एजेन्सी । छिमेकी चीनले अर्को नयाँ जलविद्युत आयोजना सम्पन्न गरेको छ । १० हजार २०० मेगावाट क्षमता (१०.२ गिगावाट) भएको वुडोङडे जलाशययुक्त आयोजना बिहीबार सम्पन्न गरेको गरेको हो ।
आयोजनाको अन्तिम युनिटबाट बिहीबार बिजुली उत्पादन सुरु भएको पिपुल्स डेलीले अनलाइन संस्करणमा उल्लेख गरेको छ । आयोजना जिन्सा नदीमा निर्माण गरिएको छ । यो याङत्से नदीको सहायक हो । आयोजना बनाउन १२० अर्ब युआन लागेको बताइएको छ । आयोजनामा ८५० मेगावाट क्षमताका १२ वटा युनिट छन् । आयोजनाबाट वार्षिक ३८ अर्ब ९० करोड युनिट बिजुली उत्पादन हुनेछ ।
यो आयोजनाले नवीकरणीय ऊर्जा उत्पादन गरेर आर्थिक रुपान्तरणका साथै आगामी सन् २०३० मा हरितगृह ग्यास उत्सर्जन कम गराउनमा सघाउ पुर्याउने चीनको पिपुल्स डेलीले उल्लेख गरेको छ । आयोजनाले १ लाख २२ हजार टन कोइला खपत घटाउने र ३ करोड ५ लाख टन कार्वडाइअक्साइड उत्सर्जनमा कमी आउने सो डेलीले जानकारी दिएको छ ।
सन २०१५ को डिसेम्बरदेखि निर्माण सुरु भएको सो आयोजनाले गत वर्ष पहिलो प्लाण्ट सञ्चालनमा ल्याएको थियो । आयोजनाको ६ वटा दायाँ र ६ वटा बायाँतर्फ बिजुली उत्यादन गर्ने युनिटहरु छन् । यो विश्वको ठूलो आयोजना मध्ये एक हो । आयोजनाको बाँधको उचाइ २४० मिटर रहेको छ ।
आयोजना युनान र सिचुवान प्रदेशको सीमानामा रहेको छ । आयोजनाले बिजुली उत्पादन, बाढी नियन्त्रण, जलपरिवहनका साथै स्थानीयस्तरमा आर्थिक विकासमा सघाउन पुर्याउने पिपुल्स डेलीले जनाएको छ । जलासयको क्षमता ७ अर्ब ४१ करोड क्युविक मिटर पानी रहेको छ ।
डेलीका अनुसार आयोजनामा आर्क बाँध रहेको छ । यसको मोटाइ ३०० मिटर छ । सबैभन्दा बढी मोटाइ भएको यो पहिलो बाँध भएको दावी पिपुल्स डेलिले गरेको छ ।
वुडोङडे आयोजना निर्माणका क्रममा विश्वमा ८ वटा नयाँ रेकर्डहरु राखेको छ । सबैभन्दा बढी मोटाइ भएको बाँध भएको छ । यस्तै अर्को कम सिमेन्टमा निर्माण भएको, बाढी नियन्त्रण, कंक्रिट बाँध भएकाले तापक्रम नियन्त्रणका साथै कंक्रिटमा कुनै क्षति नहुने व्यवस्थासहितको भूमिगत विद्युतीय बाँध रहेको छ । बाँध निर्माणका क्रममा कुनै क्षति भएको छैन । आयोजनाले एउटा बेञ्चमार्क नै बनाएको बताइएको छ ।
पिपुल्स डेलीको सहयोगमा