबै उत्पादन नेपाल गुणस्तर
निम्बसका सबै उत्पादन नेपाल नापतौल तथा गुणस्तर विभागले नेपाल गुणस्तर (एनएस)बाट प्रमाणित (सर्टिफाइड) भएका छन् । तोरी, भटमास र सनफ्लावरका तेल नेपाल गुणस्तरबाट प्रमाणित छन् । निम्बससँग खाद्य प्राविधिक सहितको आधुनिक ल्याब छ । उद्योगबाट सामान बाहिर निस्किनुअघि हरेक सामानको गुणस्तर र तौल परीक्षण हुन्छ । जसले गर्दा निम्बसका तेल आईएसओ २०२२ बाट प्रमाणित भएका छन् । यो खाद्य सुरक्षाका हिसावले उच्च रेटिङ हो । यस्तो लेवल लागेको उद्योगबाट उत्पादित सामग्री गुणस्तरीय र स्वस्थवद्र्धक अर्थात हाइजनिक हुन्छ भन्ने विश्वास छ ।
नेपाल गुणस्तर लिने नेपालको एउटा मात्रै शक्ति दाना उद्योग हो । शक्ति दानाले आईएसओ ९००१ः२०१५ पनि पाएको छ । यसमा पनि निम्बस पहिलो हो । निम्बसका प्रायः सबै उद्योग अटोमेटेड छन् । दानामा कच्चा पदार्थ खन्याउने बाहेक सम्पूर्ण काम मेसिनबाटै हुन्छ र कम्प्युटरबाटे नियन्त्रण हुन्छ । निम्बसका उद्योगहरू स्वीस प्रविधि आधारित छन् ।